‘तँसँग एउटा सल्ला गार्नु छा’ ओछ्यानमा पल्टिएपछि भन्यो दोर्जेले।
अँध्यारोमा उसको अनुहार हेर्दै सोधेँ ‘हाइना केको सल्ला भन्छा? क्या गर्ने हो र मैले?’
जुरुक्क उठेर बाहिर चम्किरहेको जून हेर्दै गुनगुनायो ‘ऋण धेरै लाग्यो। आबो तिर्ने उपाय पनि छैना। त्यहीँ भार मोइले अझै ऋण बोक्ने विचार गार्यो।’
‘के भन्छा यो बुढा? अझै ऋण बोक्ने?,’ म झर्किएँ।
कुरालाई अर्कैतिर घुमाउँदै भन्यो, ‘तैँले त्यो सेतेलाई चिन्छा नि। भेट भएको थियो आजु।’
‘यो बुढालाई पनि के छाँटा चढ्यो? घरि ऋणको कुरा घरि सेतेको। सुत् चुप लागेर मुर्दार!,’ एकसरो हकारेर ओछ्यानमा पल्टिएँ।
‘हाइना कुरै नबुझी क्यान झर्कन्छा?’ हाँस्न खोज्दै भन्यो, ‘त्यो सेतेले मेरो मन बिगार्यो आजु।’
‘सेते भानेको पल्लो गाउँको थेबा तामाङ हैना र? कहिले पास्टर भइ कुदिहिँड्थ्यो। कता सहरतिर बस्छा रे नि। के भानेर तिम्रो मन बिगार्यो दोर्जे?’ बुझ्न चाहेँ। पल्लो गाउँको सेते काठमान्डुतिर बस्छ भन्ने सुनेकी थिएँ। बेला बेलामा बाइबलको प्रचार गर्दै गाउँमा जान्थ्यो। पैसा पनि कमाएको छ भन्थे अरूहरू। एक्कासी सेतेको कुरा गर्दा अलमलमा परेँ।
‘तँ रिसाउँछस् कि भनेर भन्नु अप्ठेरो लाग्यो क्या’, कुरा चपाउँदै भन्यो, ‘आबो मोइले तँलाई छोड्ने विचार गारो। एक्लै बस्न सक्छास् न्याउली?’
यस्तो वचनको अपेक्षा गरेकै थिइनँ। पूरै जमिन भासिएजस्तो भयो। अँध्यारो रातमा तोरीको फूल नाच्न थाल्यो तिरमिर तिरमिर। भर्खर मंगले दुई वर्ष पुगेको थियो। मेरो पेटमा अर्को बच्चा आइसकेको थियो। अक्क न बक्क भएँ। आँखाभरि आँशु पारेर हेरेँ। दोर्जे भने मतिर नहेरेर बाहिर कतै अँध्यारोतिर नियाल्दै थियो।
‘मलाई ठट्टा गरेको मन पर्दैन मंगलेको आपा,’ उसको काँधमा समाएर हल्लाउँदै भनेँ। ‘क्या क्या आसत्ति बोल्छ यो मुर्दारले? मलाई छोड्न त दुर्सामा लिएर जानुपर्छा।’
मेरो मुख थुन्दै भन्यो, ‘न्याउली तँ आसत्ति बोल्दैछस्। त्यस्तो भन्ना खोजेको हैना। सबैको भलो होस् भानेको। भान्नु नै गाह्रो भो क्या।’ केहीबेर अकमकिएर भन्यो, ‘मोइले तो विदेश पो जाने विचार गरो है। यहाँ जति काङलिङ घोटे पनि केही हुँदैना।’
रातभर कुरा गर्यौं। छ्याङ्ग उज्यालो भयो परेला झिमिक्क नगरी। गाई र बाख्रा ल्याएको ऋण ज्यूँका त्यूँ थियो। साथमा एक पैसा थिएन। विदेश जाने कुरा पहाडलाई सिङ्गै ढाडमा बोक्नु थियो। गाउँका तन्नेरीहरू विदेश जाने लहर चलेको थियो। उनीहरू जस्तै विदेश गएर पैसा कमाउने रहर थियो दोर्जेसँग। कहाँबाट पैसा जम्मा गर्नु र विदेश जानू। रातभरमा दोर्जेलाई विदेश जानु हुँदैन भन्ने कुरामा राजी गराएँ।
