यसो घरमा हेरेँ के छ त साधन भनेर। हजुरबाको साइकल रहेछ। तर पछाडिको टायर नै बाहिर निस्केको। एक्सर्साइज हुन्छ, दुब्लाउँछु पनि भनेर टीकापुर बस्दासम्म साइकल नै चलाउँछु भन्ने सोच आयो।
दिउँसको लगभग एक बजेको थियो। घामलाई बादलले छेकेको मौका छोपेर म साइकल बनाउन हिँडेँ। घरबाट १०० मिटर टाढा नपुग्दै के थेग्न सक्थ्यो र टीकापुरको ३३ डिग्रीको घामलाई बादलले। अघिल्लो दिन सोह्र श्राद्धको बेला टकला भएको मेरो तालु तातेर फुट्ला झैँ पो हुनथाल्यो।
निरङ्कारी स्कुल हुँदै पार्क रोडको कौसीदिदीको पसलको दायाँ तिर मोडिँदै म साइकल डोर्याउँदै एयरपोर्टको लगभग बीचतिर पुगेको थिएँ, पछाडिबाट आउँदै गरेको रातो ईको-स्पोर्टको सिसा मेरै छेउ पुगेर केही सोधेजस्तो लाग्यो। राम्रोसँग नसुनेपछि सेतो डिस्पोजेबल मास्क र आँखाको कालो चस्मा खोल्दै फेरि आवाज आयो 'दाइ वडा नम्बर २ को कार्यालय कतातिर छ होला?'
एकाएक कुनै एक बेलाको अति नै परिचित मुहार देखेर एकछिन त म अकमक्क परेँ। यो कस्तो संयोग हो आज? लगभग ३ वर्षपछि पहिलो पटक देखियो त्यो मुहार। 'यताबाट सिधैँ १४ नम्बर जानुस्। ट्रिनिटी स्कुलको गल्ली हुँदै आँखा अस्पताल जानुस्। आँखा अस्पतालको पछाडिपट्टिको गल्लीमा योग आश्रम छ, त्यसको अपोसिटको बिल्डिङ हो' भन्दै मास्क खोलेँ मैले पनि।
मेरो अनुहार देख्नेबित्तिकै धन्यवाद पनि नभनेर नै त्यो कालो सिसा बन्द भयो र ईको-स्पोर्टले आफ्नै रफ्तार लग्यो। म पनि कमसेकम धन्यवाद त भन्नपर्छ नि, धन्यवादको लायक त थिएँ कि सोच्दै हल्का मुस्कुराउँदै फेरि साइकल डोर्याउन थालेँ।
अब मनमा अनेक कुरा खेल्न थाले। मैले के सोच्छु भन्दा पनि उसले के सोचि होलि भन्ने तर्क हाबी हुन थाल्यो। नानाथरी तर्कहरू सायद कति जायज थिए होलान्, कति जायज थिएनन् होला। ब्रेकअपको बेलाको कारण र अहिलेको परिस्तिथिलाई म तुलना गर्न थालेँ। उसको ब्रेकअपको एउटा तर्क थियो 'म कहाँ भाडामा बस्छु र! मलाई त आफ्नै घर चाहिन्छ। म कहाँ सार्वजनिक गाडीमा डिँड्छु र! आफ्नै गाडी चाहिन्छ'।
अनि एक मनले सोचेँ, ल उसले सोचेजस्तै भएछ। गाडीको ड्राइभर साइडकै सिटमा बसेकी भनेपछि आफ्नै त होला नि। अनि गाडी आफ्नै हुनेको घर पनि त आफ्नै होला नि। उसको इच्छा अनुसारको पुगेको देखेर एकछिन भए पनि खुसी लाग्यो। भित्रभित्रै रिस पनि उठ्यो, सायद डाहा पनि। साँच्चै के सोचि होलि उसले मेरो त्यो बिग्रिएको साइकल देखेर?
सायद 'समयमै ब्रेकअप गरेर सही गरेछु नत्र त आज मेरो पनि यस्तै साइकल डोर्याउने अवस्था आउने रैछ' सोचेर खुसी भै होला र ब्रेकअप गर्ने आफ्नो निर्णयको जित भएको आभाष पनि गरी होला। बाइसाइकलबाट कार तिर अपग्रेड नभएरै साइकल नै चलाउने बाध्यता आए पनि नआत्तिने म। अहिले त साइकल डोर्याउनु मेरो बाध्यता नभई रहर हो भन्ने तिमी कहाँ बुझ्न सक्छौ र!
