कहिलेकाहीँ के हुन्छ खै! मन त्यसै आत्तिएर आउँछ, छटपटी बढ्छ, रिस उठ्छ, बोल्न मन हुँदैन, भौतारिँदै हिँड्न मन लाग्छ। सायद तपाईंलाई त्यसो हुन्छ या हुन्न? मलाई थाहा छैन तर कहिलेकाहीँ यस्तै अनुभव गरिन्छ झैँ लाग्छ। त्यसैले कसैको जीवनमा मेल खाए संयोग मात्र हुनेछ।
शनिबार अफिस जान नपर्ने दिन भएकोले साथीभाइसँग जमघट गर्ने योजनामा थियौँ। त्यसैले शुक्रबार चाँडै सुत्छु भनेर सुतियो। तर बिहान उठ्दादेखि नै टाउको भारी भए झैँ भयो। ओछ्यान छोड्ने मन भएन सायद बिहानको दश बजेसम्म सुतेँ। जीउ आलस्य भए झैँ लाग्यो अनि यसरी हुँदैन भनेर नुहाइधुवाइ गरेर फ्रेश भएँ। त्यसपछि साथी यमनलाई कल गरेँ।
'कति बेला भेट्ने?'
साथीको उत्तर 'बेलुका चार बजे तिर बानेश्वर भेटौ!'
मैले नि 'हुन्छ' भनेर कल राखेँ।
बल्ल बिहानको ११ बज्दै छ। अझै पाँच घण्टा कसरी बिताउने? त्यसमाथि टाउको दुखेर सास्ती थियो। भोक लागेर होकि झैँ लागेर होटलमा गएर खाना खाएँ। त्यसपछि केही राहत भएको महसुस त भयो तर चटक्कै निको भएको थिएन। खैर, चार बजाउन हम्मेहम्मे पर्ने भयो।
होस्! बाइक लिएर एकछिन घुम्छु भनेर लागेँ। अरु दिन स्वयम्भू गएर आउँदा दिन बित्ने, आज भने तीन बजेसम्म बौद्ध, बुढानिलकण्ठ पुगेर पुरै चक्रपथ घुम्दा कति छिटो भाको हो भन्दै वाक्कै भैसक्या थिएँ। त्यसपछि बानेश्वर पिपल बोटमा बसेर साथी कुर्न थालेँ। साथीले कल गर्यो, 'कहाँ छस्?'
पिपल बोट भनेको मात्र थिएँ, आइपुग्यो।
म: यमन ओइ!
यमन: हँ भन्न।
म: काले र गफाडीलाई नि बोलान तँ छिटो, वाक्क भैसकेँ कतिबेर बस्नु! (काले- घनश्याम, गफाडी- नारद)
यमन: काले, बानेश्वर छिटो आइजो न।
काले: ह्या मुला टेन्सन भैराछ, आउदिनँ।
यमन: के भो फेरि? झन् हिजै भन्या हैन?
काले: हो तर मन छैन!
यमन: जेसुकै होस् आइज खुरुक्क।
काले: ल ल, एकछिन बस्।
यमन: ओके
यमनः ओइ गफाडी, छिटो आइज।
गफाडी: चार बजे भन्ने अनि साढे तीनमै बोलाउँछ। ल ल, आइहालेँ।
केहीबेरमै जमघट हुन्छ सबैको।
'कतिबेर यहाँ बस्ने जाउँ कतै! कतै बसेर कफी खाँउ, लास्ट टेन्सन भाछ,' घनश्यामले भन्यो। सबैले एक स्वरमा भन्यौं 'जाने तर कता?'
'ठिकै छ जाउँ अहिले उ त्यो कफी शप!'
कफी सप पुगियो। हामी बस्न मिल्नेजस्तो एकान्त स्पेस रैछ। त्यसैले सहज पनि भयो। हामीले चार वटा कफी मगाएका थियौँ। एकछिन समय लाग्ने भयो, हामी गफिन थाल्यौं।
म: आज दिन बिताउन तनाव नै भयो, कहिले कट्ला भयो नि।
यमन: तँलाई त्यस्तो तनाव भाको भए मेरो रुम आको भए हुन्थ्यो त।
म: ह्या, त्यसै टाउको भारी थियो अनि तँ पनि एक्लो हैन। त्यही भएर आइनँ।
म: अनि घने तलाईं के भो? बोल्नै खोज्दिनस् त!
घनश्याम: यसो हप्ता, पन्ध्र दिनमा साथीभाइ भेट्न मन हुन्छ बुढीको किचकिच त्यही हो।
यमन: त्यस्तै हो मेरो नि तर मलाई छिटै आउनु भनेर भन्छे।
नारद: खुब बिहे गरेसी जिन्दगी बबाल हुन्छ भन्या थियौ त तिमीहरु। बरु हामीलाई आनन्द छ है रमेश। ( रमेश- म)
म: खै यार, तलाईं होला मलाई बिहेको तनाव छ।
नारद: कसरी?
