म गुप्ताजीको पसलमा पुग्दा पसल बाहिर राखिएको मुढामा बसेर मेरो साथी 'विशाले' आफ्नै धुनमा मोबाइल चलाइरहेको थियो।
गुप्ताजीको चिया पसल, हाम्रो पुरानो अड्डा। बुढाको चिया खास मिठो भने हुन्न। अझ यो ठाउँ मलाई अलि फोहर पनि लाग्दछ। तर गुप्ताजीले उधारो पत्याउँछन्। अनि यो ठाउँ हामी सबैलाई पायक पनि पर्छ। त्यसैले धेरैजसो यतै भेट्छौं।
'पुजने अझै आइपुगेको छैन?' नजिकैको खाली मुढा तानेर विशालेको नजिक बस्दै सोधेँ मैले।
मुढामा बसेर एकतमासले मोबाइल चलाइरहेको विशालेले पुलुक्क हेर्यो मलाई। अनि पुजने आइनपुगेको जनाउ दिनेगरी टाउको हल्लाएर फेरि मोबाइलमा कुन्नि के टाइप गर्न थाल्यो।
यो हो विशाल लामिछाने, मेरो कलेजदेखिको साथी। बोलाउने नाम विशाले। हामीले सँगै आरआर क्याम्पसमा मेजर अङ्ग्रेजी विषय लिएर बीए पढेको। बीएपछि एमए कहिल्यै गरेनौं हामीले। सबैको आ-आफ्नै बाध्यता। यसले त झन् बीए नसकिकनै पढ्दा-पढ्दै एउटा फाइनान्समा जागिर सुरु गरेको हो। पहिले पसल-पसल धाएर पैसा उठाउँथ्यो। अहिले भने फाइनान्सको अफिसमै बसेर अरुलाई खटनपटन गर्दछ। सुनेको छु टन्नै पैसा कमाएको छ यसले।
अगाडि टेबलमा चियाको गिलास नदेखेपछि मैले गुप्ताजीतर्फ हेरेर दुई कप दूध-चिया बनाउन भनेँ। ठ्याक्कै त्यही बेलामा विशाले गुप्ताजीको पसलभित्र छिर्यो अनि राखेको ठाउँबाट झिकेर एक खिल्ली चुरोट हातमा लिएर आयो। आफ्नै खल्तीबाट लाइटर झिकेर तत्कालै जलायो। आँखा चिम्लिएर लामो सर्को तान्यो। अनि धुवाँको बडेमानको मुस्लो मेरो अनुहारतर्फ फुरुरु पार्यो। मैले आँखा तरेँ मात्र। केही बोलिनँ। विशालेले फिस्स हाँसेर अर्को सर्को तान्यो। यसपल्ट भने धुवाँ अर्को दिशामा फ्याक्यो।
वास्तवमा विशालेलाई चुरोट तान्न भने मैले नै सिकाएको हो। कलेज पढ्दा म चुरोटको अम्मली थिएँ, दश कक्षामा पढ्दा गाउँकै केटाहरुले सिकाएका। आरआरमा मैले विशाले लगायत अरु साथीहरुलाई पनि चुरोट तान्न सिकाएँ। हामी सबै मिलेर क्यान्टिनमा गफ चुट्दै चुरोट तान्थ्यौं, धुवाँ उडाउँथ्यौं। तर त्यस बेलामा हामीले आ-आफ्ना जीवन धुवाँमा उडाइरहेको चालै पाएनौं।
एकदिन गाउँबाट बुबा मेरो कोठामा आउनुहुँदा सिरानीमुनि चुरोट भेट्नुभएछ। मेरो अगाडि रुनुभयो। त्यस दिनदेखि मैले चटक्कै चुरोट छाडिदिएँ। पछि पनि साथीहरुले धेरै कर गरेका हुन्। तर म आफ्नो अडानमा अडिग रहेँ। त्यसपछि आजसम्म एक सर्को पनि लगाएको छैन।
विशाले केही नबोलि चुरोट तान्दै धुवाँ आकाशतर्फ फालिरहेको थियो।
'बोलीको पक्का छ हाम्रो पुजने, पक्कै आउँदै होला। पख्, फोन गर्छु' खल्तीबाट फोन निकालेर पुजनेलाई फोन लगाउन थालेँ।
