एकाबिहानै आमाले ढोका ढक-ढकाउनु भयो। 'अहिलेसम्म उठेको छैन। छिटो उठ!'
आधा आँखा खोलेर घडीतिर नियाल्दा ३ बजिरहेको थियो। ढोकामा जोडले ढकढकाउनु हुँदै थियो। सवाल जवाफ गर्न अल्छी लागेर उठेँ। ढोका खोलेको त घरमा सबैलाई हतार थियो। माइलो भाइलाई कान्छो भाइले केही भन्दै थियो, काकाले काकीलाई केही राख्न भन्दै हुनुहुन्थ्यो। बुवा र आमाको कुनै विषयमा बहस चलिरहेको थियो।
बाहिर दुई वटा कारहरुले जीवनमा कहिल्यै हर्न बजाउन नपाएजस्तै गरेर हर्न बजाएका-बजाई थिए। म त आफ्नै कोठाको ढोका अगाडि रनभुल्ल परेँ। आमाले फेरि 'छिटो तयार हो' भन्नु भएपछि म बाथरुम तिर लागेँ। एक त आधा निद्रा अर्को घरको त्यो एकाबिहानैको माहोल, कारहरुको प्याँ प्याँ, त्यसमाथि सधैं ५ बजे उठ्ने बानी, ३ बजे त राम्ररी दिशा पनि आएन।
हतार-हतार नुहाइ-धुवाई गरेर शर्ट र प्यान्ट्स लाएर दगुरेँ। सबैजना कारबाट मलाई बोलाइरहनु भएको थियो। आमाले सबै झ्याल-ढोका बन्द गरेर ताल्चा लाएर आइज भनिरहनु भएको थियो। मुख्य गेटको ताल्चा लाएर बाहिर राखेको अगाडिको कारमा ड्राइभर छेउको सिटमा म बसेँ। सिट-बेल्ट लाएर ढल्किएँ। पछाडिबाट भाइले यो छुट्यो र त्यो छुट्यो भनिरहेको थियो, म निदाएछु।
'आइपुग्यौँ दाजु' भनेर भाइले भनेपछि मेरो निद्रा टुट्यो। घडीतिर हेरेको त ६ बजिसकेको रहेछ। बाहिर सबै हरियो थियो। धान खेतहरु। बीचमा एउटा होटेल थियो। फार्बिसगंज होटेल भनेर एउटा ठूलो बोर्ड थियो गेटमा। हामी भारतको बिहारको एउटा सानो सहर फार्बिसगंजमा थियौँ! तर किन?
एक जमानामा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका लागि रकम जम्मा गर्न प्लेन हाइज्याक गरेर यही सहरमा ल्यान्ड गराएका थिए, मलाई कुनै किताबमा पढेको याद आयो त्यो होटेलको बोर्ड देखेपछि। म पनि आफू हाइज्याक्ड भएको महसुस गरिरहेको थिएँ। आखिर म त्यहाँ किन थिएँ, मलाई थाहा नै थिएन।
म सम्झिन खोजिरहेको थिएँ यावत कारणहरु। सबैजना होटेल तिर लागेको देखेपछि म पनि कार बाहिर निस्किएर उहाँहरुलाई पछ्याउन थालेँ, रनभुल्ल थिएँ म। केही हप्तापछि मेरो स्नातकोत्तरका लागि प्रवेश परीक्षा थियो, म त्यसका लागि तयारी गरिरहेको थिएँ तर यो अचानक के भयो! मैले पारिवारिक गफसफमा ध्यान दिइनँ कि, मैले केही छुटाएके कि! ह्वाट डिड आइ मिस? मैले केही मेसो पाइरहेको थिइनँ।
कतिबेला दोस्रो तला पुगिएछ होटेलको पत्तै भएन। आमाले 'यो तेरो रुम हो, गएर तयार हो, बाहिर बफे छ खान आइज' भनेर त्यहाँबाट अर्को रुममा जानुभयो। मैले केही सोध्नै पाइनँ। म कोठाभित्र छिरेँ। ढोका लाएँ। धन्न फ्रिज थियो त्यहाँ, चिसो पानीको बोटल निकालेँ र घटघट शान्तीले आरामले पानी खाएँ। आन्द्रा भुँडी दिमाग सबै ठण्डा भयो।
झ्याल बाहिरबाट फार्बिसगंज होटेल लेखेको बोर्डको पछाडिको भागमा एउटा अर्को पोस्टर टाँसेको थियो। त्यसमा रातो पार्श्वमा पहेलो अक्षरले अङ्ग्रेजीमा 'नितेश वेड्स...' लेख्या थियो। मेरो बिहे थियो! व्हाट! बट नितेश वेड्स हुम? बोर्डको आधा भाग देखिइरहेको थिएन। झ्याल बाहिर टाउको निकालेर हेर्न खोजेँ तर मेरी बेहुलीको नाम देखिनँ!
