मैले त आउन नपाउँदैदेखि जाने दिनसम्म पनि सम्झिसकेको छु
थाहा छैन मलाई सम्झिएको छ कि छैन
भित्तामा पोतिँदै गरेको रातो माटो अनि कमेरोले
घरै मुन्तिरको चौरमा चार वटा बाँस र गरालोको सहायतामा
मच्चिरहेको लिङ्गे पिङले
हावाको बेगमा देख्नै नसकिने ठाउँम पुगेर उड्दै गरेको त्यो चंगाले,
बाहिरी प्रकाश समेत देख्न नपाएर डालोले छोपिएर
पहेँलो भएर हुर्कँदै गरेको जमराले
अनि
दही र अबिरसँगै लट्पट्टिएर तयार बनेको त्यो रातो टिकाले
सम्झिरहेको छ या छैन थाहा छैन
तर मैले
मैले सम्झिरहेको छु
रातो माटो
कमेरो
चंगा
लिङ्गे पिङ
टीका
जमरा यी सबै, सबै कुरा
मान्यजनहरुले ठूलो, राम्रो, असल मान्छे बन्न दिएको
हरेको वर्षको आशीर्वाद सम्झिएको छु
हजुरबुबा हजुरममीले हामी त अब देख्न पनि पाउँदैनौ होला भनेर
गरेको गुनासो सम्झिएको छु
ममीले नानी यसपालि त आउँछस् नि है भनेर गरेको आशा सम्झिएको छु
बुबाले घर नै शून्य भएको छ भनेर पोख्दै गरेको दुखेसो सम्झिएको छु
भाइले सुनाउँदै गरेको घरको वास्तविक अवस्था सम्झिएको छु
अनि साथिभाइहरुले सँगै डुल्न, घुम्न, रम्नको लागि
गरेको प्रतीक्षा सम्झिरहेको छु।
अझै धेरै सम्झिएको छु
तिर्न बाँकी रहेको सहकारीको ऋण,
ममीको उपचार गर्दै गर्दा लागेको अस्पतालको खर्च,
वर्षभरि काम गर्दा नि खान नपुग्ने खेत,
हुनेखाने वर्गले गरेको सामन्ती व्यवहार
अझै पनि बुबाले लगाउँदै गर्नु परेको थोत्रो स्टकोट
आमाको फेर्न नसकिएको च्यातिएको चोली
पढेर ठूलो मान्छे बन्ने भाइको सपना।
र त
परिवारको सम्झना
देशको माया
देश फर्कने अदम्य साहस भएर पनि
फर्किन सकिरहेको छैन प्रवासबाट
महान् पर्व दसैँको शुभकामना सबै-सबै।