'लौन, अझै यही थोत्रो मोबाइल चलाइराछस्। चार वर्षअगाडि हामीले सँगै किन्या हैन!' चुरोटको टुप्पोमा जमेको खरानी झड्कार्दै विशालेले ठट्याउलो पारामा भन्यो, 'जे होस् मेरो साथी कमले जुगाड गर्नमा पोख्त छ। हाम्रो ग्रुपको सबैभन्दा लोभी जो परिस्। ' विशालेले जिस्कँदै भनेको भए पनि मलाई भने मनमा नराम्ररी बिझ्यो।
'तेरो जस्तो पैसो खेलाउने भाग्य परेन नि विशाले। जाबो बोर्डिङको मास्टरले तँजस्तो फाइनान्स मेनेजेरको हैसियत काँ'बाट बनाओस् भन् न। तैंले पो समयलाई चिनिस् अनि पैसा छापिस्। आफू त परियो गरिब मास्टर। न त झुण्डिरहन सक्ने न त झर्न नै' पुजनेलाई फोन लगाउँदै गर्दा विशालेलाई एक दनक दिएँ मैले पनि।
मैले बोर्डिङ पढाउन थालेको ७ वर्ष पुग्यो। भर्खर बीए पास गरेपछि काठमाडौंको मध्यबानेश्वरस्थित एक बोर्डिङमा टाई लगाएर पढाउन थाल्दा बडो मज्जा लागेको थियो। त्यसमा पनि सबैले 'सर' भनेर बोलाउँदा ठूलै मान्छे भइएछ भन्ने लागेको थियो। अहिले सम्झँदा हाँसो लाग्छ।
नजानी नजानी यस्तो पेसामा आइएछ जुन पेसा अङ्गाल्नेको अवस्था इँटाभट्टामा काम गर्ने मजदुरको भन्दा पनि दयनीय छ। त्यहाँ काम गर्ने मजदुरले आफूले काम गरेको ज्याला माग्नसम्म त सक्छन् नि, तर यहाँ त महिनौं तलब नपाए पनि भन्न सक्दैनौं हामी विचराहरु। जागिर नै चट् हुने डर जो छ।
यो महामारी सुरु भएयता कयौं महिना आधा तलबमा काम गरियो। अनि अहिले त तलब बिना काम गरेको पनि आठ महिना पुगिसक्यो। उल्टो आफ्नो पैसाले रिचार्ज गरी-गरी एनटिसीको डेटा प्याक किनेर जुमबाट कक्षा पढाउनु परेको छ। सुरुका दिनमा घरबेटी र किराना पसलेको अगाडि मुख देखाउन खुबै लाज हुन्थ्यो, अहिले त त्यो पनि पचाइयो। बाँच्नको लागि अन्य विकल्प सकिँदै जाँदा मान्छे पनि निर्लज्ज हुँदै जाँदो रहेछ।
'हैसियतको कुरो नगर् न यार। अनि मेनेजर भनेर डिस नहान् त्याँ। फाइनान्सले तलब नदेको ४ महिना पुगिसक्यो। कसरी जीवन चलिरहेको छ तैले बुझ्दैनस् कमले। आखिर तँ परिस् स्कुलको मास्टर। स्कुल नलागे पनि अभिभावकले नखाई-नखाई पैसा बुझाएकै छन्। अनि तिमीहरुले मस्ती गरेकै छौ। त्यसैले हामीजस्ता गरिबलाई तिखो वाणले हान्ने काम आइन्दा नगरेस्' विशालेले गम्भीर भएर आकाशतर्फ धुवाँ फ्याक्दै दुःख पोख्यो। सोही समयमा गुप्ताजीले दुई कप चिया ल्याएर अगाडिको टेबलमा राखिदिए।
हामीले चिया पिउँदै गर्दा कालो चस्मा र निलो मास्क लगाएको एउटा मान्छे हामी बसेकै ठाउँमा आयो र नजिकैको मुढा तानेर त्यसमा हेपाहा पारामा थ्याच्च बस्यो। विशाले र मलाई झोक चलिसकेको थियो। तर हामीले केही भन्नु अगावै त्यो मान्छे हाँस्दै बोल्यो-
