मंसिरको दिन असार महिनामा लगाएको बाली उठाउन गाउँ घरमा धमाधम थियो। दिनभरि काटेको धान, बेलुका पानी पारेर भिजाउँछ कि भन्ने डर पनि थियो।
जया पनि केही दिनका लागि बिदा लिएर घर आएकी थिई।
सामुदायिक विद्यालय पढेकी। पढाइमा निक्कै अब्बल थिई ऊ। घरको काम सानैदेखि गर्ने बानी भएकी, त्यै भएर काम गर्न औधी मन लगाउँथी। यो साल मंसिरमा धान नभिजाई कुन्यू बन्यो। आफ्नो आफ्नो खेतका खलामा कुन्यू देख्दा किसान मख्ख थिए।
जया पनि निकै खुसीका साथ समय बिताइरहेकी थिई। अब काममा जाने दिन आइसकेको थियो। आमाले छोरीका लागि मिठो मिठो परिकार बनाएर खुवाई सक्नु भएको थिएन। कोठामा बस्दा लैजाने कोसेलीका पोकाहरू बाधिसकेका थिएनन्। छोरीलाई मनपर्ने खाने कुरा आलुदम र सेलरोटी थियो। आमाले छोरी घरमा आएका बेला सधैं पकाएर खुवाउनु हुन्थ्यो।
आज पनि जयाका घरमा सेल रोटी खाने दिन छ। ऊ आफ्ना लुगा कपडा झोलामा मिलाउँदै छे। कहिले कुन सामान अट्दैन, कहिले कुन सामान अट्दैन। घरि-घरि सोच्ने गर्छे अब यी गर्मीका कपडा यही छोडौं कि? अब त जाडो पलायो भन्ने नि सोच्छे। जसो तसो उसले झोला मिलाई सकी।
आमाले मेथी, नरिवल र चामल पानीबाट तर्याइ सक्नु भएको रहेछ।
अब आमा छोरी ढिकीमा चामल कुट्दै मीठा मीठा गफमा लाग्नुभयो। भोलि छोरी जाने दिन। आमाको मनमा एउटा विछोडको पीडाले अड्डा जमाउन थालिसकेको छ। घरी छोरीतिर हेर्नुहुन्छ, कहिले छोरीले खुसीका साथ गर्ने काम हेर्नुहुन्छ। मनमनै सोच्नु हुन्छ। आफैैंसँग छे र त मन भकानिन्छ। कुनै दिन यसलाई पराइको हातमा सुम्पिएको दिन कस्तो होला? आमा गहभरि आँसु पार्दै सेल रोटी पकाउन तल्लीन हुनुहुन्छ।
जया हतार हतार गर्दै आलुदम पकाउन लाग्छे।
घरका अरू सदस्य आफ्नै काममा व्यस्त हुनुहन्छ। करिब बेलुकीको ५ बजेतिर जयाका मामा र अरू २ जनाको आगमन हुन्छ। बिना खबर भाइ आइपुग्दा आमा दंग पर्दै हतार हतार हालखबर सोध्नु हुन्छ।
जया पनि मामालाई देखेर खुसी हुन्छे तर बिना खवर आफ्नो प्रेमी आफ्नै घरमा आएको देखेर अचम्ममा पर्छे। बिहानसम्म आउने कुरा नगरेको मान्छे बेलुकी टुप्लुक्क आउँदा रिसाउछे पनि। भोलि उसको हिँड्ने दिन छ। घर आउने केही खबर थिएन। बिना खबर आएको देखेर मनमनै मुर्मुरिन्छे। अब के कुरा गर्ने हुन्? फेरि मेरो मामालाई नै लिएर आएछन्। मामासँग के नाता थिएछ कि? किन कहिले मलाई भनेन। जयाको मनमा अनेकौं कुराहरू खेल्न थाले। घरमा सबै जनाको उपस्थित भयो। बेलुकीको खाना खाएर सबै जना एकै ठाउँ बसे। सबै कुराहरू भयो। प्रकाश र मामाको पहिलेबाट चिनजान रहेछ। त्यो कुरा जयालाई प्रकाशले लुकाएका रहेछन्। अब छोरीले मन पराएको मान्छे। भाइले ल्याएको केटो। सबैले स्वीकार्नु भयो। प्रकाश देख्दै शालीन, शान्त स्वभावको मान्छे, जो कोहीको मनमा बस्न सक्थ्यो। रातभरिमा बिहेको कुरा टुंगो लाग्यो। भोलि फेरि जयाको कार्यालय फर्किने दिन छ। हतार हतार मै बिहेको कुरा सकियो। बिहे मंसिर २८ गतेलाई जुर्यो। बाँकी रह्यो अब १५ दिन।
