प्यारी मान्छे,
आशा गर्दछु तिमी सन्चै छौ। म पनि भगवानको कृपा अनि तिमीले मलाई हाम्रो सम्बन्धको अन्तिम दिनमा दिएको आशीर्वादका कारण सन्चै छु। बाबाममीलाई 'नमस्ते' टक्र्याइदिनु है। उहाँहरुलाई भन्दिनु, 'त्यो फटाहा केटाले हजुरहरुलाई नमस्ते भन्दै थियो।'
आशा गर्दछु तिम्रो सानो परिवारको अरु सबै सदस्यहरू पनि सकुशल नै हुनुहुन्छ। आखिर तिमीलाई अलच्छिना लगाउने केटो म तिमीबाट कोसौँ दूर जो आएको छु आज। मैले यसो किन भने भन्ने सोच्दै होलाऊ है तिमी? धेरै सोचेर आफ्नो कलिलो मस्तिष्कलाई धेरै भार नदेऊ प्रिय! तिमीले मलाई भन्थ्यौ नि, 'यदि म सकुशल त मेरो परिवारको सम्पूर्ण सदस्य सकुशल।' हो, त्यही भएर मैले त्यसो भनेको हुँ।
तिमीले मलाई प्रेम र सद्भावले भरिपूर्ण भएको बोराहरू दियौ। तर प्रियसी, तिमीले बोराको मुख बाध्न बिर्सिएछौ नि। तिमीले छाडेर गएपछि ती सबै प्रेम र सद्भाव छरपस्ट भयो। छरपस्ट भएको आज पनि वर्षौं बितिसक्यो। ती छरपस्ट भएजति सबै प्रेम र सद्भाव त्रिपालमा बिस्कुन सुकाए जसरी सुक्दथे, मेरो यो छातीलाई त्रिपाल बनाई।
बेलाबेला भगेरा आउँदथे तिनै बिस्कुन टिप्न। तर, त्यत्रो बोरामा भरिपूर्ण भएको प्रेम र सद्भावको बिस्कुन कसरी पो टिपेर सक्थे होला र ती भगेराहरुले? तर थाह छ प्रियसी? आजकल त ती बिस्कुन टिप्न भगेरा पनि आउँदैनन्। सायद दिक्क भइसके होलान् तिनीहरु पनि यो छरपस्ट भएको बिस्कुन टिपेर फेरि बोरामा भरि मुख बाध्न।
यत्रो समय बितिसक्दा त त्यो बिस्कुन पनि कस्तो-कस्तो भइसक्यो। यसो हेरेको, कति धेरै धुलो र मैलो। त्यही भएर आजकल त्यही बिस्कुन नाङ्लोमा राखेर निफन्ने प्रयास गर्दैछु।
तिमीलाई याद छ प्रियसी? एकदिन तिमी बिरामी भएर स्कुल आउन सक्ने अवस्थामा नहुँदा मैले स्कुल जाने भनि आफ्नो घरमा ढाटेर तिम्रो घरमा आएको। तिमीले मलाई त्यो दिन सोधेकी थियौ नि, 'खाना खायौ?' मैले कति हँसिलो हुँदै 'खाएँ' भनेको थिएँ त्यो दिन। तर प्रियसी, तिमीलाई बिराम लागेको पिरमा मलाई के खाना रुच्थ्यो होला र!
