जुनेली रात उनी र म हात समाएर एकान्तमा हिँडिरहेका थियौँ। योभन्दा उत्तम अनुभूति मेरा लागि अर्को हुने छैन। सानो चौपारी भेटिएपछि त्यही बस्यौँ हामी। मेरो काँधमा चिउँडो टेकाएर उनले खै के भन्न खोजेकी थिइन्, उनको तातो सासले मलाई काउकुती लाग्यो।
उनको कपाल सुमसुम्याउँदै उनलाई हेर्न लागेको थिएँ त्यही बेला बसको छतबाट चुहिएको पानीले मेरो कपाल भिज्यो अनि म झस्किएँ। हैट! सपना पनि पूरा देख्न नपाइने कस्तो बस हो हाम्रो? बसको झ्यालबाट बाहिर हेरेको, सिमसिम पानी परिरहेको रहेछ। साँझपखको समय थानकोट।
अहिले थानकोट आइपुगेको जानकारी गराएँ मैले आकाशलाई। म बसपार्क पुगेपछि मलाई लिन आयो मेरो बचपनको साथी कमरेड आकाश। सामन्य कुराकानीपछि बाइक स्टार्ट गरेर हिँडिहाल्यौँ हामी।
उसको कोठमा पुगेपछि अचम्मित भएर हेरिरहेँ मैले। न सरसफाई छ कोठाको न बिस्तरा, कपडा तथा अन्य सामान मिलाएको छ। जसले आफ्नो बिस्तराको तन्दा फेरेको छैन उसले राजनीति गरेर देशको मुहार कसरी फेर्छ होला? म चुपचाप बसिरहेँ र एकछिनमा नुहाई वरी फ्रेश भएर बसिरहेको थिएँ।
आकाशले भन्यो, 'ल आज खाना बनाएर खानुपर्छ।'
खै! मलाई उसले आज पाहुना जस्तो देखेछ कि? सधैँ उसको दिदी नहुँदा बाहिर खाना खाने ऊ आज आफै बनाएर मलाई खुवाउने सुरमा छ। म उसका दाह्रीवाला नेताका पुस्तकहरु हेर्दै छु, त्यही पनि विदेशी नेता।
यसो हेरेको उसले खाना बनाउन अनकन गरेजस्तो लागिरह्यो। उसले न प्याज काट्न जान्यो न त आलु काट्न। चन्दाको रसिद काट्न सिकेको उसलाई आलुसालु काट्न के आओस्! 'एकछिन बस्दै गर्, म गोलभेडा लिएर आउँछु' भनेर निस्केको ऊ केहीबेरमा खाना नै लिएर आयो।
खाना खाएपछि यसो बाहिर निस्कन मन लाग्छ मलाई। उसलाई भनेर बाहिर निस्कियौँ। तर विडम्बना! सडक छेउ फूटपाथ छैन, खाल्डाखुल्डीले उसको राजनीतिलाई गिज्याइरहेको छ। त्यसैमा मैले थपिदिएँ 'होइन आकाश, एउटा सरकारले बनाएको सडकमा केही महिनापछि फेरिने अर्को सरकारले खाल्डा बनाइदिन्छ कि के हो?'
'छोड् न यार, आज म राजनीतिक कुरा गर्न चाहन्नँ' उसले भन्यो।
हरेक वाक्यमा राजनीति मिसाएर बोल्ने ऊ आज राजनीति कुरा नगर्ने अरे!
'उता हेर्न अग्ला घरहरु, तँलाई के यही खाल्डा चाहियो? मान्छेले किन कमजोरी मात्रै हेर्छन्? राम्रो पक्ष हेर्न सक्दैनन्? तँ पनि उस्तै?' उ झर्कियो तर म बोलिनँ। पीडामा देखिएको साथीसँग के तर्क गर्नु भनेर म उसलाई कोठा तर्फ जाउँ भनी इसारा गरेर हिँडेँ।
'ओए तेरी निमा खोई?' जिस्किने शैलीमा मैले सोधेँ। अलिक खुसी हुन्छ कि भनेर मैले सोधेको झनै मलिन बन्यो, झनै टोलायो। 'अनि भेटघाट छैन र निमासँग अचेल? किन टोलाइस् र तँ?'
