अब भने माथि हामी चार जना मात्र भयौँ। हतार-हतार तल गएर माथि आउने गेट लगाएँ।
कुर्सी टेवल छतमा लगेर त्यही मदिरापान र खाना दुवै खाने सल्लाह भयो। त्यही मुताविक तयार भयौँ। पहिले मदिरापान गरेर खाना खाने भइयो। मदिरापान गर्न नारद आतुर भैसक्या थियो किनकि योजनाको प्रस्तावक पनि त उही थियो।
नारद: मैले प्याक बनाएँ है?
काले: ल ल, कडा नबना है फेरि खान सकिन्न नि।
नारद: आफूलाई जस्तो मनपर्छ त्यहीअनुसार गर्!
यमन: रमेश, जा न स्न्याक्स लेरा, तल तयार गरेर राख्या छु।
म: ल यो स्न्याक्स।
सबैले आ-आफ्नो भाग लियौँ र चेयर्स भन्दै पिउन सुरु गर्यौं।
काले: ओइ क्लासिकल सङ्ग्स बजान।
मलाई पनि औधी मन परेको अमिताभ बच्चनको 'शराबी' फिल्मको गीत याद आयो र त्यही बजाएँ। जहाँ चार यार मिल्जाए तो रात हो गुल्जार' यस फिल्मले मेरो मन जितेको छ। शराब र शराबी गलत होइनन् त्यो बस हालातले निर्धारण गर्छ। कतिसम्मलाई लिमिटमा लिने भन्ने कुरा।
यस्तै प्रकारका संगीतसँगै झुम्दै गर्दा एक अर्को शराबी गीत बज्न पुग्छ 'मुझे पिनेका शौख नहि पिता हुँ गम भुलानेको।' यो गीतसँगै नारदको प्रश्न आँउछ, 'रमेश, याद छ नि तँलाई?'
म: के कुरा?
काले: तेरो प्यारी तँबाट टाढा हुँदा रुँदै दारु खाएको।
यमन: निको भएको घाउमा चिरेर नुन किन छर्न खोज्छौ केटा हो, यस्तो कुरा नगर।
म: ओ खोया हुवा कल हे, अभि सब कुछ भुलचुका हुँ।
यमन: तैले त गजल लेख्न नि छोडिस् किन हो कुन्नी? भेट भएपिच्छे गजल सुनाएर हैरान गर्थिस्।
नारद: ए शाम मस्तानी मदहोस् पिए जा... एउटा गजल जाओस् न त रमेश।
म: मैले गजल लेख्न छोडेको धेरै भैसक्यो त्यही पनि गतिलो छैन। तर मैले लेखेको अन्तिम गजल सुनाउँछु है?
गजल
म शून्य छु यो कुरा, तिमीलाई थाहा छ
म नगन्य छु यो पनि, तिमीलाई थाहा छ।
जीवनको हरेको क्षणमा संघर्ष त गर्दै छु,
म गलेर पनि उठ्दैछु, तिमीलाई थाहा छ।
तिमी स्वतन्त्र छौ आफ्नो निर्णय गर्नमा,
म सम्झाउन सक्दिनँ, तिमीलाई थाहा छ।
नसोच मलाई कमजोर अनि लाचार पनि,
म हारेर पनि जित्दैछु, तिमीलाई थाहा छ।
यो गजलसँगै सबै मौन भैदिन्छन् अनि म भन्छु किन बोल्दैनौ तिमीहरु? सबै एक स्वरमा भन्छन् 'भावुक बनाइस्।'
म: खैर छोड यस्ता कुरा बरु तिमीहरु के भएको? जाबो सानातिना कुरामा टेन्सन लिएर जति बेला नि दारु खाँउ दारु खाँउ भन्छौ। म तिमीहरुसँग बाहेक खासै दारु खादिनँ। बरु टेन्सन भयो भने समस्याको जड केलाउन थाल्छु अनि समाधान गर्नतर्फ लाग्छु। तिमीहरु भने दारु खाएर झन तनाब सृजना गर्छौ अनि फेरि तनाब भयो भनेर दारु सुरु गर्छौ।
नारद: एकदिन यसकोमा बसेर के खान आएको पाठ नै पढाउन थाल्यो नि। हैन त घने?
