बारीमा फुलेका कोदो र खेतमा झुलेका धानका बालाले
दसैँ बोलाइरहेछन्
तर, मेरो शरीरबाट बग्ने रगतले मलाई
पर पुर्याइदिन्छ कि भन्ने डरले मुटु काँपिरहेछ।
मैरै हातले रोपेका फूलहरुले
घरभरि मिठो सुगन्ध फैलाइरहेछन्
तर, मेरो शरीरबाट बगेको रगतकै कारण तिनै फूलहरु
मबाट टाढा हुने हुन् कि, हातहरु पनि डराइरहेछन्।
बिहानै पूजाघरका भाँडा र देउताका मूर्तिहरुले
मलाई आह्वान् गरेजस्तै लाग्छ
तर दसैँका बिहानीमा तिनै देउताको नाममा मेरो शरीर पछाडि
धकेलिने पो होकि, मन आत्तिरहेछ।
देवीको पूजा गर्दा मेरै हातले बनाइने
ती मिष्ठान्न स्वाद
यसपालि पस्किन पाउँछु वा पाउँदिनँ
भान्सा छिर्न खुट्टा पनि डगमगाइरहेछ।
मैले राखेका तिनै जमराले
देवीलाई पुज्न पाउँदिनँ होला सायद
साइतमा मेरै हातले दही र अक्षता पनि
मुस्न पाउँदिनँ होला सायद।
तर समाज, कसैको शरीरबाट बगेको रगतकै कारण
पूजाघरकी देवीको वरिपरि दियो बलिरहँदा,
घरकी देवीलाई अँध्यारो कोठामा निदाउन
विवश बनाउनै पर्ने हो र?
पूजाघरकी देवीलाई चढाइएको मिष्ठान्न
घरकै देवीले खान खोज्दा त्यस्तो अभिसापको सोच किन?
पूजाघरकी देवी सजाउन
तिम्रै घरकी देवीले रोपेका हैनन् र ती सुन्दर फूलहरु?
तर उनैबाट ती फूल टिपिन खोज्दा
त्यस्तो अनिष्टको सोच किन र?
बिन्ती, यसपालि
एउटी देवीले अर्की देवीलाई कुनाबाट मात्रै नियाल्न नपरोस्
हरेक महिना सहजै स्वीकारेको रातो रगतलाई
दसैँकै दिनमा कसैले बोझ सम्झन् नपरोस्
शरीरका पीडा त यथावत् हुन्छन् हजुर,
तर मनका पीडाले नि शरीरलाई भारी बनाउन नपरोस्।
त्यसैले आउनुस् यसपालि-
पर सरेकी एउटी देवीलाई वर सारिहेरौँ
वर्षौंदेखि पर पन्छाइएको कसैको खुसी
र अधिकारलाई सबैमाझ समेटिहेरौँ
अन्तत: सदियौंदेखिको भ्रम तोडिहेरौँ।