सामुदायिक स्कुलको हेडमास्टर हुनुका अनेक पीडा छन् मसित। शिक्षा प्रशासन चलाउने राज्यका निकायहरुले बेलाबेलामा हेडमास्टरलाई नै टोकस्छन्। यो भएन, ऊ भएनका अपजस, यसो गर उसो गरका अनेकन ताकेताहरु बेलाबेलामा टाउको ठोक्न आइराख्छन्। अर्कातिर अभिभावक वर्गको ट्वाक-ट्वाक र गुनासो हेडमास्टर उपर नै बर्सिन्छ।
'छाडा मास्टर पढाँउदै पढाउँदैनन्। कुर्सीमा बसेर जागिर पकाएका छन्। हेडमास्टरले कडाइका साथ काम लाउनै सकेन!' यस खालका टिप्पणीहरु अनेकचोटि सुनिसकेको छु।
मास्टरका आफ्नै वेदना छन्। उनीहरु ओल्टोकोल्टो छलिएर छलिएर म उपर नाखुस रहेको पीडा छादिबस्छन्।
'हेडमास्टरले अति पेलेको छ। हाम्रो पनि घरपरिवार छ। हाम्रो पनि निजी जीवन छ। कुनै पनि सरकारी स्कुलमा यति टाइट ड्युटी हुँदैन होला। घडीको सुइ त होइन नि हामी। मान्छे हो घडीको सुइको तालमा कहाँ कुद्न सकिन्छ!'
चाहिँदा नचाहिँदा गुनासा, आरोप र फत्तुरहरु सुन्दा-सुन्दा अब त मेरो मन दिन परदिन जड बन्दै गएको छ। हृदय संवेदनहीन बन्दै गएको छ। साथै कुन जायज कोणबाट आएका हुन्, कुन नाजायज कोणबाट आएका हुन्, त्यसलाई भने तत्क्षण पर्गेल्न सक्ने भएको छु। र, आरोपका लागि आरोपको मनसायबाट प्रेरित टिप्पणीलाई कान दिन छोडिसकेको छु। मान दिन छोडेको छु। यीप्रति बढी नै निस्पृहताको भाव साँच्नथालेको छु।
भन्न त उनीहरु मलाई हेडमास्टर थेत्तरो बन्दैछ, कति गर्दा पनि हाम्रो कुरा सुन्दै सुन्दैन भन्छन्। तर मैले मेरो विवेक विपरीतका कुराहरुमा उदासिनता अर्मलेको कुरा बुझ्न सकेका छैनन्। जे सही र ठिक चिज हो, त्यसलाई भने गर्न छोडेको छैन।
आफ्नो बुताले भ्याएसम्म, आफ्नो ब्रह्मले देखेसम्मका कर्महरु दृढताका साथ पूरा गर्दै गएको छु। त्यसको मूल्यांकन आज होस् या नहोस् त्यसको रत्तिभर पर्वाह पनि छैन। जति दिन शिक्षण पेसामा रहन्छु, त्यति दिनसम्म मैले नानीहरुप्रति अभिभावकप्रति न्याय गर्नुपर्छ, नुनको सोझो चिताउनुपर्छ र ठूलो होस् या सानो होस्, धेरै होस् या थोरै होस् सुकर्मकै श्रृंखलालाई बढोत्तरी गर्नुपर्छ। यही सोच र संकल्पको मूलधारामा निरन्तर बगिरहेको छु।
गुणस्तरीय शिक्षाको अभिवृद्धिका लागि केही योजना बनाउँछु। कार्यान्वयनमा लैजान खोज्छु। कुनै आर्थिक लागत नलाग्ने काम त गर्न सजिलै हुन्छ। तर, पैसाको लगानी चाहिने कार्यक्रमहरु अर्थ-अभावमा अधुरा रहन्छन्। स्रोतसाधनको न्यूनता र बजेटको अभाव एक चुनौती बनेर उभिदिन्छ।