तीन दिनपछि सेते घरमै आइपुग्यो टुप्लुक्क। घरजग्गा बन्धकी राखेर केही पैसा खोजिदिने बतायो। बाँकी पैसा पनि हालिदिने भयो। त्यसरी नै अरूलाई पनि विदेश पठाएर चाँडै धनी बनाएको सुनायो उसले। दोर्जेको मन फेरि विदेश जाने मोहले भरिन थाल्यो। विदेश गएपछि पैसा नै पैसा हुन्छ भन्दै सेतेले फलानोले यति कमायो, ढिस्कानाले यस्तो प्रगति गर्यो भनेर सुनाएपछि दोर्जेलाई विदेश पठाउने कुरामा राजी भएँ। पहिले राहदानी बनाउने र काठमान्डु गएर शरीर जाँच गर्नका लागि ३० हजार रुपैयाँ लाग्ने रहेछ। तुरुन्तै खोज्नुपर्छ भन्यो।
विदेश जाने नै भएपछि पैसा खोज्नै परो। गाउँका धनीमानीकहाँ टाउको कन्याउन गयो दोर्जे। आमासँग दस हजार रहेछ। उनले सुनको मुन्द्री पनि दिइन्। उसले पाँच हजार मात्र खोजेर ल्याएछ। त्यही १५ हजार रूपैयाँ र नागरिकता बोकेर भोलिपल्ट दोर्जे काठमान्डु हिँड्यो। बाटोमा सेतेसँग भेट्ने र सँगै जाने कुरा थियो।
एक महिनापछि दोर्जे घर फर्कियो। उसको अनुहारमा निराशा थियो। वर्षन लागेको बादल जस्तो अनुहारमा निकै थकित भएर भित्र पस्दै खुई…य गर्यो।
‘घरभित्र खुई…य गार्नु हुँदैना,’ पानी दिँदै भनेँ, ‘क्या भो र यस्तो गति देखायौ?’
‘कागजपत्र त सबै बनायो। मेनपावरमा पेश पनि गरेको तर शरीर जाँच गर्दा विदेश जान मिल्दैना भान्यो। छातीभित्र घाउ छ रे। बेक्कार पैसा मात्र सकियो,' घटघट पानी खाएर भन्यो, 'हामीजस्तो अभागीलाई विदेश जाने मौका कहाँ जुर्छ मंगलेको आमा। आबो झन् धेरै ऋणमा डुबियो।'
‘हाइना के भएछा तिम्रो छातीमा?’छक्क पर्दै सोधेँ, ‘अस्ति अस्ति रगत वान्ता गर्दथ्यौ। साँच्चै घाउ भएर पो हो कि।’
‘खै के भयो के। आबो यस्तो ऋण कासरी तिर्ने हो कुन्नि?’ फेरि खुइ…य गर्यो।
‘आबो जे हुनु भैहाल्यो। घरभित्र यस्तो गर्नु हुँदैना।’ आपा र आमाले घरभित्र खुइ…य गर्नु हुँदैन सुसेल्नु हुँदैन भनेर सिकाएका थिए।
दोर्जे मंगलेलाई खेलाउँदै ओछ्यानमा ढल्कियो। आलुको खोले र ढिँडो बनाएर खान दिएँ। खाएर ख्वाङ ख्वाङ खोक्दै सुत्यो। राति धेरै कुरा सोधौँ भनेर कुरा खेलिरह्यो मनमा तर थकाइले दोर्जे भुसुक्कै निदाइहालेछ।
भोलिपल्टबाट उही दिनचर्या सुरू भयो। विदेश कहिले जाने भनेर गाउँघरमा सबैले सोध्न थाले। जे भएको थियो त्यही भनियो। ऋण दिनेहरू अझ रिसाए। गएको भए केही महिनामा तिर्थ्यो भन्ने सोचेका रहेछन् उनीहरुले। जाने बाटै बन्द भएपछि के गर्ने भन्नेमा हामीसँग कुनै जवाफ थिएन।
दुई हप्तापछि सेते तामाङ फेरि आयो। छँदाखँदाको लोग्नेलाई हौस्याएर काठमान्डु लग्यो र १५ हजार चुना लगायो असतिले। बस्ने ठाउँ मिलाएर उसलाई पानी दिएँ। मंगलेलाई चकलेट दियो। म घाँस काट्न गएँ।
