भेट नभएको तीन वर्ष भएको थियो। म पनि अध्यापनमा निकै व्यस्त भएछु। लगातारको अध्यापनबाट पट्यार लागेर मैले एकदिन अनुजलाई सन्देश पठाएँ।
ऊ एक दिनमै जीवनभरको गतिलो साथी बनेको थियो। ऊसँग मेरो छ्यासछुस्स कुरा हुन्थ्यो। ऊ भन्थ्यो, ‘फुर्सद निकाल्नुहोस् न एक साँझ।’ मेरो सन्देश थियो, ‘लु यो शनिबार भेटौं अनुजजी।’
जवाफ आयो, ‘हुन्छ हुन्छ समिरजी।’
उनी कीर्तिपुर नै बस्थे त्यो बेला र म तीनकुने। त्यसदिन साँझपख म कोठाबाट हिँड्नुअगावै म्यासेज छाडें, ‘हाम्रो पहिलो भेट भएको ठाउँमा पाल्नुहोला अनुजजी।’
उनले सन्देश हेरेका थिए तर रिप्लाई गरेनन्। यद्यपि, म गएँ त्यहाँ, उनी आइसकेका रहेछन्।
झुस्स दाह्रीमा तिनको अति नै लुते ज्यान देख्दा म छक्क परेँ। पहिलेका तिनी र अहिलेका यिनी। एकदम फरक थियो।
मैले भनें, ‘तपाईं त पहिलेभन्दा बहुत लुताउनुभएछ अनुजजी।’
उनले फिस्स हाँस्दै भने, ‘तपाईंले पहिलो दिन नै छोडेर गइहाल्नुभयो त। त्यसपछि जीवनमा के के भए के के। पढाइ पनि छोडें र अहिले साहित्यातिर लागेको छु।’
मैले भनें, ‘हो अनुजजी, .... त्यसपछि सानोठिमीबाट पढाइ पूरा गरेँ र अहिले जीवन धान्ने काममा मात्र जोतिएको छु। त्यस्तो प्रगति हुन भने केही सकेको छैन। बरु तपाईंले खुसीको कुरा सुनाउनु भयो। म कामना गर्छु, राम्रो लेख्नुहोला।’ उनले भने, ‘लेख्छु टाक्कटुक्क, छोयो भने।’
मैले नोस्टाल्जिया हुँदै ख्यालठ्ट्टामा सोधें, ‘अनि ऊ त्यहाँ क्यान्टिनभित्र आँखा जुधेकी युवतीसँग तपाईंको खुब थियो क्यार। कहाँ पुग्यो त्यो यात्रा ?’
मेरो कुराले उनी एकाएक गम्भीर बने।
उनको अनुहारभाव बदलियो, मानौं सेतो नभमा बादलका धब्बाहरूले ठाउँ ओगटे। मैले उनको असहजताई महसुस गर्दै भनें, ‘होइन तपाईंलाई सहज हुँदैन भने अहिले छाडौं।’
तर उनले पछाडिबाट एक पत्रिका निकाले।
उनले त्यसलाई पट्याएर सानो आकारमा जेबमा घुसारेका रहेछन्। सुस्तरी एक पेज निकालेर पढ्न दिए। पढ्नुभन्दा अगाडि उनले भने, ‘यो अस्ति भर्खर लेखेको थिएँ शेखरले कर गरेर। एकछिन पढ्नु ल। म यसो डुल्नुपर्यो। उनी उठेर यसो कोल्टिए। म नबिसाई पढ्नतिर लागेँ।
शीर्षक थियो- ‘यस्तो पनि हुँदो रैछ ।’
मैले बिर्सेको छैन हाम्रो पहिलो भेट कहाँ भएको थियो भनेर। मलाई सम्झना छ, सतप्रतिशत ऊ त्यो क्यान्टिनमा। भोक लागेर त होइन, नवपरिचित साथीको आग्रहलाई स्वीकार गरेर सँगसँगै पुगेका थियौं। त्यो साथीसँग पहिलो भेटमा म आकर्षित भएँ जबकि म जीवनमा कलेज अवधिभर एउटै कक्षामा अध्ययन गर्दा पनि केहीसँग झिनो सम्बन्ध पनि गाँस्न नसक्ने मान्छे।
यस्तै हुन्छ सम्बन्धमा, आनीबानी वा बोलीव्यवहारको एक झिल्कोले तानिहाल्यो भने तानिहाल्छ नत्र एउटै बाटिकामा फुले पनि निकटता नझाँगिने रहेछ। यद्यपि, एउटा अटुट शोभा बाँकी नै छ त्यो फूलबारीको- बहुरंगी। कति सुन्दर।
हो, मलाई याद छ, समिरले लाल चिया मगाएको थियो र पछि ऊ आफैं गएर ल्याएको थियो क्यान्टिनको भान्साबाट। सायद पहिलो दिन भएर होला, मलाई त्यो दिन असजिलो महसुस भएको थियो। मेरो मन चन्चल र ठिकठाक मिजाजमा थिएन।
