'अब क-कस्लाई हटाएपछि हाम्रो टिम पेर्फेक्ट बन्छ हजुर?' रामहरीले हाकिमलाई बिन्ती बिसाए।
'कुकुरको जस्तो बानी-व्यहोरा भएको कपिललाई औपचारीक रुपमै हटायौँ। अब मेरो नजरमा छेपारोजस्ती बेहोरा भएकी झकम्बरी छे। जोसँग पनि मसक्क मस्किने, पर्फेक्सनमा फिटिक्क ध्यान नदिने यसलाई पनि निकालेपछि हाम्रो टिम झनै पर्फेक्ट बन्छ। चम्कन्छ! रामहरीजी...'
आफ्नो महत्वकांक्षी कम्पनी ‘पर्फेक्सन मल्टिपर्पोज’ टिममा आवद्ध सदस्यहरुलाई पर्फेक्ट बनाउन लागेका पूर्णबहादुरसँग एउटा अनौठो सपना छ। यो सपना उनका बाले बच्चैदेखि उनको मस्तिष्कमा नजानेरै ठोसिदिएका थिए। आफ्नै बाले आफ्नै छोरालाई चाहिने नचाहिने सपना किन बोकाइदिन्छन्?
सबै कुरा पर्फेक्ट चाहिने अटेलोफोवियाबाट उसका बा ग्रसित थिए भन्ने कुरा बाले कसैलाई भन्न सकेका थिएनन्। जे पनि पर्फेक्ट चाहिन्थ्यो उनलाई।
हामी सबैलाई बा-आमाले जानेर वा नजानेरै पनि यस्ता केही न केही सपना बच्चाबेलादेखि नै मस्तिष्कमा थुपारिदिन्छन्। परिणामत कोही स्वभाविक देखिन्छ त कोही अस्वभाविक। बा-आमा नभएकाहरुलाई पनि चिन्तै छैन, सित्तैमा दिन सकिने कुरा समाजले सजिलै थुपारिदिन्छ, चाहिँदो नचाहिँदो!
आफूमाथि जानेबेला पूर्णबहादुरुकी आमाले पनि एकपटक फेरि उसका बाबुले उनको लागि देखेको अधुरो, मधुरो सपनामा रङ भरिदिएकी थिइन्। बलिन्धारा आँसु बगाउँदै यो सपना पूरा गर्ने अठोट लिएका थिए उनले।
उनी पर्फेक्ट टिम बनाउँन दिनरात खटिएका छन्। टिममा कोही कमजोर देखियो भने ऊ हट्यो भनेर जाने हुन्छ।
सात जनाको टिममा अहिले दुईजना घटेपछि पाँच जना बाँकी रहेका छन्। त्यही टिममा आवद्ध उनको एउटा विशेष सहयोगी रामहरीको मुख्य काम टिमका सदस्यहरूको कमजोरी पत्ता लगाउनु नै हो। थाहा नपाउने गरी उनले टिमका सबै सदस्यमाथि गहिरो निग्रानी गरिरहेका छन्।
आज सोमबार सधैँ झैँ टिमको विशेष मिटिङ चलिरहेको छ। उनले टिममा सदस्यहरुको कुरा सुन्नेभन्दा पनि आफ्नै उदेश्य लाद्ने आफ्नै मौलिक शैली अपनाएको देखिन्छ।
टिम यताउती नहोस् भन्ने डरले उनले चलनचल्तीको भन्दा विशेष सेवा-सुविधा पनि उपलब्ध गराएका छन्। वैश्य युग न हो, उनको यो विधि निकै उपयुक्त ठहरिएको छ।
सदा झैँ हप्ताको पहिलो दिन आज पनि एउटा विशेष तालिमको व्यवस्था गरिएको छ।
तालिमको सिलसिलामा पूर्णबहादुरले दुई वटा गिलास मगाएर एउटामा बालुवा र सिमेन्ट घोले भने अर्कोमा माटो र गोबर घोले। माटो र गोबर घोलेपछिको गन्ध हावामा छरिएर सहिनसक्नु भयो। सबैको मुख बिग्रियो।
यो उदाहरणलाई लिएर वर्णन गर्दै गर्दा घ्यार-घ्यार गर्दै उनको फोन बज्यो। उनले देखे, फेरि पनि यो त श्रीमतीकै फोन हो। यो दोस्रो पटक थियो। उसका कान राता र ताता भए। अनुहार बिग्रियो। हल्का रिसाउँदै फोन काटेर उनी तालिममा केन्द्रित भए।
उनले भने, 'तपाईंहरु यो बालुवा र सिमेन्ट जस्तो हुने कि माटो र गोबरजस्तो? तपाईंहरु बालुवा र सिमेन्ट जस्तो मजबुत हुनुपर्छ भन्ने मेरो इच्छा हो। तर यो फोहोरी गोबर माटोलाइ हेर्नुस् त! छ्या डिस्कष्टिङ्! इम्पर्फेक्ट! पुराना नेपालका घरहरु जस्तो। मलाई यस्तो मन पर्दैन। कसलाई मनपर्छ होइन!'
