हामी ट्विटरमा भेटिएको थियौं। उनको नाम मुस्कान भए पनि उनीभित्र शब्दमा व्यक्त गर्न नसक्ने पीडाहरु थिए। कथाहरु थिए। अनि उनका अनुभवहरु।
सायदै तिनै कुरालाई उनी शब्दमा समेट्न खोज्थिन्। वा हुनसक्छ शब्दमार्फत आफूले बाँचेको जिन्दगी कविता लेखेर आकार दिन खोज्थिन्। उनका हरेक कविताहरु पीडादायी भए पनि शब्दहरु प्रिय लाग्थे। यतिसम्म कि एकदिन मैले मेसेज नलेखी बस्नै सकिनँ।
सोधेँ, 'मुस्कानजी, हजुरको ब्लग छ?'
जवाफ आयो- छैन।
'मलाई हजुरका ट्वीट, हजुरका कविताहरु एकदमै मन पर्छ।'
'धन्यवाद।'
'केही लेख्नु भएको छ भने पठाउनुस् न।'
उसले एउटा कविता पठाइन् जुन यस्तो थियो-
'कसरी मेटिन्छ होला,
ती शब्दहरुले मुटुमा गरेको
स्पर्शको दाग?
कसरी साँघुरिन्छ होला,
सारा संसार बदल्छु भन्ने ती
फराकिला सोचहरु?
कसरी बिर्सनू-
सँगै गाइने गीतका शब्दहरु,
सँगै देखिएका सपनाका चौतारीहरु,
दुवैको रोजाइका ती एउटै पुस्तकहरु,
एकअर्काको लागि कोरिएका कविताका हरफहरु,
ती याद जोडिएका दिन, गते र बारहरु,
ती प्रेमिल कल्पनाहरु,
ती पर्खाइमा बिताएका पलहरु,
अनि ती ओठका मिठा मुस्कानहरु
आँखाका निश्चल पानीहरु
साँच्चै साहसी हुन्छन् ती,
जो प्रेम गर्छन्
र बिर्सने हिम्मत राख्छन्!'
कविता पढिसकेर झसंग भएँ, कसरी लेखिन् उनले म भित्रका शब्दहरु? कसले सुनायो मेरो प्रेम सम्बन्ध बारे उनलाई? कविता मसँग मेरो असफल प्रेमको कारण वर्तमानसँग हुबहु मिलिरहेको थियो! तुरुन्तै लगेर फेसबुकमा पोस्ट गरेँ ताकि अर्काको भैसकेकी मेरी प्रेमिकाले देखोस्। महसुस गरोस् ममाथि के बितिरहेको छ। साथै अझैसम्म पनि मैले भुलेको छैन है भन्ने प्रमाण देखाउन पोस्ट गरेँ।
यता ऊ हराइसकेकी थिई। जसरी भर्खरै ठोक्किएर लागेको घाउलाई फेरि ठोक्किएला भनेर जोगाउछौँ, त्यसैगरी प्रेममा ठोक्किएर रगत्ताम्मे मेरो मुटुलाई जोगाइरहेको म फेरि ठोकिन नजिकै गैरहेको थियो। उसका कविता, शब्द अनि आधा अनुहार देखिने ट्विटरको डिपीसँग म नजिक हुँदै थिएँ। डर पनि थियो कतै यो मेरै साथीहरूको फेक एकाउन्ट त हैन भनेर! किनभने एकपटक मैले भोग्नुपरेको थियो।
एउटा मेसेज लेखेर सुतेँ- 'एउटा कुरा भनौ हजुरलाई?'
भोलिपल्ट बिहानै आँखा खोल्नासाथ ट्विटर स्क्रोल गर्ने मेरो बानी। डिएममा एउटा मेसेज आएको नोटिफिकेसन देखाइरहेको थियो उहीँ मुस्कानको- 'सोध्नुस् न के कुरा?'
मेसेज १५ मिनेटअघि मात्रै आएको थियो।
मलाई त एकैपटक जन्मेको दिनदेखि हिजोसम्मको कुरा सोध्न मन थियो। तर के सोध्ने अलमल्ल परेँ। सुरुमा रियल एकाउन्ट होकि फेक अकाउन्ट हो कन्फर्म गरौँ जस्तो लागेर सोधेँ- हजुर केटा होकि केटी?
जवाफमा खित्का छोडेको इमोजी आयो र साथमा लेखिएको थियो- 'के लाग्छ?'
म- मलाई थाहा नभएर सोधेको।
ऊ- आधा तस्बिर देख्नुभएन?
म- आधा चिजको विश्वास लाग्दैन।
ऊ- म के गरौँ त लाग्दैन भने? यो मेरो समस्या हैन।
म- पूरा तस्बिर पठाऊ।
ऊ- किन पठाउँ?