म भित्ताको कुर्सीमा बसेर अगाडिको एक समूहलाई हेरिरहेको थिएँ जहाँ युवतीहरूको एउटा झुन्ड थियो, कोही खाजा खाँदै, त कोही चिया पिउँदै। समिरले चिया लिन गएपछि झन् छर्लङ्ग देखें मैले त्यो एक समूहलाई, मानौं आकाशको निहारिका एक्कासि बिलायो र मैले क्षितिजलाई छर्लङ्ग देखेछु। उसले मेरो आधार विन्दुलाई पर्दा लगाएको रहेछ, छर्लङ्ग देखिएपछि मात्र ज्ञात भयो।
मलाई लाग्यो, मैले मेरो अधिकार थाहै नपाई गुमाएको पो रहेछु र पुन: प्राप्त गरेछु। मेरो दृष्टिलाई अलि पर छेक्ने एक चिया पिउँदै गरेकी स्त्री नै थिइन्। उनले मेरा दृष्टिलाई छेकिन् नै त नभनौं, बरु एउटा आधार दिइन् जुन आधारमा ठिक त्यस क्षणबाट मेरो यात्रा सुरू भयो।
समिर गएपछि त्यो स्त्रीसम्म पुग्नलाई मलाई कसैले छेक्दैन्थ्यो अब। उनलाई देखेपछि यस्तो लाग्यो कि दुई वसन्त आधा पनि काटिनसकेको जीवनको यो खुड्किलामा पुग्नुपर्ने गन्तव्य यही त हो।
निकै सरल र प्राकृतिक तवरले त्यो स्त्री लाल चिया पिउँदै थिइन्। उनका आँखाका गेडी ठूल्ठूला थिए। सुरूआतमा त उनी एकदम चन्चल थिइन्। उनका लागि पनि मेरो साथी पर्दा बनेको रहेछ। ऊ चिया लिन गएपछि हाम्रो झलक्क देखादेख भयो। मैल हेर्दा उनले आँखा अन्तै बटारिन्। उनले हातमा लिएर पिउन उठाएको चिया कप हठात् तल झारिन्, र त्यसपछि मात्र मैले मेरा नजर अन्तै बटारेँ। फलस्वरूप, उनलाई चिया पिउन सहजता थपियो।
निमेषभरमै देखेँ, कपको किनार उनको मुखमा टाँसिएको। फेरि मैले झलक्क हेर्दा उनले पनि मलाई हेरिरहेकी पाएँ। भनौं, कपको एक किनार मुखमा जोडाएर प्रस्टसँग उनले आँखा तन्काएर मलाई हेरिन्।
मलाई नयाँ कायदा थाहा भयो कि चियापसल वा रेष्टुरेन्टमा नयाँ मान्छेको अनुहार हेर्नुपर्यो भने कप ओठमा जोल्ठ्याएर आँखा तन्काउनु पर्ने रहेछ। त्यसपछि त, समिर आइपुगिहाल्यो चिया लिएर र मेरो अधिकार फेरि खोस्यो उसले। मैले प्रतिकारस्वरूप केही भनिनँ, केही गरिनँ। ती युवतीझैं प्राकृतिक तवरमा म अगाडि बढिरहेँ।
त्रिभुवन विश्वविद्यालयमा, स्नातकोत्तर स्तरमा शिक्षा विभागअन्तर्गत अंग्रेजी विषयको पहिलो दिनको पहिलो कक्षा, क्यान्टिनको प्रथम चिया चुस्की, नवपरिचित साथी र भर्खर आँखा हेराहेर भएकी एक अपरिचित युवती। यी सम्पूर्ण अनुभवको एउटा गतिलो र मीठो समिश्रण चियाको चुस्की सँगसँगै फरक उमंगका साथ म सोचिरहेको थिएँ।
यद्यपि, मेरो विचारको गति स्थिर भने हुन सकेन। होस् पनि कसरी ? नयाँ नयाँ अनुभूतिले हृदयमा डेरा जमाएपछि।
कहिले किनार त कहिले मझधारमा छालहरूसँगै पानीको बुद तप्लङ गरेपछि, कहिले भर्खर पहिलो कक्षा लिएर सकाएका गुरूका अभिव्यक्तिमा, त कहिले त्यो कप उठाउँदै गरेकी स्त्रीमा।
मैले भने- ‘आहा ! कति मीठो चिया ।’ लगत्तै साथीले भन्यो, ‘चियामा चिनी कम छ यार, मलाई त गाडा चिया मन पर्छ नि। म त चिनी थपेर आउनुपर्यो।’
‘हँ...’- म त उसको कुराले वाल्ल परेछु र निस्वरमा यति बोलेछु।
ऊ फेरि उठ्यो र लाग्यो कप बोकेर भान्सातिर। फलस्वरूप, बन्द पर्दा खोलियो र पुन: दृष्यहरू छर्लङ्ग देखिए। आँखा र मन कौतुकमय भयो। शरीर सिरिङ्ग भयो।
‘के भयो यस्तो !’
