तिम्रो-हाम्रो लागि
एक शताब्दीको एक जुग होला
तर यस्तो लाग्छ
यो ब्रमाण्डको लागि एक शताब्दी
मात्र एक सेकेन्ड, वा त्योभन्दा नि कम
आजभोलि समय
त्यसैगरी दुब्लाएको छैन मेरो खातिर
यस्तो लाग्छ, मात्र मेरो लागि
एक सय वर्षको एक दिन हुन्छ
चिया पसलको मामा सोध्नु हुन्छ
'भान्जा, चिया मात्र कि त्यसमा चोभ्न दुनोट पनि?'
म भन्छु, 'भैगो मामा बजेट थोरै छ आजभोलि
सहरमा हिँड्नेहरु २० रुपैयाँको पानीले
मुस्किलले केही किलोमिटर यात्रा गर्छन्
म त मरुभूमिमा भौतारिरहेको यात्री हुँ
हुनसक्छ एक बोटल पानीमा दिनभरको यात्रा लुकेको छ'
मामा मुसुक्क हाँस्नु हुन्छ, अनि मलिन स्वरमा सुस्काउनु हुन्छ
'यी भान्जा चिया,
मामा यो सहरले तपाईंलाई के दियो?
मेरो प्रश्नमा मामा अघिको भन्दा अलि उदार भएर मुस्कुराउनु हुन्छ
'खोई भान्जा तपाईंलाई जे दियो मलाई नि त्यही
फरक यत्ति हो, तपाईं मरुभूमिमा हुनुहुन्छ
म कुनै विशाल तलाउमा'
फेरि खित्का छाड्दै निरन्तर बोल्नु हुन्छ
'कहिलेकाहीँ त यस्तो लाग्छ
म पनि यो तलाउमा नभएर
तपाईंजस्तै त्यो मरुभूमिमा भए नि हुनि
कमसेकम सास त आफ्नो मर्जीले फेर्न पाइन्छ।'