बच्चासित मासिक फी लिन मनाही छ। नगरपालिकामार्फत् आउने बजेट शिक्षक कर्मचारीको तलबभत्ता हो, पाठ्यपुस्तक खरिदको रकम हो, थोरै छात्रवृत्ति र मसलन्द बापतको रकम हो। जुन-जुन शीर्षकमा आएको हो तत् तत् शीर्षकमा धौ फुकाएर खर्च गर्न पनि नपुग्ने खालको हुन्छ। अर्थात् तलबभत्ता बापत आएको रकम शिक्षक कर्मचारीलाई वितरण गर्नु परिहाल्छ।
पाठ्यपुस्तक बापत आएको पैसा बच्चालाई किताब किन्न पनि पुग्दैन। वर्षेनी पच्चीस प्रतिशत अधुरो बजेट निकासा हुन्छ। केटीहरुलाई वर्षको चार सयका दरले छात्रा छात्रवृत्ति र दलित छात्रवृत्ति आउँछ। त्यो पनि सोही प्रयोजनमा वितरण हुन्छ। अब अरु थप कार्यहरु गर्नलाई योजना बनायो भने स्रोतसाधनका अभावमा तड्पिनु पर्छ।
यसपालि अनेकन निकायमा दौडधुप गरेर विद्यालयकै थोपो-छिटो जोरजम्मा गरेर केही नयाँ कामको थालनी गरेँ। एउटै टोलबाट दुई थरी बच्चा निस्किन्छन्। एकथरी दुई चुल्ठी बाटेर कपाल कोरेर, तेल लगाएर, आइरन दलेका पोशाकमाथि टाईबेल्ट बाँधेर पिठ्यूमा गतिलो झोला भिरेर हातमा टिफिनबक्स र पानीको बोतल सहित जुत्तामोजामा लगाएर निस्किन्छन्। अर्को थरी धुस्रैफुस्रै सरसफाइ र पोशाक परिधानको पनि कुनै पर्वाह नगरी हातमा गाता फुक्लेका किताब च्यापेर निस्किन्छन्।
पोशाक र टाईबेल्टमा सजिएका बच्चाको शानै अर्को छ। अभिमानै अर्को छ। ती सटासट सडकपारिको निजी स्कुलभित्र छिर्छन्। यता धुस्रैफुस्रै आएका नानीहरु उनीहरुको नजरमा हिनताबोधले गलेका छन्। भित्रभित्र ईर्ष्याले जलेका छन्। मानौँ उनीहरु मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो लागेजस्तो लय र तालमा लुत्रुक-लुत्रुक सरकारी स्कुलतिर छिरिरहेका छन्।
एउटै टोलको सरहदभित्र दुई खालको शिक्षा छ। हुनेखाने टाठाबाठाहरुले बच्चा निजी स्कुलमा हुलेको छ। विपन्न, दलित, सीमान्तकृत, गरिब र नसक्नेले सरकारी स्कुलमा पठाएको छ।
सरकारी स्कुलका अभिभावक र बच्चाहरुको हिनताबोध तोड्नकै लागि यस शैक्षिक सत्रबाट तीनवटा कार्यक्रमको थालनी गरेँ। पहिलो कुरा स्कुलले नै प्रत्येक बच्चाहरुलाई एकचोटिको लागि टाईबेल्ट वितरण गर्ने, प्रत्येक विद्यार्थीलाई खाजा बोक्नको लागि टिफिनबक्स दिने र घरमा आर्थिक आधार नभएका बच्चाबच्चीलाई पहिचान गरी कापीकलमको लागि निश्चित रकम छात्रवृत्ति स्वरुप उपलब्ध गराउने। यसको लागि अनेक चारणमा अभिभावकसित छलफल अन्तक्रिया गरियो। उनीहरुलाई अनुशिक्षण गरियो।
यस कार्यक्रमले नानीहरु पनि गद्गद भए। अभिभावकहरुको चेहेरामा पनि एउटा रौनक छायो। हिजोसम्म अनुहार र कपडा लेग्रोमेग्रो पारेर स्कुल आउने नानीहरु कोरीबाटी गरी विद्यालय पोशाकमा टाईबेल्ट भिरेर गेटबाट छिर्न थाले। स्कुलमा खाजाको मुखै नदेखेका नानीहरुपनि टिफिन बक्समा मकै भटमास, चिउरा, मुराइ, रोटी, पुवा, भात-तरकारी बोकेर आउन थाले।