न त्यो बेला बुझ्न सक्यौ मलाई न आज बुझ्न सक्छौ न त आगामी दिनमा नै बुझ्न सक्ने छौ। होस् यो संयोगलाई यही पूर्णबिराम लगाउन पर्यो सोच्दै म साइकल पसल तिर गएँ। करिब १ घण्टामा साइकल मर्मत भएपछि 'धन्यवाद दाइ। आजकाल त साइकल पसल खोज्न नि गाह्रै भयो' भन्दै बिदाइ मागेँ मैले। 'अँ भाइ, आजकाल त जता पनि मोटरसाइकल वर्कसप मात्र देखिन्छन्' भन्दै थिए साइकल पसलवाला दाइ पनि।
समिति कुलाको पुल, हाटबजार हुँदै १४ नंबर बटलाको पसल निरै के पुगेको थिएँ पछाडिबाट स्पीडमा आएको कारले हिलो छ्याप्यो मेरो साइकल, सेतो स्निकर र निलो ट्रारउजरमा। झनक्क रिस उठ्यो। यसो नम्बर हेरेको त्यही बा २६ प... उनी सवार ईको-स्पोर्ट नै रैछ। न अघि धन्यवाद भनेकी थिई न अहिले सरी नै भनि। मनमनै सोचेँ, सोमत त रहेनछ टिठीको।
रिस त झन् दोब्बर, तेब्बर, चौबर नै भयो सायद। आइतबारको दिन थियो। ईपिएलको दिन बेलुका ७:४५ बाट रोनाल्डोको गेम। म कसरी मिस गर्न सक्थे र! मेरो बचपनका जिग्री मनोज, विनोद (गुरू) र चक्र मनोजको पसलमा गफगाफ गर्दैथियौँ। साथीहरू त्यो पनि बचपनवाल आफै अनुमान लगाउन सकिन्थ्यो के-कस्ता गफ र रमाइलो भैरेको थियो होला।
धेरै पछिको जमघट बेलुका त जम्नै पर्यो। अब हाम्रो फेबरेट आले दाइको सुकुटी खान गयो भने ईपिएल हेर्न नपाउने। त्यसैले बाठो भएर ल आज सिद्धार्थमा जम्नपर्छ भन्ने आइडिया मैले राखेँ। 'महिनामा लाखौँ कमाउने साथीहरू छन् त्यसैमा बाङ्गे व्यापारी मलाई त जता गए पनि ओके छ' चक्रले थप्यो।
सिद्धार्थ रेस्टुरेन्टको पछाडिपट्टिको बीचको टेबलमा हामी तीन जना बस्यौँ। विनोद गुरूलाई छोरो हेर्नपर्ने, न दारू चल्ने न मासु चल्ने भएर अघि नै बिदा भैसकेका थिए। के खाने के पिउने भन्ने सल्लाहा हुँदै थियो। 'मेरो त अलटाइम फेब्रेट ८८४८' मनोजको च्वाइस।
'म त आज बीयर खान्छु, गर्मी लाइराको छ' चक्रको च्वाइस।
बायाँ साइडतिरको ढोकाबाट एउटा जोडी हातमा हात समाएर मित्र छिर्यो। जुत्ताको टक-टक आवाजले हाम्रो ध्यान खिच्यो र हाम्रो प्रसङ्गले केही समयको लागि विश्राम लियो। केटाका लगभग ५.८' अग्लो, केटी लगभग ५.२'। हामीभन्दा दुई टेबल अघि गएर बस्यो त्यो जोडी। एकोहोरो हेरिरह्यो भने अक्वार्ड फील होला भनेर हामी आफ्नै टेबल तिर ध्यान दिन थाल्यौँ।
'म त पानी मात्र पिउँछु यार' मैले भनेँ।
'ह्या, आज कतिपछि भेट भएको छ एउटा बीयर beer त खा' चक्रले भन्यो।'
'एउटा बियरले के फरक पर्छ, आज मात्र खान त' मनोजले थप्यो।
'मेरो कोटा एक बियर, म आज मात्र खान्छु भोलिबाट खान्न भन्ने खालको मान्छे भए पो म। मुखमा लाग्यो त लाग्यो, त्यसैले म छुन्न यार। माइन्ड नगर' मैले जवाफ फर्काएँ।
