पूर्खाको बलिदान बिर्सिरहँदा चिन्दैन आफैँ पनि
मै जान्ने जड भाव भित्र रहँदा सुन्दैन अर्ती पनि
यो कस्तो दुनियाँ छ मूर्ख धरणी हल्लन्छ कि झैँ भयो
हानाहान छ रे उता सदनमा के हुन्छ नेपाल यो!
छैनन् उन्नतिका सुकर्म जति छन् छल्ने र ढाँट्ने कुरा
बढ्दैछन् व्यभिचार कर्म दिनहूँ बड्दै जुवा वा सुरा
च्यातिन्छन् अझ द्रौपदी वदनका सारी छ अन्याय यो
तानातान छ रे उता सदनमा के हुन्छ नेपाल यो!
भोको पेट लिएर हिँड्छ जनता नेत्रित्व देख्दैन त्यो
नाङ्गो आङ लिएर हिँड्छ समता खै राज्य देख्दैन त्यो
कुर्सी भाँच्न तयार किन्तु मुलुकी सिन्को उठाउन्न त्यो
टोकाटोक छ रे उता सदनमा के हुन्छ नेपाल यो!
हाम्रो साँध मिचिन्छ बोल्न नसकी छन् चुप्प नेता किन
भ्रष्टाचार बढेर व्योम छ छुँदै जो भ्रष्ट त्यही सज्जन
हिंसा राज बढेर त्रस्त जन छन् अन्यायको राज भो
ठेलाठेल छ रे उता सदनमा के हुन्छ नेपाल यो!
सानो छौँ कमजोर राष्ट्र मुलुकी-भात्रित्व सद्बुद्धि हो
उठ्दै छन् अरु उठ्न न्याय समता एकत्व नै शक्ति हो
आफैँ मात्र उठेर राष्ट्र नउठे केको उठाइभयो
हल्ला मात्र छ रे उता सदनमा के हुन्छ नेपाल यो!
साँढेको छ लडाइँ सोच मिचिए हामी रहन्छौँ कहाँ
अप्ठ्यारो छ चढाइ उन्नति त्यसै पाइन्छ खोजी कहाँ
सम्झी राष्ट्र शहिद रक्त नबहे बन्दैन है देश यो
ठोकाठोक छ रे उता सदनमा के हुन्छ नेपाल यो!