धारामा नुहाइरहेकी म अचानक तर्सेँ। आँखा डुलाएर चारैतिर हेरेँ। आफ्नै आँखासामु रातो रगत देखेँ, काँपे धेरैपटक त्यो पनि पलभरमै। क्षणमै आँखा भरिए आँसुले। यति धेरै रगत कसरी? रगत कहाँबाट आउँछ? रगत त शरीरबाट आउँछ। रुखबिरुवा झारपातबाट त रगत आउँदैन। रगत त शरीरबाटै आउँछ।
यहाँ वरपर गाईवस्तु, मुसो-बिरालो केही छैन। कतै मेरो शरीरमा चोटपटक त लागेन? म घाइते त भइनँ! मनले मनसँगै कयौं प्रश्नहरु उब्जायो र बिलायो। मुटुले धड्कन तीव्र बनायो। घाँटीले आवाज सुकायो। थुकले घाँटी भिजाउन खोजेँ। तर थुक मेरो जिब्रो वरपर कतै थिएन। च्याप्प ओठ सुक्यो।
दायाँ हातले जीउभरि छामेँ। दुवै नजर शरीरभरि घुमाएँ। अहँ! चोटपटक कतै छैन। जुकाले टोके रगत आउँछ भन्थे। तर जुका पनि कतै छैन। फेरि एक जग पानी घाँटीबाट खन्याएँ। एक-दुई पटक होइन धेरै पटक खन्याएँ। खलल पारेँ। धेरै पटक तर्सेँ। छलछल पानीको आवाज आयो। पानीको आवाजसँगै बोलेँ। मलाई के भयो?
बाथरुममा नुहाइरहेकी मैले धेरै पटक आफैंलाई निहालेँ। आफ्नै शरीरबाट रगत छल्ल बग्यो। रातो पानीको आहाल धारा वरिपरि भरियो। यस्तो के हुन्छ! निमेषभर टोलिएँ। टोलिएका आँखा र मनले के सोच्यो कुन्नी! अस्ति भर्खर रचना दिदीले भनेको सम्झेँ। 'म त महिनावारी भा'छु आज। अब तिम्रो पनि हुन्छ, पाँच/छ महिनाभित्र होस गर है मीना।'
अँ साच्ची! मेरो त महिनावारी पो भएछ क्यारे। छिनमै शरीर शिथिल भयो। आकाश झरेर मलाई थिचेझैं लाग्यो। त्यो आकाशले पनि मान्छे किच्दो रहेछ। मलाई त्यस्तै लागिरहेको छ आज। मलाई किचिरहेछ त्यो आकाशले। हिजोअस्ती कसलाई किच्यो कुन्नी त्यो आकाशले! भोलिपर्सि कसलाई किच्च कुन्नी त्यो आकाशले! जो-जो पहिलो पटक महिनावारी हुन्छन् ती सबैलाई किच्छ क्यारे आकाशले। मलाई किचे झैँ।
मान्छे किच्ने आकाश हो या त्रासद् मन हो? मैले बुझ्ने प्रयास गरेँ। तर बुझ्न सकिनँ। हातखुट्टा थरथरी काँपे। आँखा झरे भुँइतिर। आफ्नो वरिपरि रातै देखेँ। फेरि तर्सेँ। अब के गरूँ? कसलाई भनूँ? आमालाई भनुँ आमा छैनन्। दिदीबहिनी कोही छैनन्। नातागोतामा केटी मान्छे नभएको सम्झेँ। म किन एक्लै जन्मेँ? मलाई जन्माएर मेरी आमा कहाँ गइन्? मर्न पनि एक्लै मर्छु क्यारे। मर्न त सबै एक्लै मर्छन्। किन यति धेरै कुरा खेल्छन मनभित्र!