काले: तिमीहरु पो अविवाहित, के थाहा तिमीहरुलाई पीडा हैन त यमे?
यमन: हैन के भाछ तँलाई काले? आगो नि नठोसी बल्दैन, बुढाबुढीमा अलिअलि ठाक्कठुक्क त भैहाल्छ नि। बरु मेरो ठिक छ नो किचकिच!
नारद: तिमीहरुको जिन्दगी सेटल भो। काले र यमेको जागिर र बिहे दुवै अब रमेशको बिहे बाँकी मेरो दुवै शून्य।
म: तेरो पहुँच ठूलो छ, पार्टीको उच्च व्यक्तिसँगले हेलमेलले लाइफ सेट होला नि।
नारद: हुनुपर्ने चै! सब, चल बेटा सेल्फी ले ले रे हो। चुनाव आउँदा र आन्दोलनमा सम्झिने हुन्, बाँकी समय बेरोजगारीमै दिन सकिन्छ। त्यस्तै बेला दारु खाने पैसा नि हुन्न।
यत्तिकैमा यमनको फोन आउँछ अनि सबैलाई चुप बस्न आग्रह गर्छ। फोन भाउजूबाट आएको हो। कल राखिसकेपछि भन्छ, 'वास्तवमा बिहे गरेपछि साथीभाइ भनेर बस्न पाइन्न, एक/दुई घण्टा त गाह्रो बनाउँछन् त्यसमाथि आज यतै बसिने भैयो।'
काले: देखिस्, अघि खुब मेरो आनन्द छ भन्या होइन। त्यसैले केटा हो तिमीहरु चै बिहे नगर मेरो सुझाव। अब भोलि दमकल लिएर घर जा नत्र आगो दन्केसी खरानी होलास्।
सबै जना गललल्ल हाँसियो।
नारद: हेर केटा हो, म बेरोजगार फुट्या कौडी छैन कसैलाई भेटुँ भने चिया खुवाउने पैसा छैन। त्यसैले साथीभाइ पनि चियाभन्दा दारु खाउँ भन्छन्। यसरी तनाब हटाउन दारु पिएको हुँ।
काले: के हामीले रहरले घुट्काका हौ र?
यमन: हैन केटा हो, अघि रमेशले भन्यो नि हामी तनाव भएर दारु पिउछौँ तर हामी तनाव सृजनाको कारण खोज्दैनौँ। त्यही दारु पिलाई फेरि अर्को जटिलता बनेर आउँछ अनि समस्या समाधान हुन्न। अनि फेरि मदिरापानमै झुल्ने!
म: ल बाह्र बज्न लागेछ खाना नि सेलायो, म खाना तताउँछु अनि खाना खाऔँला।
सबैले ओके भनेपछि खाना तताएर खायौँ अनि सुत्यौँ।
बिहान फेरि नौ बजे अफिस लाग्नुछ अनि काले र यमनको के हुने हो थाहा छैन। तर अब विशेष अवस्था नभई मदिरापान नगर्ने निर्णय गर्यौं।
मदिरापान तनाव घटाउन भन्दै सेवन त गर्दछन् मदिरा सेवनकर्ताले तर थप तनावग्रस्त तर्फ धकेलेको देख्दैनन्। अर्कोतर्फ यता स्वास्थ पनि खराब बन्छ। मदिरापानमा जति खर्च गरे पनि जम्मा यति त हो।
यति त कहिलेकाहीँ भैहाल्छ नि भन्दा खास खर्च धेरै देखिँदैन तर यसले भित्र्याएको विकृति, पारिवारिक विचलन, सम्पत्तिको नास, समाजमा गिरावट गराएको मर्यादा, हेर्दा लाग्छ यो नै सामाजिक पारिवारिक अनि व्यक्तिको सबैभन्दा ठूलो शत्रु हो। त्यसैले जनचेतनामा जारी सन्देश भन्दै बुझौं मदिरापान त्यागौँ। स्वस्थ जीवन जिऔं, सभ्य र खुसी रहौं।
यो पनिः
दुःख भुलाउने नाममा मदिरापान नगरे हुन्न?