ऊ मान्दिन!
६-७ वर्षको लुकामारीमा लुक्नु समेत लुके सबै भावना।
कोही मनको खुला कुनामा त केही दिमागको कालो कोठामा !
हो!
डुम त मै हुँ तर पनि मलाई ढ्यापा खान मन छ
अनि फेरि सुरूदेखि आँखा छोपी गन्दै ती भावनाहरूलाई लुक्न दिन मन छैन।
सबैलाई पालै पालो एक नम्बर यो ! र दुई नम्बर यो ! भन्दै उसको अगाडि चिच्याउन मन छ !
तर ऊ मान्दिन र मेरो मन पनि !
भावनाहरूलाई पनि कहिले काहीँ त लुक्न अल्छी लाग्दो हो!
आफैं आइपुग्छन् मेरो सोच कै छेउ
तर पनि मलाई यो खेलमा झेल्ली गर्न मन छैन र ऊ पनि मान्दिन !
उसलाई त त्यो लुकेका पात्रहरूको कहिले पो मतलब थियो र !
तर, यसो सोच्छु ऊ अर्कैसँग अर्कै खेलमा रमाउँदा रमाउँदै
म किन यो मेरो कालो कोठामा उसलाई लुकामारी खेल्न बोलाऊँ ?
ऊ त त्यो खेलमा डुम पनि हुँदिन होला !
लुकेका पात्र खोज्नु अघि एक देखि सुरू हुने यो गिन्तीमा
उसलाई मेरो अन्तिम गन्ती बनाउने रहर हो
तर पनि ऊ मान्दिन र म भए पनि नभए पनि
आँए है भन्दै उसलाई खोज्न डगुर्छु !