ती युवतीले मलाई पुलुक्क हेरेर दाहिने हत्केलाले आफ्नो कपाल अगाडि ल्याएर चल्मलाइन्। मुख बिगारिन् धेरै चोटि र फेरि सपारिन् अनि फेरि बिगारिन्। घरी स्थिर देखिन्थिन् त घरी अस्थिर। उनका अन्य साथीहरू दिलग्गीरूपी फोहोराकासाथ बात मारिरहेका थिए। सामूहिक हाँसो बेलाबेला गुञ्जिन्थ्यो कोठाभरि।
यस्तै त हुन्छ युवतीहरूले भरिएको अधिकांश कोठा। परिणामस्वरूप, खाजा खान आएकाहरूको नजर त्यतातिर पनि मोडिन्थ्यो, एक/दुई पलक।
तर, त्यो युवती फरक थिई। उसलाई सामूहिक हाँसोमा आफू लतारिनु रहेनछ। गफमा गफ्फिनु पनि रहेनछ। निकै संवेदनशील मुद्रामा देखिन्थी। हो, समिर नआइन्जेलसम्म हाम्रो बात भयो, केवल आँखाबाट। त्यसको प्रमाण भित्री दिलले दर्हो गरी अठ्याएथ्यो। तत्क्षण एक फरक झिल्को जुन युवावयमा झिल्किने गर्छ, त्यो झिलिक्क पनि गर्यो हृदयका भित्तामा। मलाई कस्तो कस्तो अनुभूति भयो। हो, मैले फरक अनुभूति गरिरहेँ, पर्खालमा लिन हुँदै जीउ बङ्ग्याएर र उनैलाई ननियालेझैं नियालेर।
हामी दोस्रो कक्षामा पस्यौं। तर मलाई याद छ कि म ठिक मिजाजमा छँदै थिइनँ त्यहाँ। एक गुरू आए र मुहारमा हाँसो दबाएर भन्न थाले, ‘म अरुभन्दा अलि फरक छु। तपाईँहरू विस्तारै चिन्दै जानुहोला।
तर, एउटा कुरा के भने, म कसैको पावर, धाकधम्कीमा डराउने शिक्षक चैं होइन, मलाई त्यस्तो काम चैं नगर्नुहोला। राम्रो गर्नुहोस्, नम्बर लानुहोस्। अन द स्पोट नम्बर पाउनुहुनेछ।’
मैले कुरा बुझिनँ त्यहाँ, लाग्यो कति कठोर बोली तिनको। म छक्क परें कि किन यो पहिलो बोलीमै नम्बरको कुरा ? के विद्यार्थी नम्बर लिन धाएका हुन् र विश्वविद्यालय ? सिलसिला के थियो। मलाई लाग्छ कि विश्वविद्यालयका कोहीकोही शिक्षकहरू यो सोचिदिन्छन् कि विद्यार्थी नम्बरका लागि आफ्नो पछिपछि लागून्। विद्यार्थी माया र प्रेममा चैं बिलकुल नरमाऊन्। मानवता र जीवन कलाको सीप बिर्सिऊन्। सीप/कलालाई नतिखारुन्।
सहृदयदा, मेलमिलाप, भाइचारा र विश्ववन्धुत्वको पाठ सिक्न जरुरी छैन। मैले बुझ्नै सकिनँ। के भइरहेको थियो मेरो जीवनमा त्यो स्त्रीलाई देखेपछि हँ!
मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरूको हब थियो कीर्तिपुर। लोक सेवा होस् या शिक्षक सेवा, एउटा सपना पूरा गर्ने थलो थियो र अझै पनि छ तर विश्वविद्यालयमा विद्यार्थीको चाप भने वर्षैपिच्छे घटेको घट्यै। यसको पनि कारण होला। परिचयको सिलसिला अगाडि बढ्यो र मैले ती गुरूले भनेको कुरा एकछिन बिर्सिएँ। बिर्सिनुको पनि कारण थियो। म त्यो युवती बसेको ठिक पछाडिपट्टि बसेको थिएँ। जानेर होइन, संयोग परेछ।
पहिलो दिन भरिभराउ थियो कक्षा, लगभग ८० भन्दा माथि विद्यार्थी। सेक्सन ब्रेक भएको थिएन। सबैले यथास्थानबाट उठेर परिचय दिए। मलाई लाग्यो, अब एकैचोटि पालो आओस् मेरो अगाडि।
मलाई अरूको मतलब थिएन, थियो त केवल त्यो गुलाबी कुर्ताधारी युवती, जोसँग भर्खर संयोगले आँखाआँखा जुधेका थिएँ, जो मेरो अगाडि गम्भीर भएर विराजमान थिई। न पछाडि हेर्थी, न अरूका क्रियाकलापलाई नियाल्थी। उसका दायाँबायाँ बसेकाहरू भने यताउता चल्मलाइरहेथे। तर त्यो विल्कुल फरक थिई। उसको फरकपनले नै मेरो ध्यान आकृष्ट गर्यो। यसमा मेरो के दोष ! उसको के दोष!