म: घरमा अनि आफन्तले 'बूढो भैसकिस् कहिले बिहे गर्छस्?' भन्नुहुन्छ। अनि यता आफ्नो जागिर सबैलाई आँखा लाग्छ तर आफ्नो तलबले के खाने के लाउने हुन्छ। अनि बिहे गरेर कसरी बुढी पाल्नु?
यमन: बुढीलाई नि जागिर गराउने नि।
यतिकैमा कफी आइपुग्छ।
कफीसँगै गफ गर्दै गर्दा नारद भन्छ, लास्ट तनाव भाको बेला कफीमै चित्त बुझाएर जाने हो?
यमन: के दारु खान मन लाग्यो तँलाईं?
नारद: अनि के त! दुई महिना भैसक्यो नखाको, के भन्छस् ओइ काले अनि तिमीहरु के भन्छौ?
म: टाउको भारी भाछ नखाउँ हौ आज, अर्को दिन खाउँला।
यमन: खाने भए ओके तर कहाँ जाने?
घनश्याम: टाउको भारी भाको भए शान्त हुन्छ नि।
म: भोलि ह्याङ्गले अफिस जान सकिएन भने जागिर चैट होला। त्यसमाथि मैले जागिर गर्या परीक्षणकाल नै सकिएको छैन।
नारद: कि खान्छ छोराले कि खान्छ घोडाले, लिमिटमा खाने नि।
म: कहाँ जाने त उसो भए?
हतार-हतारमा नारद तेरोमा जाने नि भन्छ अनि यमन र घनश्यामले नि होमा हो मिलाउँदा हुन्न भन्न सक्दिनँ। कफी खाइसकेपछि सबै मिलेर मेरो कोठामा आइपुग्छौँ।
मेरो रुम टप फ्लोरमा छ। छतमा जान आउन रोकटोक हुने कुरै भएन। दारु रुममा बसेर खाए नि छतमा बसेर खाए नि फरक थिएन। तर समस्या भन्या गर्मीको मौसम भएकोले घरबेटी र अन्य रुमका मानिस पनि शीतल खान रात नौ बजेसम्म छतमा बस्छन्। त्यसमाथि म दारुपानी खान्छु भन्ने कसैलाई थाहा छैन।
अब योजना मुताबिक सबै तयार गरियो, बाँकी भन्या घरबेटी र डेरावालको बिदाइको पर्खाइमा थियौँ। त्यतिन्जेल भन्साको काम सकाउने योजना गर्यौं र भान्सा तयार गर्यौं। यति सक्दा करिब नौ बज्नै लाग्यो र सबैजना छतमा गयौँ।
घरबेटी आमा: बाबु रमेश, आज साथीभाइ जमघट रैछ त। सबै कलेजका कि अफिसका कि गाउँकै साथी हौ?
म: यो यमन गाउँकै बच्चैदेखिको साथी हो, यो गफाडी र काले कलेज भेट्दाको साथी हुन् तर हामी एकै प्रदेशका हौँ।
घरबेटी आमा: ल रमाइलो भयो आज तिमीलाई, कहिलेकाहीँ साथीहरूसँग नि रम्नु पर्छ। तिमी साह्रै असल छौ, अरु जस्तो फट्याइँ गर्दैनौ। दायाँबायाँ लप्पनछप्पन छैन। साथीहरूसँग चाहिँ रम्नुपर्छ। नत्र एकलकाटे हौला है, नत्र मान्छेले गन्न छोड्लान होस् गर।
नारद: त्यही त आमा यो यसो चिया खाउँ आइज भन्दा नि ह्या जान्छु भन्छ, कि आमा, यो रूम आएर केही गर्छ? हामीलाई गन्दैन यसले, चाल निको लागेन मलाई त।
घरबेटी आमा: सबैमाथि खोट लगाउनू तर रमेशमाथि होइन। बाबु बसेको यत्तिका वर्ष भयो आजसम्म मैले खोट लगाउने ठाउँ भेट्या छैन। अहिलेका केटाहरु जाँडरक्सी, चुरोट, खैनी, गर्लफ्रेन्ड नबनाउने कोही छैन तर बाबुको त्यस्तो केही थाहा पाएको छैन। सुटुक्क काम गर्लान् जस्तो नि लाग्दैन।
नारद: यो छुपारुस्तम छ आमा, मनको कुरा खोल्दैन। मलाई त शंका लाग्छ तर पनि शंका गर्ने ठाँउ नि छैन।
घरबेटी आमा: ल खानासाना खाऊ, साथीभाइ गफ गर, हामी चाहिँ सुत्न गयौँ।
हामी सबै: हस् आमा, गुड नाइट।
घरबेटी आमा: हस् बाबुहरु, गुड नाइट।
अब भने माथि सबै खाली भयो। हामी चारजना मात्र भयौँ र हतार-हतारमा तल गएर माथि आउने गेट लगाएँ। माथि आएर योजना मुताबिक मदिरापान गर्ने तयारी भयो।
क्रमश: