यो दसैँ नाजायज छ
जायज त त्यही
पिर मात्रै हो।
मलाई म केटाकेटी हुन्जेल
केटाकेटीसँग
केटाकेटी जस्तै दसैँ मनाउन
बहुत रमाइलो लाग्थ्यो
अचेल
आफूसँग
आफ्नै तरिकामा दसैँ मनाउन पनि
बहुत खल्लो लाग्छ।
दसैँमा घरमा राखेको जमरा
दस दिनमै हलक्कै बढ्छ
कति राम्रो हुन्छ
तर
वर्षौंदेखि
मैले देखेको,
अनि सजाएको सपना
र गरेका प्रयासहरु
किन मौलाउँदैन?
किन बढ्दैन?
किन ती जमराहरु जस्तै सफल हुँदैन?
यो दसैँ नाजायज छ।
जसरी,
दसैँमा पिङमा
मच्चिएर खेल्दा माथि पुगिन्छ नि
त्यस्तै
मेरा सपनाहरुले
धेरै माथि पुर्याएर
धेरै पटक मलाई खसालिसकेका छन्
त्यसैले त
आजकल पिङमा मच्चिन डर लाग्छ
उचाइदेखि डर लाग्छ।
दसैँमा सेतो चामलमा
अलिकति अबिर
अलिकति चिनी
अलिकति दही राख्दा त
कति धेरैबेर अडिरहन्छ त्यो टीका निधारमा
आजकल कोही मान्छेमा
धेरै भरोसा
धेरै विश्वास
अझ धेरै माया राख्दा पनि
किन सम्बन्धहरु टिक्दैन?
विजया दशमीको विजयी टीकाहरुले
पराजित प्रेमीहरुको निधारमा
सफल प्रेम टाँसिदिउन्!
जसरी पनि जुटाएर
मिठो खाने पर्व बन्यो दसैँ
कसैको दरबारमा दसैँ छ
कसैको घरबारमा दशा छ
यस्तै-यस्तै छ
यो दसैँ नाजायज छ।
यो नाजायज दसैँको सम्पूर्ण जायज मान्छेहरुमा
मंगलमय शुभकामना!