आज ऊ फेरिएको छ
उसको बोलीचाली
उसको स्वभाव
उसको हाँसो,
फेरिएको उसलाई
आज बेग्लै देखिएको छ!
ऊ लेखाजोखा राख्दैन
उसको सपना साकार हुँदै गर्दा
कतिले आफ्ना सपनाहरुको
जिउँदै दाहसंस्कार गरे भनेर!
स्वार्थले घेरिएको जालोभित्र पसेपछि
सबै-सबै विस्मृत हुँदै जाने रहेछन्!
छल, कपट, धोका
क्रमशः प्रिय बन्दै जाने रहेछन्!
मैले उसलाई संघर्षको
अर्कै कुइनेटोमा भेटेको थिएँ
त्यो बेलाको उसको अनुहारमा
क्रान्तिको अदभूत चमक थियो
समाज बदल्नुपर्छ भन्दै
सपनाको लामो लस्कर बोकेर
शोषण विरुद्ध आन्दोलनको
नेतृत्व गरेको उसले
आज आफैले गरेका
घोषणापत्रहरु कुल्चिएर
स्वार्थको तलाउमा डुबुल्की मारेको देखियो!
जब हुँदैन
उसले सोचेजस्तै
उसले खोजेजस्तै
तब हिँड्नेरहेछ मान्छे
खुसीका गोरेटाहरु किल्चिएर
इन्द्रेणीका रंगहरु बिर्सिएर।
सन्तान भेटिने आशमा
पर्खाइले थकित आँखाहरु
गरिबीले पिल्सिएर निभेका
खुसीका दियोहरु
आजकल,
उसलाई सामान्य लाग्न थालेको छ!
प्रेम, दया, करुणा
क्रमशः स्खलित हुँदै गएपछि
मान्छे नितान्त बेग्लै देखिने रहेछ!
बद्लिएको उसलाई
मेरो तर्फबाट क्रान्तिको
एक युग शुभकामना!