म- कन्फर्म गर्न तिमी केटा कि केटी भनेर।
ऊ- म केटाकेटी दुवै हुँ।
म- आर यु गे?
ऊ- घरमा बाबाले कान्छो छोरा भनेर बोलाउनु हुन्छ।
म- ए, ए..
ऊ- उम्।
म- पठाउने कि नपठाउने फोटो?
धेरैबेरसम्म्म हराई। रिप्लाई पनि आएन। लकडाउनको बेला बाहिर कतै जाउँ त कोरोनाले गर्दा कर्फ्यू लागेको! मसँग फिल्म हेर्नु र सामाजिक संजाल चलाउनु बाहेक केही विकल्प थिएन।
रविन्द्रनाथ टैगोरको स्टोरीमा बनेको सिरिज हेर्न थालेँ। एक-एक एपिसोडको बीचमा ट्विटर खोलेर चेक गर्थें उसको डिएम आयो कि भनेर। तर अह! आएन। दिनभरिमा १७ वटा एपिसोड हेरेछु तर पनि उसको मेसेजको अत्तोपत्तो थिएन। साँझ खाना खाइसकेपछि ट्विटर छिरेको मात्रै के थिएँ मेसेजको नोटिफिकेसन देखेँ।
हत्तपत्त क्लिक गरेको साथीले फिल्मको लिंक मागेको रहेछ। मनमनै गाली गर्दै लिंक पठाइदिएँ र ट्वीट लेखेँ- 'किबोर्ड चलाएर साटिएका भावनाको आयु कति हुन्छ?'
सबैभन्दा पहिलो लाइक उसैको आयो। खुसी पनि लाग्यो रिस पनि उठ्यो। मेसेज लेखौँ नलेखौँ दोधारमा थिएँ। मनमनै सोचेँ, साथी चाहिएको मलाई हो उसलाई हैन। साथ चाहिएको मलाई हो उसलाई हैन। मन र दिमागको द्वन्द्व चलिरहेको थियो, जित मनकै भयो।
मैले लेखेँ- के छ दादा?
ऊ- म हजुरभन्दा सानै छु।
म- दादा भनेको भाइ पो हौ तिमी?
ऊ- हैन उमेरको कुरा गरेको।
म- फोटो पठाऊ न प्लिज, यस्तो रिक्वेस्ट भगवानलाई गरेको भए भगवानले दर्शन दिइसक्थे तिमीलाई यति गाह्रो?
ऊ- भगवानलाई हेर्नुस् न मेरो फोटो किन चाहियो?
म- अहिले कोरोनाको महामारी छ, भगवान आउन्नन् त्यसैले।
ऊ- गफाडी
म- तिमी पनि कम छौ र?
ऊ- म सोझी छु ल।
म- सोझो मान्छेले फोटो पठाउन हुन्न हो?
ऊ- एउटा सर्तमा पठाउँछु।
म- हर सर्त मान्न तयार छु।
ऊ- हेरिसकेर डिलिट गर्नुहोला।
म- ओके।
उसले फोटो पठाई। गाजलु ती ठूला-ठूला आँखा, ए आँखेँ देखकर हम सारी दुनियाँ भुल जाते हे, ये चान्दसा रोशन चेहेरा तीनै वटा गीत एकैपटक गुन्जिए मभित्र! सबै गीतमा तारिफ गरिएको शब्दमा भन्दा राम्रो उज्यालो थियो उसको उनुहार।
मैले सोधेँ: आफ्नै हो नि?
ऊ- अरु नि हेर्ने?
म- हेर्ने।
ड्याङ, ड्याङ चार वटा अलग-अलग फोटो पठाई। म हेरेको हेरै। सायद मेरो प्रेममा ठोक्किएर घाइते भएको मुटु फेरि ठोक्किएर दुख्न तयार थियो।
ऊ- अब पत्याउनु भो?