त्यो दिन तिमीले मलाई तिम्रो परिवारको अगाडि 'मेरो मिल्ने साथी' भनेर झुटो परिचय दिएकी थियौ नि है? तर, आज हामीबीच त्यही झुटो परिचय दिए जतिको पनि सम्बन्ध छैन। तिमी त मलाई सान्त्वना दिन्छौ नि, 'हामी साथी छौँ नि सधैँ-सधैँको' भनि। तर, रातमा मेरा आँखाबाट खसेका ती आँसुका कारणले ती सबै सान्त्वना फिक्का-फिक्का हुन्छन्।
अब तिमी आफै भन न, ती फिक्का सान्त्वनाहरूलाई म के गरौँ? मनमा सजाएर राखौँ भने मनले फिक्का हैन, तिमीजस्तै रंगिन भावनाहरु मात्र संयोजन गर्न खोज्छ। नदीमा बगाइदिउँ भने विचरा ती स-साना माछाहरुको घर नै फिक्का-फिक्का हुन्छ।
अनि सुन न साँच्ची, तिमीलाई त्यो दिन याद छ जुन दिन हामी दुवै एक भएका थियौँ, सधैँ एक भई बस्ने बाचा बन्धन गरेर? सायद भुल्यौ होला है? आऊ आज म तिमीलाई त्यो दिनको स्मरण गराउँछु। त्यो दिन थियो, कात्तिकको ५ गते। मैले तिमीलाई हेरेर प्रेम प्रस्ताव राख्ने हिम्मत बटुल्न नसकेर मेसेन्जरमै प्रेम प्रस्ताव पठाएको थिएँ नि।
तिमीले त्यो दिन कति सजिलै भनेकी थियौ, 'सोचेर बताउँछु नि है।' त्यो बेला मसँग 'हुन्छ' भन्न बाहेक केही विकल्प नै थिएन। भन्न पनि त्यही भनेको थिएँ मैले। तर हेर न, आजसम्म पनि मेरा लागि विकल्पको संख्या बढ्न सकेको छैन। अहिले पनि मेरो एउटा मात्र विकल्प छ, तिम्रो यादमा रात कटाउने। दिन त मेरो त्यसै कट्छ।
तिमी मलाई खुब हँसाउथ्यौ नि, मेरो लागि हाँसोको पात्र भएर। तर प्रियसी, आज म तिम्रो लागि मात्र हैन, सारा फ्रेन्ड सर्कलको लागि हाँसोको पात्र भएको छु। 'अझै मुभ अन हुन सकेको छैन। खुब प्रियसी प्रियसी भन्दै त्यो नक्कलीको पछि लाग्थ्यो नि!' भन्दै मलाई हाँसोको पात्र बनाउँछन् अरे उनीहरु। यो सब सुन्दा खुब याद आउँछ मेरो विरुद्धमा कोही बोल्दा तिमीले ती अरुलाई गरेका गालीहरु।
गतिका नियमहरु मध्ये तेस्रो नियममा न्युटनले हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भनेझैँ मेरा सामुन्ने घट्ने हरेक घटनाको क्रियाले तिम्रै प्रतिक्रिया खोज्दछ। अर्थात्, हरेक क्षणमा मसँग केही क्रिया हुँदा त्यसको प्रतिक्रिया स्वरूप तिम्रै झल्को आउँछ, तिमी यहाँ भएकी भए के गर्थ्यौ होला है भनेर।
हामीलाई विज्ञान पढाउनु हुने सरले भन्नुहुन्थ्यो, 'क्याटलिस्ट दुई किसिमका हुन्छन, नेगेटिभ र पोजिटिभ। नेगेटिभ क्याटलिस्टले रेट घटाउँछ र पोजिटिभले बढाउँछ।' आज तिम्रा ती यादहरुले मेरो जीवनको गतिमा नेगेटिभ क्याटलिस्टको रुपमा भूमिका निर्वाह गरिरहेका छन् भने तिमीले मलाई दिएको धोकाको बदलामा पाएको प्रेरणाले मेरो जीवनको गतिमा पोजिटिभ क्याटलिस्टको रुपमा भूमिका निर्वाह गर्दै आएका छन्। दुवैलाई सन्तुलित बनाई जीवनको गति नर्मल रुपमा चलाउन कोसिस गर्दैछु।
'गर्दैछु कोसिस
तिम्रा यादहरु संगाली
प्रेरणाका श्रोतहरु अंगाल्ने
मानौं कोही देशको माया संगाली
विदेश पलायन हुँदैछ।'
आज मैले लेखेको यो चिठी तिम्रो लागि लेखेको अन्तिम चिठी हुनेछ। लेख्दिनँ म तिम्रा लागि थप चिठीहरू, थप लेखहरु, थप कविताहरु। बरु म लेखिएको तिम्रो नाम मेटाउने कोसिस गर्छु, चाहे त्यो इरेजरले होस् या टिपेक्सले।
अन्तिममा तिमीलाई मैले एउटा प्रश्न गर्न चाहे है, 'आफ्ना केही स्वार्थ पूरा भएपछि अरुलाई दुःखी बनाई सम्बन्ध तोढ्दा कस्तो अनुभव हुँदो रहेछ?'
उहीँ तिम्रो एक्स प्रेमी,
पागलनाथ बेवारिसे।