गरे के नहुँदो रहेछ त? एक किसिमको आत्मविश्वासको भाव भर्यो सबै सरोकारवाला निकायमा। विद्यालयले थालनी गरेको सानो प्रयासले विद्यार्थीको अनुशासन, सिकाइ उपलब्धी र पठनपाठनको तहमा पनि केही सकारात्मक परिवर्तनका लक्षणहरु देखा पर्न थाले।
कडाइ गर्दागर्दै पनि सयकडा तीस प्रतिशत बच्चाहरुलाई सही ट्र्याकमा ल्याउन सकिएको छैन। तीमध्ये कतिले टिफिनबक्स नबोकी स्कुल आउँछन्। कति टाईबेल्ट नलगाई आउँछन्। कति कापी-कलम नबोकी आउँछन्। त्यस्ता बच्चाहरुको विशेष निगरानी र अनुगमन गर्न थालेको छु।
विद्यालयले लगाएको नियम पालना नगर्नेलाई केरकार गर्न पनि थालेको छु। मेरै कार्यकक्षमा दाखिला गरिसकेको छ फगुनी, भोटुराम र खिलानाथलाई कार्यालय सहयोगीले। उनी कुनै अपराधीले जस्तो शीर झुकाएर मेरो सामु उपस्थिति छन्। उनलाई कुटपिट गर्न बोलाएको होइन। तथापि आज हेडसरको हातको रामधुलाइ भेटिने भो भन्ने भावमा उनीहरुको चेहेराको रंग फुङ्ग उडेको छ।
फगुनीलाई नजिक बोलाएँ। ऊ डराइ डराइ मेरो सामुन्नेमा आई। ऊ पाँच कक्षामा पढ्छे। मुस्किलले ११/१२ वर्षकी भई होला। ओठभरि लाली पोतेकी छ। त्यो पनि ढंगले मिलाएर होइन। मानौं कसैको लाली चोरेर हतारमा लाउँदा त्यस्तो भएको होस्। भद्दा रुपमा रातो ओठमा पोतेकी छ। उसका खुट्टा थुरथुर कामिरहेका छन्।
'फगुनी!'
'हजुर सर!'
'डर लागेको छ! किन डराएकी? मैले तिमीहरुलाई पिट्न बोलाएको होइन त। डराउनु पर्दैन। मैले त कुराकानी गर्न पो बोलाएको त। नढाँटी सोधेको कुरा भन्यौ भने यी चोकोफन दिन्छु। ढाँट्यौ भने लौरो पनि खान्छौ। हुन्छ कि हुँदैन भन त?' मैले हातमा चोकोफन देखाउँदै प्रलोभित गर्न खोजेँ।
'हुन्छ सर, नढाँटी बोल्छु' मधुरो आवाज निकालेर उसले स्वीकृति जनाई। म फटाफट प्रश्न सोध्न थालेँ।
'तिमीले एक हप्तादेखि सरहरुले दिएको पाठ लेखेकी छैनौ हो?'
'हो सर!'
'किन नि?'
'कापी-कलम छैन सर!'
'तिमीलाई कापी-कलम किन्नकै लागि एक हप्ता अगाडि छात्रवृत्ति दिएको होइन?'
'हो सर!'
'के गर्यौ त त्यो पैसा?'
ऊ चुपचाप टोलाइरही। केही बोलिन। उसको मौनतालाई तोड्न खोजेँ।
'कि पैसा हरायौ?'
'होइन सर!'
'अनि के गर्यौ त? घरमा तिम्रो बा छैनन्। आमाले कापी कलम किनिदिन सक्नुहुन्न भनेरै वर्षदिनभरि लेख्न चाहिने कापीकलम किन्नको लागि सबैको सामुन्नेमा दिएको होइन रकम!'
'त्यो पैसा सबै आमाले नै मासिदिनु भयो!'
'केमा मासिदिनु भएछ। यो मेरो कापी कलम किन्ने पैसा हो भनिनौ र?'
'भनेको हो। तर, आमा बुधबारे बजारमा गएर किनमेल गर्नुभएछ।'
'के-के किनमेल गर्नुभएछ?'