‘गुड आफ्टरनुन एभ्रिबडी, इट्स मि मानुसी, फ्रम कलंकी, थ्याङ्क् यु।’ मेरो आतुरता टक्क अडियो जब यो सुनें। हो, मैले उसको बोली र नाम सुनें। कर्णमधुर बोली कानमा गुञ्जिरह्यो निकै बेरसम्म। म हराइरहें पछाडिबाट उसको निख्खर कालो कपालमा हेर्दै र ‘मानुसी’ नामलाई ओठमा हिन्दोल गर्दै।
एक्कासि मलाई समिरको ठूलो घोषले सम्झायो, ‘ओ..तिम्रो पालो आयो।’ म झसंग भएँ र जुरूक्क उठें। मेरो झस्काइ र हठातको उठाइ अरूका लागि त कति सजिलै हाँसोको विषय पो बन्न पुगिसकेछ। वरपरका ग्वाल्ल हाँसे। मलाई सम्झना छ, मैले हडबडाएर ‘मनुस’ भनेछु आफ्नो नाम, मनुज उच्चारण गर्नुपर्नेमा। र मैले त्यसोभन्दा युवतीले पछाडि फर्केर पुलुक्क हेरेर मुखमा हात लगेर अगाडि फर्केकी थिई। मलाई त्यो एकदम ख्याल छ।
कतिपय कुराहरू आफैं मिलेर आएका हुन्छन् या त पछि मिलाइन्छन्। आफैं तमामी भएका कुराहरू समुद्रका छालजस्ता, एक तरहले अगाडि बढेका र पछाडि सरेका। त्यसमा, प्रकृतिमाथि प्राकृतिक सुन्दरता देखिन्छ।
‘कस्तो संजोग थियो यो। ऊ बस्ने कलंकी, म पनि कलंकी। अब हामी बस्ने घर पनि एउटै हुनु नि कलंकीमा। नाम त उस्तै उस्तै भैसकेकै हो।’,अचानक मनमनै यस्तो चिताएँ।
‘धत् ! कहाँ त्यस्तो हुनु ?’, लगत्तै म हच्किएँ पनि र पछाडि सरें।
त्यस दिनको पढाइ सकियो तर यहाँ चैं मलाई ख्याल छैन सबै। त्यही एक शिक्षकले भनेको कुरा मात्र हेक्का थियो र छ अझै पनि। समिरले मलाई बल्खुसम्म छाड्यो र म बस चढेर कोठा आइपुगें।
मैले मानुसीलाई ख्याल पनि नगरेको होइन तर ऊ भिडमा कता बिलाई कता। समिरले हतार गर्यो हिँड्नलाई र म हिँडेको थिएँ। बोल्न मन अधिक थियो ऊसँग। परिचित हुन मन थियो चाँडै। बोलाउन मन थियो उसलाई ‘मानुसी’ भनेर।
मनले त्यसै भन्थ्यो मेरो। जसो मनले भन्छ हामीलाई त्यसै त गर्न कर लाग्छ नि!
त्यसरात मानुसीलाई सम्झिरहेँ। उनका स्वभावको काल्पनिक फेहरिस्त पनि मनमनै बनाएँ- मसिनो बोली, लामो कपाल, ठूला आँखा, थोरै बोल्ने आदत, आफ्नो काममा दत्तचित्त हुने बानी, लजालू स्वभाव, अप्ठ्यारो मान्ने स्वाभाव, श्रृङ्गार सुहाँउदो, र कुर्तासलवारको पहिरन, अरू के के। यस्तै यस्तै विविधतायुक्त परिचयले भरिएकी थिई मानुसी। उसको नाम सबभन्दा प्रिय। बोली सबभन्दा मीठो। अरू के भनूँ ?
भोलिपल्ट चाँडै पुगेथेँ म कक्षामा। साथीहरू थपिँदै थिए। परिचयको र निकटताको श्रृङ्खलाले गति लिइरहेको थियो। मैले देखें मानुसीलाई मध्यतिर र झसंग भएँ। उनी बसिरहेकी थिइन् हिजो बसेको ठाउँमा र म उनलाई देख्नेबित्तिकै उनको पछाडि गएर बसिहालें।
हो त, मेरो चाल केही हडबडाएको थियो उनलाई देख्ने बित्तिकै। उनीसँगै बस्न मेरो आँट आएन।
मन त थियो नि, मन परेको मान्छेसँग सँगै बस्न। कस्लाई मन हुँदैन र ? तर झट्ट गएर बसिहाल्न मेरो आदतले रोक्यो। उसले कसरी लिने होला भन्ने प्रश्न जो जीवित थियो। उनी सम्पूर्ण विषयको विषयसूची हेरिरहेकी थिइन्, दत्तचित्त भएर। मानुसीले मलाई आएको पनि देखेकी थिइन्।
मलाई देखेपछि उनी अलि हडबडाएकी जस्ती भा’की पनि सही थियो। म पनि डराएको थिएँ। कस्तो डरभित्र छिप्पिएथ्यो त्यो त म व्यक्त गर्न सक्दिनँ यहाँ। यति चाहिँ भन्छु कि एकदम पोलेको थियो मुटु, तातो रगत उम्लिएकोजस्तो।
सबैतिर लगभग भरिँदै थियो बस्ने ठाउँ। मैले फोन गरेर बुझें कि समिर आज नआउने भएछ। मेरो साथमा नयाँ साथीहरू बसे। त्यस दिन नयाँ केटा साथीहरूसँग हाई/हेल्लो भयो। तर उनी बसेको ठाउँमा एक जोडी केटा आएर थ्याच्चै बसिदिए र लगत्तै उनीसँग बोल्ने प्रयास गरें। कस्को के लाग्छ ? चिन्दै नचिनी थ्याच्च बस्ने र प्याच्च बोल्नेहरूसँग।