घाँस काटेर आउँदा सेते जाँदै थियो। दोर्जेलाई विदेश जान मिल्छ भनेर फेरि उरालेछ। डाक्टरलाई केही पैसा दियो भने छातीभित्रको घाउ नभएको कागज बनाइदिन्छ र विदेश गएर पैसा कमाउन सकिन्छ भनेर सिकाएछ। भोलिपल्टै काठमान्डु जाने पो भन्छ दोर्जे त। ‘१५ हजार खर्च भोइसको डाक्डरलाई आलिकति दिँदा हुन्छा भने क्यान नागार्ने?,’ निर्णय सुनायो उसले।
भोलिपल्ट सेते घरमै आयो। डाक्टरलाई दस हजार दिनुपर्ने र विदेश जानलाई एक लाख रुपैयाँ लाग्ने भएकाले एक लाख दस हजार रुपैयाँ चाहिएको थियो। कागज गरेर घरजग्गा बन्धकी दिनुपर्ने उसले बतायो। विदेशमा गएपछि दोर्जेको आम्दानी २० हजार रुपैयाँ हुने र त्यसमध्ये हरेक महिना १५ हजार रुपैयाँ कम्पनीले सेतेको मान्छेलाई दिने सर्त राख्यो।
एक वर्षसम्म महिनाको १५ हजार तिरेपछि बल्ल ऋण छिनिने सर्त सुनायो तर मैले सबै कुरा बुझिनँ। दोर्जेले एक वर्षसम्म निःशुल्क काम गर्नुपर्ने रहेछ। गाउँको ऋण तिर्न अझै कति लाग्ने हो के थाहा। म बच्चा पाउने भएकाले घरमा पनि चाहिन्थ्यो पैसा।
विदेश जाने हिसाबले भोलिपल्ट सेतेसँग फेरि काठमान्डु हिँड्यो दोर्जे। गाउँका अरु सातजना युवालाई पनि उसले भेला गरेको थियो।
यसपटक दोर्जे एक हप्तामै घर फर्कियो। उसको अनुहार पनि उज्यालो थियो। मंगलेलाई अँगाल्दै भन्यो, ‘मो मलेसिया जाने भोयो। दुई हप्तापछिको पिलेनको टिकट छा। आबो ऋण तिरेर छोरालाई स्कुलमा पढाउँछ।’
कति चाँडै बित्यो दुई हप्ता। हिँड्ने बेलामा दोर्जे बेस्कन रोयो। मेरो मन रोयो त्योभन्दा बढी। ऊ कसरी जाला भन्ने ठानेर मैले मन बाँधे।
‘तँ बच्चा पाउने बेलामा मो विदेश जाने भोयो। आफ्नो जिउको राम्रो ख्याल गार्नू। उता पुगेपछि खबर पठाउँछा सेतेलाई,’ घ्वाँक्क घ्वाँक्क रोयो ऊ। नरोऊ भनेर सम्झाएँ। जति सम्झायो उति बढी रून थाल्यो।
सम्झाउँदै भनेँ, ‘मंगलेको आपा रूनु हुँदैना। रूँदा आँशुको भारा लाग्छा। जति थोपा आँखाबाट आँशु चुहिन्छ त्यति नै शरीरको शक्ति नास हुन्छा। यो आँशु ता तिम्रो दुःखा हो। मैले पो बुझ्छा तर अरुका लागि यो आँशु ठट्टा मात्र हो। उनेर्का लागि तिम्रो आशुँ पानी, मेरा लागि पवित्र मया हो। आँशु अरूले पुछिदिँदैना। यो स्वार्थी दुनियाँमा आँशु पुछेको पनि पर्म माग्छ मान्छे।’
‘न्याउली म छ्योर्तेनमा पाती चढाउँदै जान्छ। धूप बालेर फन्को लगाउँछ गुम्बालाई। मंगले र पेटमा भएको बच्चाका लागि रक्षे गर भन्छा भगवानलाई। लुङ्दरले तिमेर्को रक्षे गर्छा। सबै देउदेउता सिमेभूमेलाई भाकल गारेको छा। भगवानले पक्कै सुन्छा। मलाई सम्झेर नारूनू तिमी। आपा आमाले पनि हेरविचार गर्छा। आङीलाई गोएर भेट्दै गर्नू। मंगलेको घाँटीमा जन्तर बाँध्ना नाबिर्सानु होई। गुम्बामा दोमाङ ढोग्न लाउनू उसलाई। मो घरमा नहुँदा बच्चा जन्माउँदा कत्ति दुःखा हुन्छा यो मनलाई थाहा छा। जति दुःख भए पनि सहनुपर्छा न्याउली भगवानले पक्कै हेर्छा एकदिन।’