'हाहाहा... केटाहरुले साँच्चै चिनेनन् कि के हो!' मास्कले थिचिएको मुखबाट निस्केको यो आवाज हामी दुवैको लागि परिचित आवाज थियो। चस्मा र मास्क खोलेपछि कन्फर्म भइयो, हाम्रै पुजने रहेछ।
'केटाहरुले धेरै बेर कुर्न परेछ कि के हो? कि गुप्ताजीले नमिठो चिया खुवाए? अनुहार ठुस्स छ त दुवैको' फेरि आफ्नै पारामा हाँस्दै दियो पुजनेले।
पुजने आरआर पढ्दाको अर्को मिल्ने साथी। यसको वास्तविक नाम पुजन तामाङ हो। एकदम हँसिलो अनि एकदम रसिलो। सिन्धुपाल्चोक हो यसको घर। यसले पनि बीए क्लियर गरेन। खानदानी व्यापारी भएको भएर होला, ठूलो व्यापारी बन्ने धोको थियो यसको। तर भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै यसको बाउको व्यापार पनि सुक्यो। बचेखुचेको धन पनि के-के गरेर सके बुढाले।
केही सीप नलागेर पुजनेले एउटा मारबाडीको कपडा पसलमा काम गर्न थाल्यो। केही वर्ष काम गरेपछि दुई वर्ष अगाडि मात्र आफ्नै कपडा पसल सुरु गरेको थियो। त्यस बेलामा मैले यसलाई मेरो बचत ३० हजार सापटी पनि दिएको थिएँ। तर पसल सुरु गरेको केही महिनामै कोरोना सुरु भयो। लकडाउन भएपछि बिग्रिएको यसको व्यापार अहिलेसम्म तङ्ग्रिन सकेको छैन भन्दै थियो अस्ति फोनमा। तर जस्तोसुकै खराब अवस्थामा पनि बेजोडले हाँस्ने यसको बानीमा रत्तिभर फरक आएको छैन।
'अनि के छ त हाम्रो बैंक मालिकको? पैसो टन्नै छाप्या छस् हैन विशाले?' विशालेलाई हेर्दै जिस्कायो पुजनेले। अनि मतर्फ फर्किएर फेरि उही पारामा सोध्यो- 'अनि के छ त हाम्रो लोसेपी को खबर खाबर?'
लोसेपी! यो शब्द सुन्नेवित्तिकै मलाई रमरम-झमझम हुन थाल्यो। कसैले मेरो देब्रे छातीको छाला च्यात्दै त्यहाँ भित्र हात छिराएर करङको वारपार लगी मेरो मुटु च्याप्प समातेर निमोठिदिएको झैं भान भयो।
'मुख सम्हालेर बोल् है विशाले। बङ्गारा खुस्केला तेरो। जे पायो त्यही नभन् त्याँ,' मेरो आवाज ठूलो भैसकेको थियो। हातखुट्टा काप्न थालिसकेका थिए। रिसको झोकमा दुवै हात ड्याम्म टेबलमा राखेछु। गिलास ढलेर दुवै कप चिया पनि पोखिए।
'आबुई! कसो मारेन यार यो कमलेले। यो त अझै पनि त्यही पुरानो कुरामा अड्किएर बसेको रहेछ यार। नराम्रा यादलाई दिलमा गह्रुङ्गो बनाएर राख्ने हैन नि साथी। त्यसलाई त हरेक दिन ठट्टामा उडाएर हलुङ्गो बनाउनुपर्छ नि कमले, मैले जस्तै' मेरो प्रतिक्रियामा अचम्मित हुँदै केही पछाडि हटेर दुवै हात माथि लगेर बोल्यो पुजने।
लोसेपी अर्थात् लोकसेवा पीडित। यो शब्द मेरो मुटुको कहिल्यै निको नहुने घाउ हो। पहिले-पहिले त साथीहरुले जिस्काउँदै लोसेपी भन्दा म हाँसेरै उडाइदिन्थेँ। तर समय बित्दै जाँदा यो शब्द मलाई कडा लाग्न थाल्यो। यो शब्द सुन्नेवित्तिकै म रिसले बहुलाउँथेँ। त्यसैले साथीहरुले मलाई यो शब्दले जिस्काउन छाडिदिएका थिए।