मनमनै लाग्यो, केटीसँग आएर झ्याप्पै बस्न कस्तो अप्ठ्यारो नलागेको होला। उनीहरू त्यहाँ बस्न आउँदा मानुसीले ठाउँ सरेर मलाई फर्केर पनि हेरेकी थिइन् र अलि असजिलो महसुस गरेकी थिइन्। गुरू आउनुभयो पढाउनुभयो, जानुभयो। त्यस दिन निकै छटपटिएर बिताएँ मैले कक्षा। साँच्चै भन्नु पर्दा एक किसिमको इर्ष्या जागेथ्यो मनमा, ती जथाभावी बोलिहिँड्ने र बसिहिँड्ने युवकहरूप्रति।
त्यस दिन मानुसीलाई मैले एक्लै देखें फर्किंदै गर्दा। म पनि एक्लै थिएँ। म उसको निकटमै थिएँ। हाम्रो अझै पनि बोलचाल भएन। यसको दोष कसलाई दिनु ? म बोल्न खोजिरहेको थिएँ तर म सकिरहेको थिइनँ।
प्रश्न यो थियो- ‘आखिर के भनेर बोलाऊँ उनलाई ? के काम छ भनेर बोलाऊँ? झट्टै बोलिहाल्न सकिरहेको थिइनँ। जे होस् सम्पूर्ण संकायका कक्षा सकिएकाले सडकमा विद्यार्थी थिए छरपष्ट, बस चढ्न तीनकुने लम्किरहेका। त्यही भिडमा म पनि थिएँ र मानुसी पनि। विद्यार्थीहरू कोही हामीजस्तै एक्लै, त कोही दुक्लै। ऊ निकै रफ्तारमा हिँडी। सायद पछाडि फर्केकी भए त ऊ रोक्किन्थी कि जस्तो पनि लाग्थ्यो। ऊ स्टेसनरीमा पसी र म पनि त्यहीँ पस्न मन गरें।
भित्र पुस्तक हेर्दै मैले बोल्नलाई जोगामेसो मिलाएँ।
‘हजुरको अंग्रेजी संकाय होइन ?’ मैले जानीजानी प्रश्न गरें। तर कति डरपोक भएको थिएँ त्यति सोध्न पनि।
‘हो त’ उनले जवाफ फर्काइन् र पुन: पुस्तक नियाल्नमै दत्तचित्त भइन्। त्यसपछि के भनेर बोल्ने ? म जिल्ल परें एकछिन।
यदि दोस्रो व्यक्तिले बोल्न मन नगरेपछि गाह्रो र अप्ठ्यारो हुने रहेछ उभिरहनलाई। चाहेथें, उसले पनि केही प्रश्न गरोस् मलाई। लागेथ्यो, उसले मलाई चिन्छे होला तर त्यो त मेरो भ्रममात्र रहेछ। मैले आफ्नै लयमा केही पुस्तक किनें त्यहाँ। उनले पनि किनिन्।
म निस्किएँ त्यहाँबाट मन नभइनभइ। प्रचुर वेगमा गाडी चढ्ने ठाउँमा पुगें तीनकुने। त्यो क्षण मलाई के भयो के ! त्यसदिनसम्म म निन्द्रामा रहेछु भन्ने लाग्यो र सपना देखिरहेको रहेछु। म निकै प्रायश्चित गर्दै दौडधुप गरेर पुगेछु बस चढ्ने ठाउँमा पनि। पछुत्तो हुन्छ- आखिर पछाडि फर्केर किन हेरिनँ मैले ?
हो, उनी पनि पछिपछि आएकी रैछन् र बस चढ्ने ठाउँमा पुगेर फर्केर हेर्दा मात्र मन भरङ्ग भयो। सित्तल हावा मेरो शरीरलाई स्पर्श गर्दै बहेजस्तो पनि लाग्यो, उसलाई छिनभरमै देखेपछि।
मलाई ‘बोल् मानुसीसँग बोल्’ भनेर कसैले कानमा बेहद शक्तिले फुकेजस्तो लाग्यो। म आतुरिएको मान्छे उसको आगमनले फेरि एकाएका गम्भीर बन्न पुगें। तर त्यो कस्तो संकेत थियो कुन्नी ! मलाई घच्चघच्याउने, त्यो आवाजको।
अन्तत; मैले अप्ठ्यारो मानीमानी बोलें, ‘मलाई याद छ तपाईं पनि कलंकी हो जाने।’ केही सन्नाटा छायो एकछिन।
उनी अलमलमा परिन् र ओठमा हात लग्दै भनिन्, ‘ल.....कसरी थाहा पाउनुभयो ? साँच्चै कुन कुन पुस्तक लिनुभयो तपाईंले ?’ हो रहेछ, सित्तल बतास नै चलेको रहेछ। कसैले मेरो कानमा आएर ठिक मौसममै संखघोष गरेको रहेछ। मैले साह्रै निकटको प्रतिक्रिया दिएँ, ‘म त्यस दिनबाट तपाईंसँग बोल्न खोजिरहेथें तर अप्ठ्यारो लागिरहेको थियो मानुसीजी। तपाईंले फरक पो सोच्नुहोला कि.. भनेर।’
उनी लाजले जडवत् भइन् र नयाँ बजारको सुदूरमा देखिने घरहरूतिर आफ्ना दृष्टिलाई ठोक्काइन्। मलाई लाग्यो, मैले पहिलो बोलचालमै नबोल्ने कुरा बोलें र उनको मनलाई धक्का पुर्याइदिएँ र फेरि कुन आवेगमा आएर थपें, ‘..र यो पनि होइन कि मानिस प्रेममा लगातार तड्पिरहोस्।’
मेरो अन्तिम कुरा सुनेर मलाई उनले पुलुक्क हेरिन्। त्यतिकैमा गाडी आइहाल्यो र हामी चढिहाल्यौं। उनी म बसेकै सिटमा आएर थचक्क बसिन्। त्यसपछि त निकटताको झिल्को झिलिक्क गर्यो र मैले उनको अनुहार झलक्क हेरें। एकदम डराएकी, रातोपिरो मुहार थियो उनको। मैले केही क्षण बोलिहाल्न जरुरी ठानिनँ।
सायद, म पनि त भित्रभित्रै उनीजस्तै लाजले पाकेको थिएँ कि! तर ज्यादै मायावी मौसम थियो त्यो, नबोले पनि क्या आनन्द आइरहने। सुन्दर मिठासले भरिएर वसन्ती मौलाएकीजस्ती।