अँ साच्ची! रचना दिदीलाई भन्छु। झट्ट रचना दिदीको याद भरियो मुटुभरि। छिटो-छिटो कपडा फेरेर रचना दिदीकहाँ हानिएँ। बाह्र कक्षामा पढ्छिन् उनी। रचना दिदीलाई भनेँ। उनले सम्झाइन्। 'महिनावारी हुनु राम्रो कुरा हो। महिनावारी हुनु भनेको स्वस्थ हुनु हो। शरीर स्वस्थ भएको प्रमाणीकरण महिनावारीले दिन्छ। राम्रो भएछ। खुसी लाग्यो।'
उनले यस्तै धेरै कुरा अरु पनि गरिन् र सुनाइन्। उनले नै कपडा र प्याड प्रयोग गर्ने तरिका भनिन् र सिकाइन्। तैपनि म निराशसँगै घर फर्किएँ। मानौँ म चेतनाहीन प्राणी हुँ। शून्यतामा बित्दै गयो त्यो त्रासदीको पल। एकदिन हैन, दुई दिन हैन, तीन दिन बिते। धुम्म परेका ती दिनहरु मजस्तै थिए। पाँचौ दिनपछिका दिनहरु भने उज्याला हुँदै गए। आकाश उघ्रँदै गयो। मन पनि उघ्रँदै गयो। मनभित्र कता-कता धेरै रहरहरु उब्जिए। तर ती रहरहरु के हुन्? कस्ता हुन्? मैले ठम्याउन खोजेँ तर सकिनँ।
समय बग्दै गयो आफ्नै रफ्तारमा। म बगें समयको रफ्तारमा। समयले मान्छेलाई बगाउँछ रे। मलाई पनि बगायो। म जीवनमा पहिलो पटक तर्सेको त्यो दिन। कसरी बिर्सु? मलाई जीवनमा पहिलो पटक आकाशले किचेको दिन। म कसरी बिर्सू? त्यसपछि यिनै सरले तर्साए बाराम्बार।
आज पनि महिनावारी भएको दुई दिन भएको छ। एक त महिनावारीको पिरियड, तल्लो पेट र तिघ्रा कुटुकुटु दुखिरहेको छ। महिनावारी भएको बेलामा बढी रिस उठ्छ। झर्को लाग्छ। विभिन्न कुरा खेल्छन् मनभित्र। कुरा किन खेल्छन्? फूटबल र भलिबल खेलसरि! कुरा पनि फूटबल र भलिबल हुन्छन् र? नभए किन खेल्छन्?
कसले बुझ्छ मनको कुरा? मनको कुरा बुझ्ने को हुन्छ? कसले बुझ्छ दुःखाइको पीडा? पीडा बुझ्ने को हुन्छ? मलाई मात्र किन यस्तो हुन्छ हरबार? मलाई मात्र किन सबैले यसरी दुःख दिन्छन्? लेखा र गणित पढाउने सरको व्यवहारले किन तर्सिन्छु म? एकबार हैन। दुईबार हैन। हरबार! लेखा र गणित विषयमा के छ? के छ मलाई थाहा छैन। किताबमा पनि तिनै सरको अनुहार नै छ। ती दुई अनुहारले किताबै छोड्दैनन्। तीनै अनुहार टाँस्सिएझैं लाग्छ।
त्यसैले ती दुई किताब म मेरो ब्यागबाट कमै झिक्छु। कि त झिक्दै झिक्दिनँ। झिके पनि किताबसँगै डराउँछु। किताबसँग पनि डर लाग्दो रहेछ। कस्ता किताब हुन यी? विद्यार्थी डराउने! कस्ता किताब हुन ती विद्यार्थी तर्साउने! किताबले विद्यार्थी तर्साएको कहीँ कतै सुनेकी छैन। तर म आफै तर्सिरहन्छु किताबसितै। ती किताबका पानासितै।
पाँच फिट आठ इन्च अग्ला। कहिल्यै नहाँस्ने। हाँसो जलाएर आए। खुसी पोलेर खाए। यस्ता छन् गणित पढाउने सर। जन्मेको दिनमा हाँसोलाई जलाएरै जन्मेका हुन् कि यिनी। मलाई यस्तै लाग्छ, उनलाई देख्दा। रुखो बोली। बोली पिच्छे गोली किन मिसाएका हुन्! बिहान-बेलुका खानाको सट्टा गोली नै खान्छन् क्यारे यिनले। उनलाई देख्दा बित्तिकै मेरो मुटुको धड्कन छ गुणा बढेर आउँछ। गणितका अंकले पूरै ब्रम्हाण्ड घुमाएझैं घुमाउँछन् मेरो टाउको। त्यसैले त गणित पढाउने सर कक्षाभित्र पस्दा मलाई बाघ नै पसेझैं लाग्छ। भूकम्प नै आएझैं लाग्छ। मलाई मात्र हो कि! सबैलाई पनि यस्तै लाग्छ?