मेरो बुबाको एकमात्रै सपना थियो मैले लोकसेवा पास गरेर सरकारी हाकिम बनेको हेर्ने। मेरो पनि सानैदेखिको चाहना यही थियो। घर पर्वत भएको भएर पनि होला, वरिपरिका सबै लोकसेवा पास गरेर निजामतीमा खरिदार, सुब्बा, अधिकृत अनि अरु ठूला हाकिम बनेको देख्दै सुन्दै हुर्किएँ। गाउँकै उच्च माविमा फर्स्ट डिभिजनमा १२ पास गरेपछि खरिदार र सुब्बाको परीक्षा दिन्छु भन्दा बुबाले मान्नुभएन।
काठमाडौंमा बसेर बीए पास गर्ने अनि सिधैँ अधिकृत निकाल्ने भन्ने बुबाको रोडम्याप थियो। पेसाले किसान मेरा बुबालाई छोरो काठमाडौंमा राखेर पढाउनु चानचुने काम थिएन। तर आफूलाई गरिबीले जिन्दगीभर नछाडे पनि एक्लो छोरोलाई हाकिम बनाउने ठूलो रहर थियो बुबाको।
घरबाट बुबाले पठाएको पैसाले बीएसम्म पढेँ मैले। त्यसपछि पनि बुबा उहाँकै पसिनामा छोरो काठमाडौं बसेर लोकसेवा तयारी गरोस् भन्ने चाहनुहुन्थ्यो। मलाई भने त्यसरी अनन्तकालसम्म बुबाको पसिनामा जुका भएर बाँच्न मन लागेन। आफैं कमाएर लोकसेवाको तयारी गर्न सक्छु भनेर बुबालाई मनाएँ अनि बोर्डिङमा मास्टरी गर्दै बिहान बेलुकी लोकसेवाको तयारी गर्न थालेँ।
एकैदिनमा सात वटा पिरियड। जम्मा एक पिरियड लिजर पाइन्थ्यो। त्यति समयमा विद्यार्थीले गरेका सबै गृहकार्य जाँच्न नभ्याइने भएकोले छुट्टी भएपछि थप समय बसेर कापी जाँचेर फर्कनुपर्थ्यो। कोठाभाडा तिर्न र दुई छाक खान मात्र पुग्ने तलब थियो। विस्तारै थाहा हुन थाल्यो कि त्यो थोरै तलब पनि समयमा नपाइनु बोर्डिङका मास्टरको लागि नियमित विषय रहेछ।
आर्थिक अभावले मन अशान्त हुन्थ्यो। त्यसमाथि दिनभरि पढाएर कोठामा फर्कँदा थाकेर चुर भइन्थ्यो। पढाउँदाको परिश्रमले थाकेको शरीर र आर्थिक समस्याले अशान्त भएको मनले मेरो लोकसेवा तयारीमा प्रभाव पार्दै थिए। तर आफ्नो एकमात्र उद्देश्य लोकसेवा पास हुनु हो भन्ने अठोट लिएर निरन्तर बिहान-बेलुकी अध्ययन गरी तयारी गरिरहेँ।
बुबाको इच्छा बमोजिम मैले सुरुमा अधिकृतमा मात्र फाराम भरेँ, त्योभन्दा तल भरिनँ। पहिलो वर्ष अधिकृतको प्रारम्भिकमै निस्केन। अर्को वर्ष थप मेहनत गर्दा प्रारम्भिक त कट्यो तर दोस्रो चरणमा आएन। तेस्रो वर्षमा त झन् फेरि प्रारम्भिक नै कटेन। त्यसपछि खरिदार, सुब्बा लगायत जे-जे खुल्छ सबै दिन थालेँ। एक पटक खरिदार निस्केको पनि हो, तर अन्तर्वार्तामा फ्याकिएँ।
बुझ्दै जाँदा थाहा भयो लोकसेवा तयारी गर्न त छुट्टै इन्टिच्युटमा पढ्नुपर्ने हुँदोरहेछ। होस्टलमा बसेर बिहानदेखि बेलुकीसम्म अन्य कुनै पनि काम नगरेर पढ्दा रहेछन् मान्छेहरु। म बबुरो दिनभरि पढाएर आर्थिक समस्याको सामना गर्दै केही घण्टा पढेको भरमा कसरी पास हुनू?