यात्रुको चाप गाडीभित्र ज्यादा थिएन। यद्यपि, सबै सिट भरिभराऊ भएर पनि कोही उभिरहेका थिए, अगाडितिर।
मैले उनलाई सोधें, ‘कस्तो लागिरहेछ त कक्षा ?’ उनले मुखरा भएर भनिन्, ‘ठिकै, तर मिल्ने साथी नै पाएको छैन मैले। हिजोका साथी खै कता गए, म त एक्लै आज। आज त खाजा खान पनि पाइएन।’
म पनि दु:खी भएँ उनको कुराले। भन्न त मन थियो, ‘मलाई भनेको भए म तयार थिएँ नि!’ तर मुखबाट फुस्किहाल्न हतार गरेनन् शब्दहरू।
मैले यति चाहिँ थपेँ, ‘अँ क्यार, क्यान्टिनको लाल चिया औधि मीठो छ।’
उनले पुलुक्क हेरिन् र मुखमा हात लगेर अन्त कतै हराइन्। बल्खु आइपुगिसकेछ। हामी झर्यौं, खाजा खायौं र कलंकी लाग्यौं। त्यस साँझ गाह्रो भएथ्यो मलाई उनीबाट छुट्नलाई। छुट्ने बखत यस्तो भएथ्यो, मानौं हातबाट चंगाको लटाई चुटिएजस्तो।
उनले पुग्नेबित्तिकै फोन गरिन्, ‘पुग्यौ कोठा ?’ उनले भन्दै गरेको ‘तपाईं’ लाई विश्राम लिने निधो गरिछिन्।
यसमा छुट्टै मिठास र सम्बन्धमा वान्की पनि त थपिन्थ्यो। एक झिल्को झिलिक्क गर्यो हृदयमा र शरीर नै झम्झमायो। मैले यथार्थ बोलें, ‘म एकोहोरो भएको छु त्यस दिनदेखि। किन किन तिम्रो तस्वीर घुमिरहन्छ आँखामा। मन स्थिर हुन सकेकै छैन। के म यसरी नै तड्पिरहनु हरबखत!’
कति शक्ति हुन्छ मायामा ? बाफ्रे ! मलाई ज्ञात भयो। किन मानिसहरू मायामा पागल हुन्छन्, त्यो पनि मलाई ज्ञानातित भयो। मैले लगत्तै फोन गरेर जवाफ मागें, ‘....यसमा तिमीलाई आश्चर्य पनि लाग्छ होला मानुसी, न हदै बातचित, न लामो परिचित, कसैले यति गर्न सक्छ ? सिलसिला यो हो कि मैले तिम्रो आनिबानी पछ्याएको छु। मैले तिम्रो आदतलाई माया गर्छु। तिमीलाई तीन दिनबाट नियाल्दै आइरहेको छु र तिमीसँग एक्लैएक्लै हराइरहेको छु, मनको लड्डु बनाएर। यसमा तिम्रो जवाफ के होला ? त्यो त थाहा छैन।’
मेरो कुरा सुनेर बेजवाफ उनले फोन राखिदिइन्। तर राख्नुभन्दा अगाडि लामो सुस्केरा गुञ्जियो मेरो कानमा। सायद कठिन भयो उनलाई निर्णय लिइहाल्न।
र भरे नौ बजे फेरि गरिन् र सोधिन्, ‘खाना खायौ। के गर्दैछौ ? आजको सरले पढाएको बुझ्यौ ?’ मैले उही कुरा दोहोर्याएँ, ‘म छटपटीमा छु। अहिले म झ्यालबाट माथि आकाशमा हेर्दैछु।’
उनले नबोल्दै हतारहतार फेरि थपें, ‘मानौं वर्षायामको एउटा खोलो जथाभावी दौडिरहेछ र बिगार गरिरहेछ आफैंलाई पुज्ने बस्तीमा अनि माथि इन्द्र भगवान टुलुटुलु हेरिरहेछन् यो विनाशलाई।’
उनले भनिन्, ‘कस्तो कायदा हो तिम्रो माया गर्ने ? पूरै शब्दमा डुबेर मेरो सम्पूर्ण तनमनलाई हल्लाइदियौ यार तिमीले। मलाई एकदम डर लाग्यो। के भयो मभित्र एक्कासी!’ उनले लत्रेको आवाजमा मैसँग जवाफको अपेक्षा गरिन्, ‘भन म के गरौं ?’ मैले भनें, ‘एउटा विश्राम देऊ यो उत्तापलाई बिसाउने। छहारी त आफैं बन्ला आउने दिनहरूमा।’
यसरी उनको र मेरो माया झाँगिएर गएको थियो, तीन दिनमै। हामी कलंकीबाट सँगसँगै आउँदा, कक्षामा बस्दा र जाँदा सायद अरुको मनमा हामीप्रतिको धारणा फरक थियो पनि होला। पछिपछि परिचितहरूमा खासखुस र हल्ला पनि चल्यो क्यार। यसको हेक्का थोरबहुत त मलाई र उनलाई पनि थाहा थियो।
पछिपछि त मेरा साथीहरू पनि झाँगिएर गए। शेखर एकदमै प्यारो भयो। ऊ साहित्यिक मान्छे थियो तर विश्वविद्यालयमा कीर्तिपुरको घरबेटीकी छोरीसँग लसपस थियो भन्ने हल्ला व्याप्त थियो। यतिसम्म कि घरबेटीकी छोरी उसलाई लिन यही क्याम्पसमा पनि धाउन थाली। पछि निर्दोष डेरावालको नामले परिचित भयो। कस्तो गहिरो माया थियो दुई आत्माको। मैले मानुसीसँग यो कुरा पनि बताएको थिएँ।
एक क्षण, परीक्षा सकिएको समय थियो क्यार। परीक्षा सकिनेबित्तिकै शेखरलाई प्रहरीले गिरफ्तार गर्यो। अच्चमित भए सबै। त्यस्तो सोझो र असल शेखरले के उपद्रो गरेछ ? ऊ बिल्कुल गलत गर्ने मान्छे त थिएन। फसाइएको हुन सक्छ। तर, हल्ला सही थियो या झूटो!