'विदेश छे ऊ अनि अहिले फ्लाइट बन्द छ भन्ने थाहा छ त तँलाई' ऊ फेरि झर्कियो।
'यो प्रविधिको जमानामा पनि के भौतिक रुपमै सधैँ भेटिरहनु पर्छ र? देख्न, बोल्न पाइन्छ, मनको बह जति खोले पनि भयो। खुसी जति बाँडे पनि भयो। सेल्फी आदानप्रदान, भिडिओ कल गर्दैनस् भनेको?'
'यो क्यामेराले मलाई अलिक गोरो देखाउला, त्यो अलग कुरा हो तर मेरो मन त देखाउँदैन नि चाहे भिडिओ कल होस या सेल्फी। यदि मेरो मन देखाउँदो हो भने मैले पनि उसलाई सेल्फी पठाउने थिएँ र उसले हेर्दी हो आफू सुरक्षित साथ सजिएर बसेको मेरो मन अनि बुझ्दी हो मेरो माया।'
ऊ अलिक भावुक बन्दै गयो। मलाई लाग्यो सायद उनीहरुको सम्बन्धमा दरार आएको रहेछ। त्यसैले ऊ निकै दुखी छ अचेल। उसका नेताहरुले आफ्नो स्वार्थ अनुरुप टुटफुट कसैलाई सत्तोसराप अनि कसैसँग गठबन्धन गर्दै हिँडेको देखेकै हो हामीले तर उसले यो नजानेको रहेछ क्यारे या प्रेममा सम्बन्ध फेरिरहन नसकिने रहेछ अनि स्वार्थी सम्बन्धले खुसी पनि नदिने रहेछ। म कोठा सफा गर्न तिर लागेँ।
एकछिनको मौनता तोडेर ऊ बोल्यो फेरि 'हेर्न उसको र मेरो तालमेलै नमिल्ने भयो, अहिले न लेभल नै मिल्छ। ऊ उता पढ्दै कमाउँदै धेरथोर खुसी परिवारलाई अनि आफन्तलाई बाँड्दै आफ्नो सुन्दर भविष्य निर्माण गर्दैछे। म भने कहिले कसैको अघि कहिले कसैको पछि भागदौड गर्दै, विपक्षीलाई गाली गर्दै अनि केही साथी गुमाउँदै, घर परिवारले पठाएको खर्च सक्दै कतै मारिने होकि छोरा भन्ने पिरले बाउ-आमाको निन्द्रा बिगार्दै यहाँ छु।'
'ह्या, यस्तो कुरा किन गर्छस्? माया भनेको माया हो आकाश, मायामा लेभल र हैसियतको कुरै आउँदैन।'
'हो, माया भनेको माया नै हो। तर व्यवहारमा पनि देखिनु पर्छ मन र व्यवहारको तालमेल भएन भने त्यसलाई के माया भन्नू? तँ आफै भन् न ५/७ वर्ष हाइटेक सहरमा बसेर पढेकी उतैको जीवनशैली अवलम्बन गरेकीलाई कसरी यहाँ तेरा र मेरा नेताले बिगारेको अस्तव्यस्त सहरमा आइजा भनौँ म? के यो माया हो?
२०/३० मिनेट मेट्रोको यात्रा गरेर अफिस जाने आउने अनि आउँदा-जाँदा सहजैसँग ल्यापटपमा आफ्नो काम गर्न सक्ने उसलाई जीउधनकै सुरक्षा गर्न नसकिने लोकल बस चढाउनु माया हो? काम गरिरहेको कार्यालयमा समस्या भए २/४ दिन घरमा आराम गरेर सहजै आफ्नो क्षमता अनुसारको काम पाउने ठाउँमा बसेकी उसलाई यहाँ बेरोजगार बनाएर राख्नु माया हो? भो म उसलाई बोलाउन सक्दिनँ।'
ऊ निकै चर्को स्वरले बोलेको थियो यति बेला।
'यो तेरो मात्र समस्या होइन कमरेड, देशकै समस्या यही हो। अनि तँलाई थाहा रहेछ त कुनै वाद, नाराले विकास हुँदैन, देश विकासको लागि उद्यमशील समाज र क्षमतावान राजनीतिज्ञ तथा दक्ष जनशक्ति चाहिन्छ भनेर। अनि किन तँ तेरा पुराना नेता लोकेन्द्र विष्टको उध्यमशीलताको बाटो नगएर अरुको पछि लाग्छस्? अनि आफू विद्यार्थी राजनीतिले बिग्रिएको थाहा पाउँदा-पाउँदै दलीय विद्यार्थी सङ्गठन बन्द गरौँ भन्न किन सक्दैनस्?'