बुबाले बेलाबेलामा फोन गर्नुहुन्थ्यो। हरेस नखान भन्नुहुन्थ्यो। घर गएको बेलामा आडभरोसा दिनुहुन्थ्यो। सिथिल हुँदै गएको मेरो आत्मविश्वास बुबासँग कुरा गरेपछि फेरि बलियो हुन्थ्यो। कतिपय साथीहरु इन्टिच्युट नगएर अनि होस्टल नबसिकन पनि पास भएको तथ्यलाई सम्झँदै आफैंलाई फेरि बलियो बनाउँथेँ। अनि पुनः तयारीमा दत्तचित्त भएर लाग्दथेँ।
बोर्डिङ पढाउँदै लोकसेवा दिदै जाँदा सात वर्ष बितेछ। तर मैले न बोर्डिङ छाड्न सकेँ न लोकसेवाको परीक्षा दिन नै। अब केही नयाँ सुरु गरौं भने अन्य कुनै सीप छैन। अब त बुबाले पनि लोकसेवा के हुँदैछ भनेर सोध्न छाडिसक्नु भयो। सँगै पढेका साथीहरु कुनै न कुनै क्षेत्रमा स्थापित भैसक्दा म भने बोर्डिङ र लोकसेवाको कहिल्यै अन्त्य नहुने जालोमै अड्किएँ। न त पूरै भित्र छिर्न सकेँ, न बाहिर आउन नै।
'हैन हो, के सोचिराछस् ए कमले? टोलाएको छस् त। एकैछिनमा मारौंला जस्तोगरी जङ्गिन्छ फेरि एकैछिनमा ट्वाल्ल पर्छ बा। के भा'छ तँलाई?,' मेरो निधारमा हात राख्दै सोध्यो पुजनेले।
पुजनेको चिसो हात निधारमा परेपछि झल्याँस्स भएँ म। 'लोसेपी' शब्दले विगतमा पुर्याइदिएछ। फिस्स हाँसेँ, चुरोट तान्दै गरेको विशालेलाई एकपटक हेरेँ अनि फेरि पुजनेतर्फ फर्केर भनेँ- 'तँलाई थाहै छ त पुजने, मलाई त्यो शब्द मन पर्दैन भनेर। अनि भन् के छ तेरो हालचाल? कस्तो हुँदै छ तेरो बिजनेस? '
'कुरै नगर् यार। भूतले भात खाने बेलामा पसल सुरु गरिएछ। सुरु गरेको केही महिनामै लकडाउन भयो। भाडा मात्रै मासिक १५ हजार छ। फेरि चिसो ठाउँ परेछ। कतिपय कपडा त चिसोले बिग्रियो पनि। ऋण गरेर ८ लाखमा सुरु गरेको। अहिले बेच्यो भने ३ लाख पनि कसैले दिँदैन।
अवस्था यस्तो छ कि खानलाउन नै धौधौ भैसक्यो, अब यस्तोमा त्यत्रो ऋण कसरी तिर्ने भन्ने भएको छ। साला त्यो घरबेटीले भाडा मागेर हैरान पारिसक्यो। फसियो यार। चुर्लुम्मै डुबियो नि बाबै' साह्रै हतासिएर बोल्यो पुजने। सधैँ हाँसेर मात्र कुरा गर्ने पुजनेले त्यसरी लाचार भएर बोलेको पहिलो पटक देख्दै थियौं म र विशाले।
एकछिन तीनै जना चुपचाप भयौं। कोही पनि बोलेन। विशालेले गुप्ताजीलाई अर्को तीन कप चिया बनाउन भन्दै यो मौनतालाई तोडिदियो।
'अनि विशाले, तेरो बैंक त खत्रा चल्या होला नि। अर्काको पैसो खेलाउने परिस्। मजामै छस् नि हैन तँ?' आफैंलाई सम्हाल्दै नसुहाउँदो हाँसो अनुहारमा ल्याएर पुजनेले विशालेमाथि प्रश्न तेर्स्यायो।
