चार भञ्ज्याङको चारैतिरबाट
राजधानी प्रवेश गर्दा
स्वागतम् भेटिँदैन
भेटिन्छ-
गति सीमित
मानव, साधन दुवैलाई
होइन, होइन जनतालाई
मात्र जनतालाई।
जलस्रोतको धनी उपमाको राजधानीमा
निषेध छ
प्रशस्त पानी प्रयोग गर्न
जनतालाई,
पानीले हाम्रो ऐतिहासिक शोभा
नबगाओस् भनेर
सचेत छन् शासकहरू।
किन खुला छ
बुद्धको देशको राजधानीमा
सबैखाले फोहोरमैलाका लागि?
किन छरप्रष्ट छ
राजनैतिक प्रदुषण?
यो राजधानीले
भोलि
कस्तो राजनेता जन्माउला?
कस्तो राजनीति देला?
निषेधको राजनीति?
फोहोरको राजनीति?
आश्वासनको राजनीति?
भित्र धनुष्टंकार?
बाहिर उत्तेजनाको राजनीति?