तिमी यसरी मुस्कुराइदेऊ कि
मुस्कानलाई पनि कहिलेकाहीँ लागोस्
म त आजसम्म मुस्कुराउनै जानेको रहेनछु
तिमी यसरी हाँसिदेऊ कि
लाली ओठहरुलाई पनि लागोस्
मैले त आजसम्म हाँस्नै सिकेको रहेनछु
तिमी यसरी लजाइदेऊ,
कि लज्जावती झारहरुलाई पनि लागोस्
हामी त के लजाउँदो रहेछौ, लज्जा त अर्कै रहेछ
तिमी यसरी बोलिदेऊ कि
आवाजहरुलाई पनि लागोस्
हामीलाई त यहाँ बोल्नै नआउँदो रहेछ
तिमी यसरी कपालहरु फिँजाइदेऊ
कि फिँजिने ती केसहरुलाई पनि लागोस्
सारा जीवन केश बाँधिगएछ
तिमी यसरी नजरले हेरिदेऊ कि
नयनहरुलाई पनि लागोस्
हामीले त आजसम्म हेरेकै आधी भएछ
तिमी यसरी गाँजल लाइदेऊ
कि गाजलहरुलाई पनि लागोस्
परेलीहरुमा चड्नै सिकाउने कोही भएनछ
तिमी यसरी सिउँदो खाली कोरेर बसिदेऊ कि
तमाम सिउँदोहरुलाई पनि लागोस्
सिन्दुरमा मात्र सिउँदोको शोभा रहेनछ
तिमी यसरी गाइदेऊ
कि गीतहरुलाई पनि लागोस्
गाउने कोही आज त खास आएछ
तिमी यसरी फुलिदेऊ
कि फूलहरुलाई पनि लागोस्
यहाँ पहिलो पटक वसन्त विशेष छाएछ
तिमी यसरी मातिदेऊ कि
नसाहरुलाई पनि लागोस्
आज बल्ल पो भुलिएछ
तिमी यसरी खुलिदेऊ कि
आकाशलाई पनि लागोस्
हत्तेरी आजसम्म बेकारै खुलिएछ
वर्णन तिम्रो आज फेरि आँखाले हैन
म शब्दै शब्दले गर्दैछु
आफैँ हराइ तिमी भित्रै
म निस्तब्धै गर्दैछु
भन्दिनँ केही, बस् यत्ती भन्छु फेरि
मलाई नलागोस्, भन्न केही बाँकी भएनछु
तिमी यसरी उन्मुक्त भइदेऊ कि
एक पटक मानिसहरुको जवानीलाई पनि लागोस्
आजसम्म त म जवान भएकै रहेनछु
तिमी यसरी उन्मुक्त भइदेऊ
कि एक पटक मानिसहरुको जवानीलाई पनि लागोस्
आजसम्म त म जवान भएकै रहेनछु!