कविता
छोडी गयो आफ्नो जन्मभूमि अनि जन्मथलो रोजगारीको लागि तिमी।
बुढा बा आमाको मुटुको टुक्रा अनि एक मात्र सहारा हो तिमी।
आफ्नी प्राण प्यारी नव विवाहिता पत्निकी हृदयको धड्कन हो तिमी।
केबल सबैको एक मात्र सहारा र भरोसा हो तिमी।
आफूलाई जन्म दिने बुढा बा आमाको राम्रोसँग सेवा सुसार गर्न नपाई।
आफ्नी प्राण प्यारी पत्निको अंगालोमा धित मरुन्जेल बस्न नपाई।
आफ्नो सन्तानको बाबु भई, तिनको तोती बोली सुन्नै रहर मनाउन नपाई।
कति छिटो भगवानको प्यारो भई गयो तिमी।
कति सपनाहरू सजाएका होलान्, तिम्रो बा आमाले?
कस्तो सपना बुनेकी होलिन्, तिम्री जीवन संगीनीले ?
कहिले नातिको मुख हेर्न पाउला भनेर आश गरेर बसेका होलान् बुढा बाआमाले?
कहिले आफ्नो काखमा सन्तान खेलाउन पाउला भनेर आश गरेकी होलिन् पत्निले?
न त बुढा बा, आमाले नाति खेलाउन नै पाए।
न त पत्निले मातृत्वको प्यास मेट्न नै पाए।
विदेश जाँदा लिएको ऋण अझै तिर्न बाँकी नै छ।
साहुसँग बन्धकी राखेको खेत बारी अझै पनि निख्रिन बाँकी नै छ।
अब कसले तिर्छ होला, विदेश जाँदा लिएको ऋण?
अनि कसले निख्र्न्छ होला, बन्धकीमा राखेको खेत बारी?
बुढेसकालमा छोराले सेवा सुसार गर्लान् भनि आशा गरेका होलान् बुढा बा-आमाले।
अब त सँगै साथ बिताउन पाउन्लान् भनि प्रतीक्षामा होलिन् तिनकी अर्धाङ्गिनी।
सबैको आशा अनि भरोसा माटोमा विलिन भई गयो आज।
सबैको सपना एक क्षणमै चकनाचुर भई गयो आज।
सबैको सामु 'ऊ' काठको बासकमा बन्द भएर विदेशबाट आयो आज।
केवल 'ऊ' सबैको सम्झनामात्र बनेर बस्यो आज।
केवल 'ऊ' त एक प्रतिनिधी पात्र मात्र हुन सबैको।
आज विदेशिनु परेका छन्, कति युवाहरू गरिबी र बेरोजगारीले गर्दा।
बैसमा रगत पसिना बगाएर, फर्कनु परेको छ बुढेसकालमा स्वदेश।
सद्धे भई विदेशिएकाहरू पनि, बाध्य भए अपांग भई स्वदेश फर्कन?
कति त दु:ख, पीडा अनि यातना सहन नसकेर आत्महत्या गर्न विवश भए।
कति काठको बाकसभित्र बन्द भएर स्वदेश फर्कनु पर्यो ?
कति नक्कली म्यानपावर कम्पनीबाट ठगिनु पर्यो।
कति त विदेशी जेलमा बन्दी जीवन बिताउनु पर्यो।
कतिको घरबारी गुम्यो, कतिको भए भरको सम्पत्ति डुब्यो?
कति बालबालिकाहरू टुहुरा बने, कतिको सिन्दुर पुछियो?
कति बा आमाको कोख उजाडियो, कति बुढेसकालमा सहारा विहीन भए?
कतिको परिवार बिग्रियो, परिवार भत्कियो, परिवार बिखण्डित भयो?
अब कहिले हुन्छ, यसको अन्त?
जब सम्म हुन्न, देशमा गरिबीको अन्त।
जब सम्म हुन्न, स्वदेशमा नै रोजगारीका अवसरहरूको सृजना।
जब सम्म हुन्न, देश हाक्नेहरू बीच सत्ता अनि कुर्सीको लडाइँ।
जब सम्म हुन्न, देश र जनतालाई माया गर्ने अनि देश प्रति बफादार हुने नेताहरू।
अनि मात्र हुन्छ, देशमा शान्ति, सुखी समृद्धि नेपाल र नेपाली।