‘घरबेटीनीसँग रिसिइबी साँधेर शेखरले उसकी छोरीलाई अपहरण गर्यो रे।’
मानुसी डराइन् र मेरो नजिक आइपुगिन्।
‘मनुज, मलाई त एक्कासि डर पो लाग्यो’, उनले भनिन्।
मैले भनें, ‘हेर, दुनियाँमा हरेकका आआफ्नै कथा/व्यथा हुन्छन्। कुन नजरबाट हेर्दैछौ तिमी यो घटनालाई हँ ! फेरि तिमीलाई थाहा छ नि यहाँ दुर्गम सोचका विद्यार्थी र गुरुहरू नै अरुको कुरा काट्दै हिँड्ने, बजाइदिने गरिरहेछन्। यही कुरामा अस्ति गुणराजले माफी पनि माग्यो रे। त्यै भएर यो कुरा असत्य पनि हुन सक्छ।’ उनी सम्हालिइन् मेरो कुराले र हामी पढ्न कक्षामा पस्यौं।
मायाको यात्रा साँच्चै रंगीन यात्रा। जरुरत पर्दैन थियो कोही। बस् माया गर्ने मान्छे मानुसी भइदिए पुगिसरी हुन्थ्यो।
उनी कोठा पुगेपछि फोन गरिहाल्थिन्, म्यासेज गरेको गरै गर्थिन् र मबाट एकछिन पनि टाढा हुन मन गर्दिन थिइन्। मलाई सम्झना छ कि मैले गर्नेभन्दा ज्यादा प्रेम उनले मलाई गर्न थालिछिन्।
उनी एक्लै बस्थिन् त्यहाँ तीनतले घरको भुइँ फ्लोरमा। यदि म कुनै दिन कलेज गइनँ भने उनी पनि जान्न थिइन्। म यस विषयमा सम्झाउँथें उनलाई, ‘जाऊ, पढ म नगए पनि। यसले मलाई पनि फाइदा गर्छ।’
उनी भन्थिन्, ‘तिमी नभएको कक्षा, कक्षा जस्तो लाग्दैन मनुज । सारै पट्यारलाग्दो, उदासिलो लाग्छ । खिन्न हुन्छ मन तिमी भएनौ भने।’
अब कसरी सम्झाउनु उनलाई!
एक रात ज्यादै झस्किएँ म। केही दिनबाट पढाइमा मन फिटिक्कै गइरहेको थिएन। किनकिन जतिखेरै उनैसँग बोलिरहूँ लगिरहने। र बोल्दा बोल्दै व्यालेन्स सकिएर आफैं फोन काटियो त्यसरात।
सम्झना छ- त्यसै रात एक अघोर सपना देखेको। त्यस रात चकमन्न रात थिएन, माथि जूनले आफ्नो तागत धर्तीउपर देखाइहेथ्यो र म प्रष्टसँग उनको चेहरा देखिरहेथें। उनी लजाउँथिन् मलाई हेर्दै अरुबेला तर त्यसबेला उनी एक किसिमको खैँचाखैँचीले जेलिएर मुखरित भएकी थिइन्।
हो, मेरो झ्यालबाट उनी मेरो कोठामा प्रवेश गर्न खोज्थिन् र म मसिनो आवाजमा सम्झाउँथें, ‘यो सम्भव छैन मानुसी। बिहान हुन देऊ।’
उनी भन्थिन्, ‘ज्यादै हतार छ मनुज, केही भन्नु छ तिमीलाई र जानु छ म।’
मैले भनें, ‘कलेज जाँदा भनौली।’
उनले मलाई हेरेर आँसु बगाइरहिन्। मैले एकोहोरो हेरिरहन सकिनँ। मैले झ्यालबाट हात लगेर उनको आँसु पुछिरहें र उनको कपाल मिलाइदिएँ। अनि सम्झाउँदै भनें, ‘कति तडपाउँछौं मलाई ? यो कस्तो रहर गर्दै छौ झ्याल फोडेर पस्नलाई।’
उनले एकोहोरो अजिव क्रन्दन पोखिरहिन् थोपा थोपामा, सायद मेरो लागि त्यो अज्ञात रोदन भइदियो। त्यसको संकेत के थियो ? मेरो हत्केलो आँसुमय भयो र म झस्किएँ। अनि मात्र मेरो सपना हठात् खलल भए।
बाफ्रे ! निकै व्यग्र र आतुरिएको बिहान भयो। लाग्यो, म ठूलो दुर्घटनाबाट जोगिएँ। तर उनलाई कस्तो छ हँ ! हत्तपत्त पसल पुगेर व्यालेन्स हालेर बाटोबाटै सम्पर्क गरेँ। उनले सुरूमै सोधिन्, ‘के आश्चर्य हुन लाग्यो आज ! कति छिटो उठ्यौ तिमी ?’