'आफूलाई चुरा, लिपिस्टिक, पाउडर... मलाई पनि चुरा... सल, स्यान्डल र चाउचाउ किनेर सक्नु भएछ।'
उसका कुराले मेरा आँखा अब उसका कलिला नाडीतिर ओर्ले। उसका नाडी त बुच्चै छन्। एउटा पनि चुरो छैन।
'चुरा त ला’की छैनौ त?'
'चुरा त आमाले आफैँले लाउनु भएको छ।'
फगुनीलाई त्यसभन्दा बढी केरकार गरिराख्नु आवश्यक देखिनँ। समस्या फगुनीमा रहेनछ। समस्या उसकी आमामा रहेछ। कापी-कलम किन्न दिएको पैसाले लिपिस्टिक किनेर उनले आफ्नो ओठ रङ्ग्याएको कुरा बुझ्न मलाई गाह्रो भएन। आमाले किनेकै लिपिस्टिकको निशानी फगुनीका ओठमा अद्यापि टल्किरहेको छ।
'ल तिमी अहिले जाऊ!' एउटा चोकोफन दिँदै उसलाई कक्षाकोठातिर पठाएँ।
मेरो सामुन्नेमा छ भोटुराम। उसको अनुहार पनि मलिन छ। तथापि हेडसरले कुट्न चाहिँ कुट्नु हुन्न भन्ने निश्चिन्तता उसको आँखा तैरिएको देख्न सकिन्छ।
'भोटुराम, के छ खबर?'
'ठिकै छ सर!'
'ठिक छ कि बेठिक छ हौं? ठिक भए त अफिसमा आउनु नपर्ने हो।'
ऊ अक्कमक्क परिरह्यो। केही बोलेन। अर्थात् बोल्नलाई ऊसित कुनै विषयवस्तु नै रहेन।
'होइन, बोल्दैन त भोटुराम। बोल्न सक्दैन कि क्या हो यो मान्छे!'
'होइन सर! म बोल्न सक्छु।'
'अँ भन त, तिमीलाई हामीले दिएको टाई-बेल्ट एकहप्ता त लाएरै आयौ, त्यसपछि त टाई-बेल्ट बिनै आउन थाल्यौ, के भयो?'
फेरि कुनै जवाफ दिन सकेन।
'के हरायौ? मुसाले खायो? कि घरमै छ?' मैले कडा स्वरमा झपारेँ।
फेरि नबोलेरै जित्न खोज्यो।
'ए! श्यामबहादुर भाटो लेऊ लेऊ। यसले जवाफै दिएन त!' मैले डर देखाएपछि ऊ बोल्यो, 'टाईको त ढाकरको नाम्लो बनाएर भारी खेप्न बाउ हाट गएका छन्।'
'नाम्लोऽऽ! कताको नाम्लो बनाको त स्कुलको टाईलाई!'
'हो सर, म घाँस काट्न गएको थिएँ। सिँगौरामा झुण्ड्याएको थिए। ढाकरको नाम्लो फाटेछ। बाउले बरियोमा गाँसेर नाम्लो बनाइदिएछन्। म घरमा आइपुग्दा भारी खेप्न हाट गैसकेका रैछन्। आमासित रुएँ। फेरि किन्दिन्छन् भनिन्!'
