दसैँ आउँछ अनि तिहार आउँछ
मित्रहरुको शुभकामना सन्देश आउँछ
शुभकामनाले मात्र टर्दैन चाडपर्व अनि
कमाउन हिँडेका मान्छेको याद आउँछ।
आउन त आउँछ उत्तरबाट भेडा र च्यांग्रा आउँछ
दक्षिणवाट मखमली र सयपत्री आउँछ
बजारभरि चामल र तेलको भाउ बढेर आउँछ
यसपालि पनि आउन मिलेन नि काली भनेर नआउने त
तिमी नै हौ प्यारा, त्यसै त मझेरीभरि तिम्रो याद छरपस्ट आउँछ।
दसैँसँगै तिम्रो पसिनाको अलिकति कमाइ आउँछ
पैसाभन्दा अगाडि ऋण तिर्नुपर्ने साहुको उर्दी आउँछ
जसोतसो व्यवहार मिलाउँदै नयाँ कपडा आउँछ
अनि घरमा छोराको रमाइलो दसैँ आउँछ।
उन्माद ती नव-जोडीहरुको खुसी बाटोभरि आउँछ
लट्टे पिङ र दोहोरीको रमाइलो माहोल आउँछ
मेरो हाल त के सोच्छौ प्रिय
पूर्णिमाको जूनले सकेन प्यास मेट्न
त्यसैले त तिमी सँगैको ती रगिंन रातको याद आउँछ।
कमाए रमाउला, मरे बाकसमा भन्दै
विदेशिएका परदेशीहरु
माथ्लो घरे साइला दाइको लास आउँछ
साहिली भाउजूको बिजोग देखेर
आँखाबाट आँसु आउँछ
हरेक पल झस्कन्छ मुटु
विधुवा हुने अब कसको पालो आउँछ?
दसैँ आउँछ अनि तिहार आउँछ
मित्रहरुको शुभकामना सन्देश आउँछ
शुभकामनाले भरिन्न पेट अनि
कमाउन हिँडेका मान्छेको याद आउँछ।