भर्खर तीन महिना भयो। आठ कक्षा पास गरेर नौ कक्षामा आएको। मेरो शरीर पनि परिवर्तन भइरहेको छ। स्तन पनि किन बढेका होलान् यसरी! सिसा-कलमले लेखेका अक्षर इरेजरले मेटाएझैं मेटाउन मिल्ने भए मेटाइ दिन्थें। लुकाउन मिल्ने भए लुकाइ दिन्थे। कसैले नदेख्ने गरी। रिस पनि झनक्क उठ्छ। जीउ नै लुकाउँ जस्तरी। यो जीउ किन बढेको यस्तरी!
लेखा पढाउने सर धेरै राम्रा छन् रे। सबैले यसै भन्छन्। स्मार्ट सर भनेर बोलाउँछन् उनलाई। यी स्मार्ट सरको त कुरै गरेर साध्य छैन। उनी कक्षाभित्र छिर्दा नछिर्दै अत्तरको बासनाले कक्षाकोठा मगमगाउँछ। उनलाई त बासना आउँदो हो। मलाई त गन्हाउँछ। उनको नामै थाहा छैन हामीलाई। स्कुलका विद्यार्थीहरुले स्मार्ट सर भनेर बोलाउँछन्।
उनी मेरो नजिक आएर मेरो जीउ किन छुन्छन्? तिनले त्यसरी मेरो ढाडमा हातले माड्दा मलाई कति अप्ठ्यारो लाग्छ! किन नबुझेका! थुतुनो राम्रो भएर के काम! मलाई तिनी पटक्कै देख्नै मन लाग्दैन। मुक्का हान्न मन लाग्छ। मेरो मन यस्तो हो कि उनी यस्ता हुन् मैले बुझ्नै सकिनँ।
तिनका हातले कहिले मेरो गाला तान्दै सुमसुमाउँछन्। कहिले कान तान्ने निहुँले जीउ सुमसुम्याउँछन्। कहिले पछाडि ढाडमा सर्टभित्र लगाएको समिजसमेत तान्छन्। किन त्यस्तो गरेका? कसलाई भनूँ? सुमित्रालाई भनूँ कि! क्रिशालाई भनूँ! नाईंनाईं भन्दिनँ। साथीहरु भनेका खिज्जाउने पनि हुन्छन् रे। अस्ती नै रचना दिदीले भन्थिन्। खिस्याए भने फेरि मलाई नै। साथीहरुसित सबै कुरा भन्न कहाँ हुन्छ र? हुन्न भने किन हुन्न? मनको कुरा मनमै लुकाऊँ कि भनूँ! नभने कसलाई भनूँ?
