घरबार छोडि
परदेश पलायन हुँदा
आमाबुबाले दिनुभएको आशिष सम्झि ब्युँझने गर्छु
म हरेक बिहान र
प्राण प्यारी अर्धाङ्गिनीले दिएको रुमाल सुम्सुम्याउँदै
निदाउने गर्छु म हरेक साँझ
अनि
त्यही आशिष साहस दिने दुःखसुखको साथी
बनेको छ मेरो र
त्यही रुमाल दुःखसुखको आँसु पुछिदिने साथी
बनेको छ मेरो।
याद आउँछन्
काँधमा काँध मिलाई
साथीभाइहरुसँग मिलीजुली नाचगान गर्दै
देउसी र भैलो खेलेको तिहारमा
आमाबुबाले निधारमा टीका
कानमा जमरा लगाइदिएको दसैँमा
र
याद आउँछन्
कुनै पन्छीको विरही संगीत सरह
डाँडापाखा, खोला खोल्सा र छाँगा छहराहरु
चहारेको ती अविस्मरणीय मनोरम दिनहरु
तर बन्दी छु म यो बिरानो देशको कुनै पिँजडामा
अनि त्यही पिँजडा भित्रबाट ताप विलाप गर्दै
यो चिठी घरसम्म पुर्याउने प्रयास गरिरहेको छु।
अनेकन क्लेश र उत्पीडन
आमाबुबा, छोराछोरी र प्यारी श्रीमतीको
धमिलो तस्बिर हेरी भुल्ने गरेको छु।
यो विरानो देशमा
प्रचण्ड गर्मीमा शीतल छहारी दिने
त्यी पिपलका वृक्षहरु छैनन् यहाँ
न त छन् कुनै हरियालीहरुको सुगन्ध यहाँ
न त छन् कुनै नदीनालाहरुको अस्तित्व यहाँ
फगत् छन् त रुँदा-रुँदा ओभानिएका
शुष्क बालुवा, माटो र जर्जर परेको
उदास भूमि यहाँ।
त्यसैले हरेक पल
हरेक क्षण मेरी बहिनी
त्रास र चिन्ताले आक्रान्त बनाउँछन् मलाई
कतै कालले मेरो मृत्युको ढोका ढक्ढक्याउँला कि?
कतै घर नफर्की म यो बिरानो देशमा मरिगैजाउँला कि?
आँसु र पसिनाले अल्पअल्प प्रहरमा उठी
लेख्दै छु म यो चिठी
देश विकास कहिले होइजाला?
परदेश आउने रहर त थिएन
के गर्नु स्वदेशमा रोजगारी पाइएन?
त्यसैले काँधमा ऋणको भारी
अनि अनेकन स्वप्न बोकी मनभरि
आएथेँ यो बिरानो देशमा
तर त्यी सबै स्वप्नहरु अपहरण भए यहाँ।
त्यसैले बेचैन र अनिद्राले
रुन्छ यो मेरो मन स्वदेशमा
विवेक र पसिना चुहाउन नपाउँदा
भावुक र विचलित हुन्छ यो मेरो मानस
देशको असरल्ल र दर्दनाक अवस्था छ भनी
यी जिउँदा दुई कानले सुन्दा।
नरुनु नेपाल आमा
नरोए मेरा जहान पिँढीमा दिन गन्दै
मेरो प्रतिक्षामा
छुट्टी मिलेन यो साल त
अन्तस्करणबाट ईश्वरसँग प्रार्थना गरेको छु
नमरे बाँचे अर्को साल त
दसैँ-तिहार मनाउन म पक्कै आउने छु
उपहार त केही पठाइदिएको छैन।
बरु साहुले खान लाउन दिएको
पैसा जोगाई पठाइदिएको छु,
यो दसैँ र तिहारमा
त्यसैले काम चलाउनू
यो चिठी हुलाकी दाइको हातमा सुम्पिदिएको छु।