उसलाई खुलेर संसार हेर्नुछ
तर उसका आँखा बुर्काले छोपिएका छन्
उसलाई धर्तीभन्दा विशाल सपना देख्नु छ
तर उसका प्रत्येक सपनामा
धर्मका खन्जर रोपिएका छन्।
सास फेर्नु भनेको ज्युँदो हुनु हो भने ऊ बाँचेकै छ
आँसु नझार्नु भनेको खुसी हुनु हो भने ऊ हाँसेकै छ
उसका आँखाहरु अब आँसुको मूल फुटाउन सक्दैनन्
उसका हातहरु अब दासत्वको जन्जिर टुटाउन सक्दैनन्
कहिलेकाहीँ आकाशतिर हेर्दै
मानव हुनुमा पश्चताप गर्छे ऊ
कास म पनि यी चराजस्तै भैदिए
न कुनै सिमानाले रोकेको छ यिनलाई उड्न
न कुनै धर्मले रोकेको छ यिनलाई बढ्न
आजकल खुसी हर्ष र समृद्धि
सपनामा पनि आउँदैनन् उसका
पटका पड्किएजस्तै बमहरुबीच उसलाई बाँच्नु छ
हजारौँ मान्छेको रगतको होली खेल्दै उसलाई हाँस्नु छ
ईश्वरले दिएकै हो सग्लो पृथ्वी उसलाई पनि
तर मान्छेले त्यही ईश्वरका नाममा चिरा-चिरा पार्यो
मान्छे भएर बाच्न पनि किन यति गाह्रो
कसले गाडेको हो यो विभाजनको सीमास्तम्भ
ऊ सोध्न खोज्छे तर आवाज आउँदैन
कहिलेकाहीँ सुनिन्छन् सिरिया र गिनीका समाचार
अनयासै आँसु खस्छन्
चाहेर पनि निस्कन नसकिने यो कस्तो अन्धकार?
उसले पनि भोगेकी छे त्यो पीडा
जुन सिरिया सुडान र गिनीले भोगेको छ।
उसलाई पनि चिच्चाई-चिच्चाई सोध्न मन छ
यी संसारका मालिकहरुसँग
तिमी मध्य रातमा ओर्लिएजस्तै
म किन सक्दिनँ तिम्रो भूमि टेक्न
के राष्ट्र सबैको एउटै होइन र?
म त लड्न चाहान्थेँ कलमले यो महायुद्ध
तिमीले नै हो हातमा बन्दुक थमाइदिएको
यी लौ म त फिर्ता गर्न सक्छु तिम्रा गोलाबारुद
ए शासक
के तिमीले काबुलबाट सेना फिर्ता गरेजस्तै
मेरो भविष्य पनि फिर्ता गर्ने सक्छौ?