घाँटी तन्काएर हेर्न खोजेँ, तर देखिनँ। तल दुई/चार जना कामदार सिँढी लिएर केही गरिरहेका थिए। 'बोर्ड मेँ क्या लिखा है भाइसाहेब?' भनेर सोधेँ। 'हमको न अङ्ग्रेजीमे बतियाने आता है आ ना पढ्ने तो हमसे कृपा करके ना पुछेँ, खुद आके पढ्लेँ' भनेर एक इतिहास जवाफ दियो एउटा कामदारले।
म उत्सुकताका साथ हतारमा उडेर झैँ तल पुगेँ। पोस्टर थिएन। ती कामदारहरुले पोस्टर झिकेर मोटरसाइकलमा कतै लगिरहेको देखेँ। म चिच्याएँ। 'अरे! पोस्टर लेके कहाँ जा रहे हो? पोस्टर मेँ कुछ गल्ती है, वो ठिक कराने जा रहेँ हैँ' भन्दै क्षितिजमा कतै बिलाए दुई मोटरसाइकलहरु धुलोमाया पार्श्व बनाएर।
म आफ्नो कोठा आएँ। मेरो घरको आफ्नो कोठा होइन। त्यो मलाई पागल बनाउन तुलेको होटेलको मेरो भनिएको कोठा। फोन झिकेँ मेरो। नेटवर्क थिएन। छेउकै कोठामा मेरो कान्छो भाइ गको सम्झिएँ। छेउको ढोका ढकढकाएँ, भाइले ढोका खोल्यो। शेरवानी लाएर शाहरुख खान झैँ देखिइरहेको थियो। मात्र कपाल मिलाउन बाँकी थियो।
हुन त उसलाई कपाल मिलाउन कम्तीमा नब्बे मिनेट चाहिन्छ। एक फुटबल खेल बराबरको समय। अनि मात्र आफ्नो तालुको मैदानमा कपाल सँगको खेल जित्न सक्छ ऊ। मैले उसलाई सोधेँ 'नरेश म साह्रै कन्फ्युज्ड छु, मेरो बिहे हुन लागेको हो र?'
'हो त' भन्यो उसले।
'कोसँग, कहिले भयो छिनोफानो? म त प्रवेश परीक्षाको तयारीमा थिएँ, मैले त पत्तै पाइनँ।'
उसले भन्यो 'उहाँसँगै हो त। अस्ति बुवाले उहाँको बुवालाई फोन गर्नुभएको थियो अनि आजको मितिमा बिहे गर्ने तय भयो। तपाईं प्रवेश परीक्षाको तयारी गर्दै हुनुहुन्थ्यो त्यसैले तपाईंलाई भन्नुभएन।'
'हो र!'
म चकित भएँ! आखिरमा मेरो उनीसँगै बिहे हुने भयो!
'साँच्ची भन्या होस् नि?' मैले सोधेँ।
'अँ' भन्यो।
म खुसी भएँ। तर मलाई पत्यार लागेन। 'अनि यहाँ फार्बिसगंजमा आएर बिहे गर्ने त हाम्रो कहिल्यै योजना थिएन, कहिले बन्यो त्यो? उनलाई त थाहा छ नि?'
'उहाँको बुवाले छोरी प्रवेश परीक्षाको तयारी गर्दैछे बिहेकै दिन जानकारी दिउँला, अहिले भनेर के डिस्टर्ब गर्नु भन्नुभयो रे। आज त थाहा पाइसक्नु भयो होला, अभियस्ली।'
'तेरो फोनमा इन्डियन सिम छ?'
छ भन्यो उसले। 'इन्टरनेट जोडेर हटस्पट अन गर त' भनी अह्राएँ। उसले भनेझैँ गर्यो। मैले उनलाई भिडिओ कल गरेँ। धेरै पटक उनले उठाइनन्। मैले फेरि पनि प्रयास गरिरहेँ। उनले फोन उठाइन् तर न उनको अनुहार स्पष्ट देखिइरहेको थियो न त बोली नै स्पष्ट सुनिइरहेको थियो। धेरैबेर प्रयास गर्दा पनि केही कुरा हुन सकेन न त अनुहार नै पनि हेर्न सकेँ।
मैले कल काटेँ। भाइलाई रद्दी इन्टरनेट बन्द गरेर हटस्पट बन्द गर्न भनेँ। उसले भनेझैँ गर्यो। म भाइको ओच्छ्यानमा पल्टिएँ। म बेहोस झैँ थिएँ। त्यत्तिकैमा मेरो फोनको घन्टी बज्यो। मैले आधा आँखा खोलेर हेरेँ, बुवाको फोन थियो।