बगैँचामा फुलेका फूलहरू
धेरै पानी खाएर माटो भए
फूललाई शकुन्तला चाहिएको थियो
मलाई तिमी चाहिएको थियो
सोधेँ मैले तिमीलाई-
बन्छौ शकुन्तला मेरो फूलहरूको?
बन्छौ शकुन्तला मेरो?
नखाई पहिले हाल्छौ मेरा फूलहरूलाई पानी?
हाम्रो फूलहरूलाई पानी?
मुस्कुराएको तिम्रो मुहार
हाँसोको अर्थ अनेक हुँदो रैछ।
पियुस मिश्रा गाइरहेको छ थोत्रो मोबाइलमा
उज्यालो-उज्यालो हुनेछ हामीले कुटी बनाउने सहर
खुब मनपर्यो तिमीलाई यो गीत
सोधेको थिएँ मैले-
बनाउने हो हामी घर?
बस्ने जोडी परेवाजस्तै जहाँ नहोलान् चिलको डर?
तिमी खुसी भएऊ
खुसीको अर्थ कहाँ एउटा मात्र हुन्छ?
बालन किन मन परेन तिमीलाई?
मैले बजाउने खैँजडीको पुरातन ताल
अलि-अलि जानेको भजन चुड्का त मनपर्थे तिमीलाई
नरोऊ विरहणी- भो रूनु पर्दैन सुनेर
खित्का छुट्ने तिम्रो अधरहरू
अझै गाउन भन्ने तिम्रा अधरहरू
किन भन्दैनन्?
नरोऊ विरही- भो रूनु पर्दैन?
साँच्चै तिमीलाई बालन मनपर्दैन।
जिन्दगी चोरेर राखेको
शकुन्तला, पियुस मिश्राको गीत, बालनको चुड्का
केही छैन,
सबै गए ती तिमीसँगै
यो चोरेको बिम्बको कविता पनि लैजाऊ।