म- उम् पत्याउनै पर्यो।
त्यसपछि हाम्रो फोटो, कुराकानी, भावना आदानप्रदान हुन थाले। लकडाउनमा केही गर्न नमिल्ने, बिहानैदेखि बेलुकासम्म च्याट हुने। कुनै दिन दिनभरि घन्टौंसम्म फोनमा ऊसँग बोल्ने मेरो दैनिकी बनिसकेको थियो। बोल्दाबोल्दै यति नजिकिएछ लाग्थ्यो एकअर्कालाई नभेटी, नदेखी प्रेम हुन सक्दैन। तर म गलत थिएँ, आत्माबाट हुने प्रेममा कसैलाई भेटिरहन देखिरहन नपर्ने रछ। बोल्दाबोल्दै कहिलेदेखि मन पराउन थालेछु याद छैन।
बोल्दाबोल्दै उसले मलाई यतिसम्म बुझिछ सायद मैले आफूले आफूलाई पनि बुझेको थिइनँ। साँच्चै भन्नुपर्दा उसले मलाई आफैँसँग परिचय गराएकी थिई। ऊसँग बोल्दा लाथ्यो म ऐनामा हेर्दै आफैंसँग कुरा गरिरहेको छु। अनि कहिलेकाहीँ लाग्थ्यो ऊ मेरो शरीर भित्रको कुनै वस्तु हो। जसले मेरो मनदेखि तनसम्म सबैलाई देखेको छ। जिन्दगी बाँचेकोदेखि भित्र चल्ने सोचसम्म सबै थाहा छ। हो, मलाई लाग्थ्यो ऊ मेरो आत्मा हो। ऊ मलाई सदियौँदेखि जान्दछे बुझ्दछे! ऊसँग कुराकानी गरिरहँदा मलाई त्यस्तै लाग्थ्यो।
तर उसले सबैथोक जानेर पनि यो किन जान्न सकिन कि म उसलाई मन पराउछु भनेर? किन उसले जानिन मेरो बिहानको आँखा खोल्दा आउने पहिलो सोचदेखि राति सुत्नु अगाडिको अन्तिम सोचमा पनि ऊ नै हुन्छे भनेर?
किन बुझ्न सकिन उसले कि केटा मान्छेहरु पनि लजालु हुन्छन्? किन चाहान्छन् केटाले नै प्रस्ताव राखून? मैले बुझ्न सकेको थिएन त्यसैले म प्रस्ताव राखेर प्रष्ट हुन चाहान्थेँ, मन भित्रको बोझ खोलेर हलुका हुन चाहान्थेँ।
एकदिन प्रस्ताव राख्ने सोच बनाएँ, मनमा विभिन्न डर थिए। एक त सामाजिक संजालमा भेटेको। अर्को कुरा बोल्न थालेको एक महिना भएको छैन। के सोच्ने होला? तर मलाई भित्रभित्रै प्रेम दबाएर राख्न पनि गाह्रो भैरहेको थियो। लाग्थ्यो म हावाले भरिएको ठूलो बेलुनलाई पानीभित्र दबाउन खोजिरहेको छु।
मैले एकदिन च्याटमा सोधेँ, 'प्रेम भनेको के हो?'
ऊ- प्रेम गर्नु भनेको आफूलाई अर्कामा चिन्नु हो।
मलाई सायद यस्तै भैरहेको थियो। मलाई प्रेम भैरहेको थियो। उसको हरेक शब्दहरुमा आफूलाई पाउँथेँ। उसको मुटु मेरै निम्ति धड्किरहेको छ जस्तो लाग्ने। म उसलाई हेर्दा आफूलाई चिन्न थालेको थिएँ। उसको नजरमा आफ्नो परिचय भेट्टाउथेँ। तर के मैले गरेजस्तै महसुस ऊ पनि गर्छे होला कि गर्दिन होला?
के ऊ मलाई प्रेम गर्छे होला? उसको मनमा मप्रति भावनाहरु होलान् कि नहोलान्? यस्तै सोच्दा सोच्दै निदाएछु।
भोलिपल्ट बिहानै उठेर मैले आफ्नो मनको सबै भँडास डिएममा पोखेँ। मन पराउँछुदेखि तिमीसँग बिहे गर्न चाहान्छु टाइपको २/३ पेज लामो मेसेज पठाएर मोबाइल बन्द गरेँ।
सोच्न थालेँ, मैले सही गरे कि गलत गरेँ समाजिक संजालमा मन पराएर? नभेटिकन, नदेखिकन प्रपोज गरेँ उसले मेरो बारेमा के सोच्ली? के लेख्ली रिप्लाईमा भन्ने कुराले मनमा बेचैनी थियो। बारम्बार ट्विटर खोलेर हेर्थें। रिप्लाई आएन!
ट्विटर चलाइरहने मान्छे १२/१३ दिनदेखि बेपत्ता थिइन्। किन आइनन् भन्ने मनमा कौतुहलता जागिनै रह्यो। १४ दिनको दिन साँझ खाना खाएर सुत्नु अगाडि ट्विटर हेर्दै थिएँ एउटा मेसेज आएको नोटिफिकेसन देखायो। हत्तपत्त क्लिक गरेँ, मेसेज उसैको थियो-
'सरी मित्र, मलाई र मेरो छोरी दुवैलाई कोरोना लागेर क्वारेन्टाइनमा थियौं। त्यसैले रिप्लाई गर्न ढिलाई भयो।'
यति मेसेज पढेपछि कतिबेरसम्म म, मेरो मुटु, मस्तिष्क सबै शून्य भए थाहा छैन। होस आएपछि लेखेँ, 'आफ्नो र आफ्नो परिवारको ख्याल गर्नुहोला।'