जया पहिलेदेखि नै अलिक फरक विचार लिएर हिँड्थी। अहिले नि फरक कुरा राखी। प्रकाश आफ्नो प्रेमी भएनि निकै कुरा खुलेर गर्न भ्याएकी थिइन। उसले आजै हो भन्ने भनेर सोची। बिहे तामझामले होइन जीवन चाहिँ बितोस्। सम्पत्ति यति भनेर देखाउन भन्दा नि दम्पती उदारणीय बन्नुपर्छ। अहिले सुनको गहना देखाउन बिहे गरिन्छ। सम्पति हुनेले लगाउँछन् तर नहुनेले महँगो ब्याजको ऋण खोज्छन्। दुई चार दिन देखाउन बेहुलीलाई लगाई दिन्छन्।
बाध्यताबस केही दिनमै ऋण तिर्न बेच्नु या साहुलाई बुझाउनुपर्छ। हामीसँग केही छैन भनेको होइन। यस्तो होस् हाम्रो बिहे सुनको हार देखाउन नभई जीवन बिताउन होस्। गाउँलेलाई यो लागोस् कि सुनको हार बिना नि बेहुली बनाइने रहेछ । यो कुरा सुनेर प्रकाश एकछिन केही सोच्न सक्दैन। भोलि समाजले के भन्ला? एउटा हार पनि ल्याउन नसक्ने बेहुला रहेछ। जयाले कस्तो नै सँग बिहे गर्ली भनेको यस्तो पो रहेछ भन्लान्।
उसले जयाका कुरालाई केही समय स्वीकार्न सकेन। आफ्नो घरमा कुराकानी गरेपछि यसको निर्णय दिन्छु भन्यो। यस्तै यस्तै कुरापछि सबै आ आफ्नो विस्तारामा पल्टिए। आज निकै छिटो उज्यालो भएको आभास भयो आमालाई। हतार-हतार गर्दै जयाका लागि खाना तयार गर्नुभयो। मामा र प्रकाश पनि जयासँगै जाने हुनुभयो। जयाले कार्यालयमा आफ्नो फेरि बिदा मिलाउनुपर्ने भयो। उसले एक हप्ताको बिदा मिलाई। बरु फेरि लिने सोचेर। बिहेको दिन नजिकिँदै थियो।
जया कसार बाट्ने दिन घर पुगी। उसका साथीहरूले उसका हात मेहन्दीले रंगाइदिए। घरभरि पाहुनाहरू मुखामुख गर्दै जया खुसी छे भन्नुहुन्थ्यो। हो जया साँच्चै खुसी थिई। आफूले रोजेको केटासँग जीवन बिताउने अठोट पूरा भएको सोच्दै थिई। अर्को कुरा सुनका गहना विरोधमा सफल भएकी थिई। टाढा बाटो जन्तीका लस्कर कति बेला आउने हुन्। सबैको मनमा थियो।
आमा बुवालाई छोरीको बिदाई कसरी गर्ने भन्ने छुट्टै पीडा थियो। सामान्य तरिकाले बिहे भयो। कुनै तामझाम थिएन। आफ्नो परम्परा र संस्कार जोगाइएको थियो। जब बेहुलीलाई कपडा फेर्ने बेला भयो। सबै नारी जतिको आँखा बेहुलीपट्टि थियो। कति गहना ल्याएको रहेछ। तर बेहुलीको शरीरमा सामान्य रातो साडी, सिउँदोमा सिन्दुर अनि गलामा पोते, हातमा चुरा मात्र थिए। एकछिन सबै छक्क परे। बेहुलीको श्रृंगार र गहनाले भन्दा आफ्नो मुस्कानले कैयौं गुणा सुन्दर देखिएकी थिई जया। आज सायद उही होला पहिलो बेहुली जसको गलामा सुनको हार थिएन। सुनको हार नलगाएकी बेहुली जया।
हरेक कुरामा दखल, पोख्त नारी। अरूको अगाडि सधैं सरल व्यवहार देखाउथी। उसको एक दिन यति खुसीको खबर आयो कि उसले लोकसेवा आयोगमा अधिकृतमा नाम अटाएकी थिई। अनि सबैको हाइ हाइ पाएकी थिई। ऊ अरूभन्दा धेरै खुसी थिई। उसको श्रीमानले हरेक भावनाको कदर गर्दै हौसला बढाउथे। देख्दा जति सरल र शालीन थिई नि अरूको लागि एउटा उदाहरण बनेकी थिई।
बिस्तारै बिस्तारै उसका साथी, आफन्तले उसलाई खुसी देखेर दंग पर्थे। सुन नलगाई भएकी बेहुली आज धेरै तोला सुन दिने श्रीमानकी श्रीमतीभन्दा पनि हरेक मनका कुरा बुझिदिने श्रीमानकी श्रीमतीको उदाहरणमा गनिन्छे जया।