एक बोतल गोर्खा स्ट्रोङ, एक क्वाटर ८८४८, एक बोतल पानी नर्मल टेम्प्रेचरको अनि १ प्लेट ग्रीन सलाद, एक प्लेट चिकेन चिल्ली' हाम्रो अर्डर टिपेर वेटर भाइ त्यो अघिको जोडीको टेबल तिर लाग्यो।
'एक बोतल ज्याकब क्रीक सेमी स्वीट, एक लेट चिकेन ड्रम-स्टिक' केटीको आवाज मेरो काननमा पर्यो। चिनेको जस्तै आवाजले मेरो ध्यान त्यस टेबलतिर तान्यो। यसो हेरेको उनी त उही मेरी एक्स। मैले ऊ तिर हेरेँ, उसले पनि म तिर हेरी। एकछिन हाम्रो आँखो जुध्यो र त्यो जुधाइले एकछिन भए पनि हलचल बिर्सियो।
केही आत्तिएको, केही डराएको र केही हडबडीको अवस्था झल्कियो उसको मुहारमा। मैले एक मुस्कान फर्काएँ तर त्यसको उत्तर आएन र उसको शीर केही निहुँरियो। मेरो ध्यान फुटबल र हाम्रो टेबलभन्दा पनि एक्स को टेबलतिर धेरै थियो।
हाई हिल जस्तो देखिने सिसाको वाइन ग्लासमा वाइन चियर्स गरेको आवाज मेरो कानमा ठोक्किँदै थियो भने आँखाले चियर्सको लाइभ दृश्य हेर्दै थियो। त्यो चियर्सको दृश्यले एक पटक अरबिनको कोठामा म र अरबिनले बियर खायो भनेर झगडा गर्दै पस्केको खाना कुल्चेल हिँडेको घटना झलझली याद आउन थाल्यो मलाई।
मनमा प्रश्न खेल्न थाल्यो 'के उसलाई पनि त्यो दिनको याद आयो होला त अहिले?' मलाई सुनाउने किसिमले नै अलि ठूलो स्वरमा उसको चियर्सको ध्वनि मेरो कानमा गुन्जियो। मैले पनि उसलाई सुनाउने किसिममै अलि पर रहेको वेटरलाई भनेँ 'भाइ, एक ब्ल्याक कफी विथाउट सुगर है!'
'डबल कफी विथ सिंगल ग्लास वाटर' जुन वाक्य हामी घुम्न गएको बेला सधैँ मैले प्रयोग गर्थेँ। त्यो सुनेर उसले म तिर हेरी। मैले पनि हेरेँ। फेरि पनि हाम्रो आँखा जुध्यो र त्यो जुधाइ एकैछिन भए पनि मोसनलेस थियो।
मलाई त विगतले रनभुल्ल पार्न थाल्यो। कहिल्यै उसको बारेमा नसोच्ने भैसकेको म एकाएक विगतका ती पलहरूले झटारो पो हान्न थाले। कहिलेकाहीँ त हामीले पनि सँगै 'टुबोर्ग' र 'डिभाइन वाइन' खाने गरेको याद आयो। आज पनि हामी एउटै कोठामा चियर्स गर्दैछौँ तर फरक किसिमले। हाम्रो पेय-पदार्थ फरक छ। म पानी पिउँदै छु भने उसले ज्याकब क्रीक।
हाम्रो परिस्तिथि फरक छ। म साथीहरूसँग छु भने ऊ बिएफसँग। हाम्रो मनस्तिथि फरक छ। म साथीहरूको संगतमा गफगाफ र फुटबलसँग रमाउने मनस्तिथिमा छु। ऊ बिएफसँग ज्याकब क्रीकको नशामा होलिडे मूडमा छे। हामी एउटै कोठामा छौँ तर फरक व्यक्ति, फरक परिस्तिथि अनि फरक मनस्तिथिमा।
उसलाई ज्याकब क्रीकको प्रत्येक चुस्कीमा जितको आनन्द महसुस भैरहेको होला, मलाई पनि पानीको प्रत्येक चुस्कीमा जिततर्फ अग्रसर भएको महसुस हुँदै थियो। ब्रेकपको अर्को कारण म एकदमै रक्सी खाने जडिया रे भन्ने उसको पारिवारिक टिप्पणी थियो रे। आज उसले ज्याकब क्रीक चियर्स गर्दा अनि मैले पानी चियर्स गर्दा मनोवाद सुरू भयो 'खै जित पो कसको भयो, उसको या मेरो?'