यत्तिकैमा फेरि श्रीमतीको फोन आयो। उनले झन् रिसाएर फोन काटे। रिसको झोकमा होस् गुमाएपछि उनको आवाज बाहिरसम्म सुनियो।
'पर्फेक्ट छ भनेर कस्तो केटी भिडाइदिए काकाले?'
रिसले आगो भएका उनले बिचैमा मिटिङ स्थगित भएको घोषणा गरे। उनले जाँदाजाँदै छोरी मान्छेहरु पर्फेक्ट मान्छे नभएको र अरुको भरमा बाँच्ने गरेको आरोप लगाए।
रामहरी जुरुक्क उठे र पूर्णबहादुरको अगाडि पुगेर अर्को बिन्ती बिसाउँछन्।
'सर.. सर. सर... अब हाम्रो अघिल्लो कदम के होला? कसैलाई हटाउने पो कि?'
'हटाउने! तपाईंलाई हटाउने! तपाईंले आजसम्म आफ्नै स्वविवेकले डिसिजन लिइएको देखेको छैन!'
नाजवाफ भएका रामहरीलाई उनले अझै थप्छन्- 'तपाईंलाई मेनेजर बनाएको के कामका लागि हो? सबै मैले नै गर्ने भएपछि। हँ!'
रामहरीले कुरा मिलाउन केही बोल्न खोज्दाखोज्दै पूर्णबहादुर नसुनी हिँडिहाले।
‘आज घर गएर म त्यसको सातो लिन्छु’ पुर्णबहादुरले मनमनै अठोट लिए। घरभित्र छिर्दैगर्दा सबै रिसका शक्तिहरुलाई एक बनाएर उनी श्रीमतीमाथि खनिने तयारीमा थिए। जसरी खेलाडीहरु खेल अगाडि तयार हुन्छन्, त्यसैगरी उनी मानसिक रुपमा तयार भएका थिए।
सदा बसिरहने ठाउँमा श्रीमती छैनन्। दायाँ, बाँया, तल, माथि, टिकटक बनाउने ठाउँ, वासरुम अहँ! कहीँ पनि छैनन् उनी।
श्रीमतीलाई कतै पनि नभेटेपछि उनले घरेलु सहयोगी हर्क दाइलाई बोलाउँछन्।
'हर्क दाइ, ए हर्क दाइ..!'
अहँ, हर्क दाइ पनि बोलेनन्।
त्यसपछि हर्क दाइको कोठामा गएर उनले बेस्मारी ढोका ढक्ढक्याए। तर त्यहाँ त ताल्चा लागेको थियो।
उनी सधैँ श्रीमती बस्ने ठाउँमा फेरि पुग्छन्। त्यहाँ श्रीमती नभए पनि एउटा चिठी भेटियो। जसमा लेखिएको थियो-
'प्रिय बुढा, म मात्रै हैन हर्क दाइलाई पनि नखोज्नू। जति प्रयास गर्दा पनि तपाईं मेरो लागि पर्फेक्ट बन्न सक्नुभएन। मैले बनाउन सकिनँ। त्यसैले म नफर्किने गरी टाढा... धेरै टाढा... जाँदैछु।
गुडबाई।
-बरी।'