'भयो मंगलेको आपा धेरै नाबोल। थाम्नु सक्दैना मेरो मनले। रामरी जाऊ। मोलम लिँदै जानू बाटोको देउदेउतासँग। पिर नागर्नू यताको यो आफ्नै माटो हो। यहाँ आस्याङआङी र मेरो आमा छ। साथीभाइहरु छ मसँग। चराचुरुङ्गीले पनि वात मार्छा। विदेशमा कसरी बस्छौँ। समयमा खानू। कुरा नखेलाउनू मनमा। खोक्ता रगत छ्याद्यो भने दवाइमुलो गार्नू। लामाले बनाएको जडीबुटी झोलामा छा। खाँदै गर्नु बेलाबखत। सन्चो हुन्छा। रामरी काम गरेर पैसा जोगाउनू।'
दोर्जेलाई ढोकामा उभ्याएर सगुन खुवाएँ। छोराको हातबाट खादा ओडेर रुँदै निस्कियो दोर्जे। नरोई जाउ त भनेँ तर छोडेन रून। छोरा बोकेर पछि पछि छ्योर्तेनसम्म गएँ। पाती चढाउँदै दोर्जेले भन्यो 'रक्षे गर भगवान। विदेशमा दुःखा गरेर तिमीलाई भेट्ना आउँछा फेरि।' माथि चिहान डाँडातिर देखाउँदै बोल्यो 'ऊ… त्यो दुर्सा गाङमा हाम्रो सबै पुर्खालाई पोलेको छ। साह्रै माया लाग्छ यो ठाउँको। आफ्नो नाभी गाडिएको ठाउँ।'
'हाइना यो आसत्ति केके बोल्छा हिँड्ने बेलामा?,' गाली गर्दै भनेँ, 'राम्रो राम्रो कुरा पो गार्नुपर्छा ता। के के भन्छा भन्छा।'
'सत्ते हो न्याउली। मेरो गाउँ, मेरो ठाउँ, आफन्त बसेको माटो। प्यारो ठाउँ छोडेरा हिँड्दा सारै दुःखा लागिराछा।'
ल्हापसाङकर्पोलाई हात जोडेर भन्यो, 'हे हिमाल देउता हाम्रो भाग्गे दारो छ। जन्मेर आँखा उगार्दा तिम्लाई नै देख्यो मर्दा पनि तिम्लाई हेर्दै मर्छा।'
छ्योर्तेननेरको डाँडाँबाट आँखाले देखुन्जेल हेरेँ दोर्जेलाई। पल्लो डाँडाँबाट हात हल्लाउँदै गयो ऊ। ओझेल परेपछि मेरो आँखा वर्षिन थाले। छोरा लिएर रुँदै रुँदै घर फर्किएँ। पहिलोपटक घर एकदमै सुनसान लाग्यो। घर घर जस्तो थिएन।
त्यहाँ दोर्जेको छाया थिएन। दोर्जेसँगै मेरो होश पनि थिएन। थियो त एक्लोपन र अत्तालिएको मन। आफ्नै घर बिरानो लाग्यो। भित्तामा टाँसेको बुद्धको फोटो पनि टोलाइरहेको थियो। मझेरीमा थ्याच्च बसेर बलिन्द्र आँशुमा पुकार्न थालेँ त्यही फोटोलाई। बेहोस् मै कुदेर छ्योर्तेननेर पो पुगेँछु। त्यहाँबाट ऊ हिँडेको बाटो हेरिरहेँ। खादा ओढेको दोर्जे परैबाट मतिर कुदेर आएजस्तो भान भयो।
दोर्जे गएपछि फुर्सद भइसक्दा मंगलेलाई च्यापेर छ्योर्तेननेर जान्थेँ। दोर्जेलाई हेर्न चाहन्थे मेरा आँखा। झझल्कोमा मात्र देखिन्थ्यो दोर्जे। छ्योर्तेन हिमाललाई हेरिरहेको हुन्थ्यो, हिमाल मलाई। मेरा आँखा दोर्जेलाई खोजिरहन्थे। पाती चढाएर छ्योर्तेनलाई सोध्थेँ दोर्जेको खबर। छ्योर्तेनले कहिल्यै जवाफ दिएन।
फिनिक्स बुक्सले हालै प्रकाशन गरेको चेतनाथ आचार्यको 'रुइबा' उपन्यासको अंश)