एक क्वाटरबाट सुरू भएको मनोजको यात्रा दोस्रो क्वाटरको अन्तिम चुस्कीमा पुगेको थियो भने चक्रको तेस्रो बियरको अन्तिम चुस्की बाँकी थियो। सायद उताको टेबल तिर पनि सकिने अवस्थामा थियो।
'भाइ हाम्रो हिसाब ३०४ रूममा जोड्नु है' अहिले भने केटाको आवाज सुनियो। केटाहरू अति नै झ्याप भैसकेकोले मैले पनि त्यस टेबलसम्म सुनिने किसिमले वेटरलाई भनेँ 'भाइ, केटाहरू धेरै झ्याप भैसके। बाइक चलाउन सक्ने अवस्थामा छैनन्। मेरो साइकल यतै छोडेर जान्छु। भोलि लिन्छु है।'
'हुन्छ सर नो प्रबलम' मुस्कान सहित वेटर भाइको रिप्लाई आयो। हाम्रो छेउ हुँदै निस्कियो त्यो जोडी रेस्टुरेन्टबाट। हेर्दै ४० काटेको अर्धबैँसे देखिन्थ्यो केटो। क्लिन सेभ्ड अनुहार। गाला पुक्क फुलेका। भुडी पुटुस्स हल्काभन्दा धेरै बाहिर आएको अनि तालुको कपाल औँलामा गन्न मिल्ने। केटालाई देखेर तपाईंहरुको झैँ कुरा खेले मेरो मन मस्तिष्कमा पनि। त्यो युगल जोडी माथिल्लो तला तिर लाग्यो भने हामी पार्किङतिर।
ट्रिपल सिट बोकेर मनोजलाई १३ नम्बर र चक्रलाई ११ नम्बर घरमा छोडेर म पनि आफ्नो घरतिर बाइक कुदाउँदै थिएँ। बसपार्क कृष्ण मन्दिर निर पुगेर मनले अर्को कुरा सोच्न थाल्यो 'हैन, टीकापुरमै घर हुनेले किन होटलमा बस्न परेको होला?' एक मनले सोच्यो रमाइलो गर्न होला। अर्को मनले सोच्यो जम्मा दुई कोठे घर त छ अनि कसरी ठाउँ पुगोस त! कोठमाडौँमा म डेरामा बस्नुपरेको छ भने टीकापुर आएर उसले डेरामा बस्न पर्यो। समय सँग-सँगै ठाऊँ र परिस्तिथिको खेल बुझ्न नसक्नु छ। ईश्वरको लिला अपरम्पार छ।
दुई घर बीचको आँगनमा बाइक रोकेँ। ममी कराउनु भयो 'आज त छिटै आइस् त।'
यसो मोबाइलमा टाइम हेर्दै भनेँ 'जम्मा ९:४० त भएको रैछ ममी। म स्न्याक्स खाएर फुल छु, केही खान्न है।'
'के हो त्यो स्न्याक्स सिस्न्याक्स भन्ने हामीलाई पनि ल्याइदिए त हुने' ममीको प्रतिउत्तर आयो।
'ह्या जाड खाने बेला खाने कचरपचर हो के। त्यसै पनि सुगर भएकोले खान मिल्दैन' भन्दै म नल्कातिर गएँ।
सायद आजका घटना क्रमले म केही विचलित भएको थिएँ। मान्छे न हुँ जति नै कठोर छु भने पनि परिस्तिथि र विगतले केही कमजोर, केही दुखित त केही हर्षित पनि बनाउने रहेछ।
'आजका घटनाक्रम एक संयोग ठानेर बिर्सनुको बिकल्प छैन' दिमागले मनलाई शान्त पार्न खोज्दै थियो। अरूको निर्णयलाई स्वीकार्न नसक्नु, उसको भन्दा धेरै देखाउँछु भन्ने सोचाइ राख्नु, प्रतिसोधको भावना नै रहेछन् सायद डिप्रेसन, रेप, मर्डर, ब्ल्याकमेल, सुसाइड जस्ता अपराधका कारक' भन्ने जस्ता कुराले घेर्न थाल्यो मन र मस्तिष्कलाई।
यी मध्ये न तिमीले कसैलाई रोज्यौ न मैले नै। अनि फेरि सोचेँ 'डियर एक्स, न तिम्रो हार भयो न मेरो हार भयो। हामी दुवैको जित भयो आफ्नै-आफ्नै किसिमले। तिमी आफ्नो किसिमले खुसी रैछौ म आफ्नै किसिमले खुसी छु।'
रूममा गएँ, ५२ दिनकी सुत्केरी बूढी सुतिरहेकी थिइन्। ५२ दिनकी छोरी हात खुट्टा आफ्नै किसिमले तन्काउँदै छत तिर हेर्दै थिइन्। छोरीलाई काखमा लिएँ, बुढीको निधारमा चुम्मन गरेँ अनि मनमनै 'परीरूपि यी दुई (आमा र छोरी) सुन्दर उपहारको लागि भगवानलाई धन्यवाद भनेँ।
'ईक तुही निरंकार यसरी नै सधैँ दया गर, क्षमा गर, रक्षा गर,सदबुद्धि दे प्रभु' मनमनै मगवानलाई पुकारेँ। एकैछिनमा छोरी सुतिन् अनि म पनि कुन बेला सुतेँ, सुतेँ।