'म बबुरो फाइनान्सको नोकरलाई बैंकको म्यानेजर भनेर सधैँ गिल्ला गरेर थाक्दैनस् है तँ मुला पुजने। अर्काको पैसा चलाएर धनी हुने त फाइनान्सका मालिकहरुले हो। हामीजस्ता नोकरले त तिनले फ्याकिदिएको तलबमा बाँच्ने हो। त्यो पनि नपाएको ४ महिना भो। कोरोनाले गर्दा सबैको हाल उस्तै भा'छ पुजने। बेहाल छ यार सबैको' सकिएको चुरोट भुँइमा फ्याँकेर जुत्ताले टेक्दै विशालेले आफ्नो व्यथा सुनायो।
त्यतिकैमा एउटा भुस्याहा कुकुर हामी बसेको ठाउँ नजिकै आयो। अनि नजिकै राखिएको गुप्ताजीको खाली मुढामा आएर खुट्टा उचाल्दै पिसाब फेर्न थाल्यो। यो देखेर हामी तीनै जना हाँस्न थाल्यौं। हाँसेको आवाज सुनेर हामीतर्फ हेर्दा गुप्ताजीले कुकुरलाई देखे। हिन्दी भाषामा अपशब्द बोल्दै कुकुरलाई धपाए। अनि फेरि बसालिसकेको चियातर्फ लागे।
गुप्ताजीलाई हेर्दै हामी तीन जना थप एकपल्ट आवाज निकालेर हाँस्यौं। सायद लामो समयपछि यसरी हाँस्न पाएका थियौं हामीले। सबैको मनमा बह थियो। सबैको जीवन डामाडोल। तर समस्या आयो भन्दैमा जिन्दगीलाई टक्क रोकेर राख्न पनि त सकिँदैन। जस्तोसुकै परिस्थितिमा पनि मानिस जीवनको बहावसँगै बग्न बाध्य हुँदोरहेछ। ऊ खुसी होस् या दुखी, जीवनको बगाइमा यसले कुनै महत्व राख्दैन रहेछ।
बाहिरबाट हाँसिरहे पनि मेरो मन भने झनै धेरै अमिलो हुन थालिसकेको थियो। आज पुजनेले मैले दिएको सापटी फिर्ता गर्छ भन्नै ठूलै आशा लिएर कोठाबाट हिँडेको थिएँ। सोचेको थिएँ- 'पुजनेले आज पैसा फिर्ता गरेपछि सबैभन्दा पहिले घरबेटी दिदीको मुख नोटले थुनिदिन्छु। त्यसपछि किराना पसलेको उधारो तिर्छु। अनि बाँकी पल्लो कोठामा बस्ने मनकारी बुढाको सापटी तिरिदिन्छु। पुग्यो भने ती बुढालाई दुईचार हजार सापटी पनि दिन्छु, तिनले लकडाउनमा सापटी दिएर ठूलो गुन लगाएका छन् मलाई। अनि बाँकी रहेमा आधा किलो कुखुराको मासु ल्याएर परपरी भुटेर खान्छु। '
यतिकैमा विशालेले दाँत कोट्याउँदै बोल्यो- 'ल केटा हो अब मेन कुरोमा आऔं। कोभिडले सबैलाई मारमा पारेको छ। तर मेरो त बेहाल भैसक्यो। बाँच्नै नसकिने अवस्था आइसक्यो।' हाँसी-मजाकको माहौललाई ठ्याक्कै विपरीत अवस्थामा पुर्याइदियो विशालेले। अनि मेरो अनुहारतर्फ हेरेर भन्यो- 'यार कमले, मैले तँलाई दुई वर्ष अगाडि दिएको त्यो २५ हजार फिर्ता गर् यार। हुन त तेरो नि अवस्था नाजुक छ, तर मेरो धेरै नाजुक भैसक्यो यार। त्यसैले अहिलेलाई जति सक्छस् त्यति नै भए पनि दे न यार।'