उनको प्रश्न सुनेपछि मैले आतुरिएको आवाजलाई निस्तेज बनाउँदै मलिन स्वरमा सोधें, ‘मानुसी, तिमी सञ्चै छौ नि ? प्रिय, तिमीलाई केही भएको छैन नि।’
उनले पनि आश्चर्यता पोखिन्, ‘हैन तिमीलाई आज के भयो सबेरै, लौ जा, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिलेकहिले।
मैले खुसीले त्यै गीत गाइदिएँ...
यस्तो पनि हुँदोरैछ जिन्दगीमा कहिले कहिले...
कसैलाई माया गर्नु एउटा भूल गरें मैले।
यस्तो पनि हुँदो रैछ।
सदाझैं त्यसदिन हामी कलंकीबाट गाडी चढ्यौं। मैले उनको अनुहारमा हेरिरहें। उनले लाजको रंगलाई पोखाइरहिन मुहारभरि र मेरो हातमा चिमोटिरहिन्। मैले रातको सपना सम्झिरहें तर सुनाउन सकिनँ।
अनि उनलाई भनें, ‘यस्तो पनि हुँदोरैछ हगी!’
मैले अलि संवेदनशील हुँदै पुन: थपें, ‘आजभोलि पढाइमा त्यति मन गएको छैन। मन पहिलेको जस्तो स्थिर पनि हुन सकेको छैन। तिमीलाई सम्झिन्छु हरबखत, हरघडी। अब यस्तो लाग्दैछ कि हामी विवाहका लागि योग्य भएका छौं र ढिला नगरौं। आखिर एक वर्ष पनि कटिसक्यो मायामा र विवाह पनि एक दिन गर्नैपर्छ।’
उनले मलाई झन् चिमोटिन् र लाजले जडवत भएर मुख छोपिन् अनि झ्यालबाट क्षितिजतिर गौर गरिन्।
मैले केही भन्न सकिनँ उनलाई त्यसपछि। मैले पनि उनले हेरेतिरै हेरिरहेँ।
प्रेमिप्रेमिकाको हात कतिखेर छुटिन्छ ? सायद थाहा हुने भए त्यहीअनुसार योजना बुनिन्थ्यो होला यो मर्त्यलोकमा। तर, त्यो त हाम्रो बसमा छैन। बसमा नहुने जीवन मात्र होइन, माया पनि रहेछ। हामी हात समाउँदै मायावी दुनियाँमा बल्खुमा उत्रियौं र विश्वविद्यालय मार्गतिर लाग्यौं। हाम्रो हात त्यहीँ पुगेर छुटेको थियो। दैवले उनलाई मबाट त्यही बेला छुटाएका थिए।
उनी गाडीबाट उत्रिएपछि भन्दै थिइन्, ‘तिमी कतिसम्म मेरो हात पक्रिन सक्छौ ? भन त मनुज।’ मैले जिस्किँदै भन्दै थिएँ, ‘जीवनभर नि।’ उनी निसाफ माग्दै थिइन्, ‘साँच्चै?’ मैले भन्दै थिएँ, ‘हो सानु हो।’ हामी गाडी चढ्न बाटो क्रस गर्दै थियौं।
उनी अप्राकृतिक तवरमा मेरो दायाँ हात समाएर रमाउँदै, तन्किदै हिँड्दै थिइन्।
यही बखत एक्कासि पछाडिबाट बेजोडका साथ गुड्दै आएको बाइकले उनको शरीरमा कुनै व्याधाले ताकेर हानेको गोलीझैं ड्याम्मै हान्यो। मानुसी उछिट्टिएर पर पुगिन् र छटपटाइन्। छिनभरमै सडक रक्ताम्मे भयो। म सकुशल भएँ। बाइक सोहोरिएर मानुसीमाथि चढ्यो र त्यो व्याधा दक्षिणकाली पेट्रोल पम्पमा उछिट्टिएर पुग्यो।
नजिकैको बयोधा अस्पताल त लगियो तर उनी जिउँदो रहिनन्। मलाई सदाका लागि छोडेर गइन्। तर त्यसदिन उनले भनेका धेरै कुरामध्ये एक कुरा म बिर्सन सक्दिनँ- ‘यस्तो पनि हुँदो रहेछ!’ अस्तु !
यति सकेर मनुजतिर हेरेँ, ऊ थिएन त्यहाँ। कागहरू कराएको आवाज भयाङ्कर आइरहेको थियो। कुकुरहरू केही भुकिरहेका थिए सडकमा। झिसमिसमा मानिसको थोरै चहलपहल थियो सडकमा। म खिन्न अनुहार बोकेर कोठातिर लागें।