भोटुरामले तप्प दुई थोपा आँसु चुहायो। उसको बाबु काल्चेलाई म राम्ररी चिन्छु। पोहोर साल पनि भोटुरामलाई दिएको छात्रवृत्तिको रकमले जाँड खाएर तीन दिन शुक्रबारे हाटमा लम्पसार परेको हो। यसपालि पैसा त चप्काउन भ्याएनछ। तर, स्कुलले छोरालाई दिएको टाई ढाकरको नाम्लो बनाएर आफ्नै थाप्लोमा टाँसेछ।
'धिक्कार छ काल्चे तेरो जिन्दगी!' मेरा ओठबाट अनयास शब्द फुत्किए।
भोटुरामलाई पनि यसभन्दा बढी केरकार गरिराख्नु आवश्यक देखिनँ। समस्या भोटुराममा रहेनछ। समस्या उसको बाबुसँग रहेछ।
'ल तिमी अहिले जाऊ' एउटा चोकोफन दिँदै उसलाई पनि कक्षाकोठातिर पठाएँ।
मेरो सामुन्नेमा खडा छ आजको केरकारको अन्तिम विद्यार्थी खिलानाथ। खिलानाथ माथि आरोप छ विद्यालयले वितरण गरेको टिफिनबक्स नबोकी ऊ विद्यालय आउँछ। खाजा खाने बेलामा ऊ आफ्नो खाजा कहिल्यै खाँदैन। अरु कै खाजा मागेर खान्छ। घरबाट खाजा लिएरै नआएपछि मागी खानु स्वभाविक पनि हो।
कक्षामा ऊ चंख चतुरो पनि छ। पढाइलेखाइमा सिपालु पनि छ। साथीभाइहरुलाई फस्ल्याङ फुस्लुङ पारेर मन जित्ने कला पनि छ। खाजा नलिइकन आउँछ। तर, कुनै दिन भोको पर्दैन। कुनै न कुनै दाउजुक्ति झिकेर साथीहरुको खाजा हाता पार्ने कला ऊसित छ।
ऊ चतुरो मात्र होइन हक्की पनि छ। गाउँका कट्टर बाहुन चामु पाध्येको नाती हो ऊ। अझै पनि उसको घरमा सनातनी ब्राह्मण परिवारको आचार व्यवहार कायम छ।
'ओई खिलानाथ पाध्ये, स्कुलले विद्यार्थीहरुलाई टिफिनबक्स किन बाँडेको थियो?' हाजिरी जवाफी तालमा मैलै प्रश्नको शरवर्षा गरेँ।
'खाजा बोक्न सर!'
'स्कुल आउँदा खाने खाजा बोक्न कि गोठमा लैजाने खाजा बोक्न दिएको हो?'
'स्कुलको लागि खाजा बोक्न दिएको हो सर!' केटो अलिकतिपनि नधकाई जवाफ दिइरहेको छ।
'त्यसो भए टिफिनबक्स वितरण गरेको दिनदेखि एकदिन तिमीले खाजा बोकेर ल्याएको छौ?'
'छैन सर!'
'खाजा ल्याएर नखाने भए टिफिनबक्स भोलि स्कुललाई फिर्ता गर्नुपर्छ।'
'सर, आमैले त्यसमा त घिउ राखेकी छिन्!'
उसको जवाफले म छाङ्गाबाट खसे तुल्य भएँ। केटालाई खाजा बोक्न दिएको खाजाबक्स आमैले घिउ राख्ने भाँडा बनाइछन्।
'घिउ खन्याएर पनि ल्याउनुपर्छ।'
'आमैले कन्तुरमा भोटोताल्चा लाएर थुनेकी छिन्। कति चोटि भनिसकेँ दिँदै दिन्नन्।'
'अनि मैले खाजा लानुपर्छ भनेनौ?'
'वर्तमन गरेको बाहुनको छोराले घर बाहिर लगेर केही खाने होइन भन्छन् सर। मलाई खाजा बोकेर जाँदा जात जान्छ भन्छिन्।'
खिलानाथ पाध्येलाई पनि यसभन्दा बढी केरकार गरिराख्नु आवश्यक देखिनँ। समस्या खिलानाथमा रहेनछ। समस्या उसकी बजैमा रहेछ।
'ल तिमी अहिले जाऊ' उसलाई पनि एउटा चोकोफन दिँदै बिदा गरेँ। माल पाएर के गर्नु चाल नपाएपछि! नातीलाई स्कुलको खाजा बोक्न दिएको खाजा बक्स आमैले घिउ राख्ने ट्यामी बनाइदिइन्। मेरो मन दिनभरि नै रन्थन्निरह्यो अभिभावकको बुद्धि सम्झेर।
भोलि दश बजे नै फगुनीको आमा, भोटुरामको बाबु र खिलानाथकी आमैसित छलफल गर्ने योजना बनाएँ र कार्यालय सहायकलाई तुरुन्तै तीन थान चिठी तयार पार्न लाएँ।
कार्यालय सहयोगीले श्यामबहादुरले घरमै पुगेर चिठी दिएको हो। तर पनि तीनै जना अभिभावक स्कुलमा आएनन्। किन गयल परे, थाहा भएन। कक्षाकोठामा फगुनी, भोटुराम र खिलानाथको खोजी गर्न लाएँ। उक्त दिन उनीहरु पनि स्कुलमा गयल थिए।