यो सुनेर मेरो टाउकोमा हिरोसिमा र नागासाकीको बम एकैपल्ट खसेझैं भयो। एउटा साथीबाट आफूले दिएको पैसा फिर्ता लिएर गर्जो टार्न आएको थिएँ म। यही बेलामा अर्को साथीले उल्टो मलाई दिएको पैसा पो फिर्ता मागिदियो। लोकसेवाको अन्तिम प्रयासस्वरुप इन्टिच्युटमा भर्ना गर्नको लागि विशालेले मलाई सापटी दिएको थियो त्यो पैसा। छ महिनाभित्र फिर्ता गर्ने वाचा गरेको थिएँ। त्यसपछि लकडाउन भयो अनि भुसुक्कै बिर्सेछु। यसलाई पैसा दिनुछ भन्नेसम्म पनि याद रहेनछ मलाई।
मैले केही पनि प्रतिक्रिया जनाउन सकिनँ। के भनौं, के गरौं भयो। किंकर्तव्यविमूढ भएर केही नबोली विशालेको अनुहारमा हेरिरहेँ मात्र।
यत्तिकैमा पुजने मुढाबाट जुरुक्क उठेर विशालेतर्फ हेरेर सन्किदै बोल्यो- 'ल्याङ कुरो नगर् न यार विशाले। मैले तँलाई तीन वर्ष अगाडि दिएको २७ हजार फिर्ता देलास् भनेर आको यार म त। मुला तैं उल्टो कमलेसँग पैसा मागिराछस् यार। के हो तेरो पारा, हिजो त पैसा फिर्ता गर्छु भन्थिस् त फोनमा। पैसा ल्याएको छैनस् र?' मलाई पैसा फिर्ता गर्नुपर्ने पुजने उल्टो विशालेसँग पो पैसा फिर्ता मागिरहेको थियो।
'यार सबैको अवस्था अहिले नाजुक छ। तेरो पैसा दिने नै भनेको हो। तर मसँग त काँबाट हुनु र यार। लकडाउन अनि कोरोनाले ध्वस्त पारेको छ सबै। मैले यो कमलेसँग २५ हजार लिनुपर्ने छ। अब यसले दियो भने मैले तँलाई त्यही पैसा दिने हो' पुजनेलाई हेर्दै यति भनिसकेर विशाले मेरो अनुहारमा हेर्न थाल्यो।
दुवैजना मेरो अनुहारमा हेर्न थाले। अनि मैले पनि पुजनेतर्फ हेरेर भनेँ- 'मैले तँलाई पसल सुरु गर्ने समयमा ३० हजार दिएको थिएँ नि यार। आज तँलाई भेट्न बोलाको पनि त्यही पैसा दिन्छस् कि भनेर हो यार। तर तँ आफैं विशालेसँग पो पैसो मागिराछस् त। '
मेरो कुरा सुनेर विशाले र पुजने दुवै मुखामुख गर्न थाले। पुजनेले मलाई ३० हजार दिनुपर्ने थियो। मैले विशालेलाई 25 हजार दिनुपर्ने रहेछ भने विशालेले पनि पुजनेलाई 27 हजार पैसा दिनुपर्ने रहेछ। समग्रमा हामी तीनजना बीच २५ देखि ३० हजार सापटी तिर्ने एउटा चक्रव्यूह बनेको रहेछ।
प्रत्येकले अर्को एकजनालाई पैसा सापटी दिएको रहेछ भने हरेकले अर्को एक जनासँग पैसा सापटी लिएको पनि रहेछ। पैसो लेनदेनको यो चक्रव्यूहको अवस्था बुझेपछि हामी तीनै जना निरास भयौं। समस्या सबैसँग थियो तर समाधान कसैसँग पनि थिएन। कसैको मुखबाट आवाज निस्केन अनि मौनताले वातावरण ढाक्यो।
त्यतिकैमा गुप्ताजीले तीन कप चिया ल्याएर टेबुलमा राखिदिए। जतिखेर पनि हल्ला गरिरहने हाम्रो समूह शान्त भएर बसिरहेको देखेर होला गुप्ताजीले हामी तीनै जनाको मुखमा पालैपालो हेरेर फिस्स मुस्कुराउँदै पुनः पसलभित्र पसे।
तर हामी तीनै जना शान्त थियौं। टेबुलमा राखेको चियाको गिलास कसैले पनि टिपेन। चियासँगै हाम्रो मन पनि चिसा हुँदै थिए। एकअर्काको अनुहारमा नहेरी केही पनि नबोलि हामी तीनैजना फरक-फरक दिशामा हेरिरह्यौं मात्र।
यही मौनतबीच मेरो मनमा कुरा खेलिरहेको थियो- 'हामी तीनै जना एकअर्काको सापटी फिर्ता गर्ने अवस्थामा छैनौं। मेरो स्कुलले तलब दिएको छैन, पुजनेको कपडा पसल ध्वस्त छ अनि विशालेको फाइनान्स पनि लगभग बन्द हुने अवस्थामा छ। हामीबीच अटुट मित्रता छ, एक अर्कालाई सहयोग गर्ने भावना पनि छ। तर अहिले हामी सबै कमजोर छौं। कोभिडले हामी सबैलाई लाचार बनाएको छ। सबै अभावले पीडित छौं। जीवन चलाइरहेका छैनौं हामी, हामी त जिन्दगीलाई घिसारिरहेका छौं।'
त्यतिकैमा विशाले जुरुक्क उठेर उसकै मौलिक पारामा हाँस्दै बोल्यो- 'लु केटा हो, धेर सिरियस हुने हैन। समस्या भन्ने कुरो आउँछ अनि जान्छ पनि। बरु अब यसो गरौं। अब जसको हातमा पहिले पैसा आउँछ उसले तत्काल सबैलाई खबर गर्ने। अनि जति पैसा आएको भए पनि बराबर तीन भाग लगाएर तीन जनामा बाँड्ने। कस्तो लाग्यो मेरो विचार?'
'ठिक भनिस् यार। मलाई आइडिया गज्जब लाग्यो। तँ के भन्छस् कमले?' पुजनेले उत्साहित भएझैं गरेर मलाई सोध्यो।
'मलाई पनि यो कुरो ठिक लाग्यो। तीन जनामा जसले जति पैसा फेला पारे पनि तीन भाग लगाएर सबैको गर्जो टार्ने। हाम्रो मित्रता अमर रहोस्' मैले पनि देखावटी हाँसो हाँस्दै भनेँ। यो सुनेर विशालेले टेबुलमा रहेको चिसो भैसकेको चियाको गिलास उठाउँदै 'चियर्स' भन्यो। पुजने र मैले पनि आ-आफ्नो गिलास उठाएर विशालेको गिलासमा सुस्तरी ठोक्यौं। अनि तीनै जनाले चिसो चिया एकैपटकमा स्वाट्टै पार्यौं।
त्यसपछि विशालेले गुप्ताजीको पैसो तिरिदियो अनि हामी तीनैजना भर्खरै गरिएको निर्णय बमोजिम अगाडि बढ्ने वाचाका साथ आ-आफ्नो बाटो लाग्यौं। छुट्टिदै गर्दा तीनै जनाको अनुहारमा मुस्कान थियो। अनुहारमा मुस्कान भए पनि वास्तवमा हामी सबैको मन भने अमिलो थियो। हामी तीनै जनालाई यो निर्णय कार्यान्वयन हुँदैन भन्ने कुरा राम्ररी थाहा थियो।
सबैको हालत यति नाजुक थियो कि तीन जना मध्ये कसैको हातमा पैसा परेछ नै भने पनि अन्य दुई साथीलाई बाँड्न सक्ने अवस्था थिएन। यदि कसैको हातमा कतैबाट पैसो आयो भने पनि उसले अन्यलाई दिने छैन भन्ने पनि हामीले बुझेका थियौं। अनि यस्तोमा हामीले एकअर्कालाई गुनासो पनि गर्नेछैनौं किनभने त्यो अवस्थामा जसले पनि गर्ने नै त्यही हो।
अभाव वास्तवमै शक्तिशाली हुँदोरहेछ, जतिसुकै बलियो मित्रतालाई पनि क्षणभरमा चकनाचुर पार्न सक्दोरहेछ।