एकछिनमै अब गणित पिरियड। जुरुक्क उठेर तेस्रो बेन्चको कुनापट्टी बसेँ। भर्खर कक्षाभित्र प्रवेश गरेका गणित सरले मेरो टाउकाको कपाल आज कतापट्टीको तान्छन्? मलाई नै थाहा छैन।
कक्षाभित्र गणित सर पसे। उनी सँगै डर पस्यो। बाघ पस्यो। भालु पस्यो। मैले मनमनै त्यस्तै सोचेँ। यो त कक्षा कोठा हो। बाघभालु मैले किन सोचेँ। छि, म त कवाडी! आफैलाई धिक्कारेँ। फेरि आँखा सर आएतिर पुर्याएँ। उनको निरसिलो अनुहार र ठूला आँखासँग मेरा साना आँखा जुधे। म थरथर काँपे। टाउको निहुराएर मैले किताबभित्र मेरा आँखा डुलाउन खोजेँ तर सकिनँ। आँखा डुलाउन खोजेर के हुन्छ? मन त तिनकै अनुहारसित त्रसित छ!
आज ज्यामितिको पिरियड छ। २०७२ सालको भूकम्पले बारपाकलाई केन्द्रबिन्दु बनाए झैं नब्बे डिग्रीको कोणले मेरै दिमागलाई केन्द्रबिन्दु बनाउँछ। 'मीना, गृहकार्य गरेको छ?' म झसंग झस्केँ सरको आवाजले! आज त पहिले नै मेरै नाम लिए। आज मार्छन्। आज कपाल पक्कै रहने भएन मेरो टाउकोमा। हे भगवान् जोगाऊ। एकैछिनमा कयौं पटक भगवानको नाम लिएँ।
भूकम्पले तर्साएझैं त्रसित छु म। भूकम्पले तर्साउँदा कति दिनसम्म मान्छे घरभित्र सुतेनन्। मलाई पनि कक्षाभित्र पस्न मन छैन। बस्न मन छैन। तर म कहाँ जाऊँ? जाने ठाउँ कतै छैन। यो पृथ्वी कति साँगुरो! म अटने ठाउँ कतै छैन।
पाँचौ घण्टीमा गणित सरले तानेको कपाल मेरै हातमा छ। सातौं घण्टीमा लेखा पढाउने सर आए। 'किन भित्तामा बसेकी मीना?' भन्दै ठाउँ नै फेरिदिए। छेउपट्टी राखीदिए। अनि मेरो ढाडभरि तिनका हातका औंलाहरु नाचेँ। मलाई रिस उठ्यो। उनीप्रति घृणा लाग्यो। तातो आगो जस्ती भएँ म। उनी सर थिए। म विद्यार्थी थिएँ। डरले थर्थर काँपेँ। एक्कासी मेरो मनमा एउटा उपाय उब्जियो।
भोलिदेखि सुमित्रासँग बस्छु। उसलाई गणित राम्रो आउँछ। म उसलाई भाषा सिकाउँछु। ऊ मलाई गणित सिकाउँछे। हिसाब बराबर। सुमित्रा र म मिलेपछि यो लेखे सरको पनि उपाय त पक्कै निस्कन्छ। अबदेखि ऊ नै मेरी हितैषी हुन्छे।
'ए के सोचेकी?'
'तिमीलाई सोचेको सुमित्रा।'
'किन र मलाई?'
'तिमी र म हितैषी हुने भनेर।'
'भैहाल्छ नि' भन्दै उसले फिस्स दाँत देखाई।
घडीको काँटासँगै समय घुम्दै गयो। सुमित्रा र मेरो हितैषी बढ्दै गयो। म पलपल गणित सिक्न थालेँ। त्यो पनि मेरी हितैषी सुमित्रासित। मलाई गणित केही त आउन थाल्यो। केही हैन धेरै आउन थाल्यो। सिकेपछि नआउने कुरै भएन। गणित सरबाट कपाल तान्न छोडियो।
गणित सरले मेरै लागि कपाल तानेका रहेछन्। मलाई सिकोस्, जानोस् र बुझोस् भनेका रहेछन्। गणित सरप्रति म आभारी भएँ। गणित पढाउने सरबाट स्नेहको भागिदार बनेँ। 'ओहो! मीना कस्तो राम्रो पढेकी अचेल।'
'होर सर!' भन्दै म मख्ख परेँ। सबैले मतिर आफ्ना आँखा फर्काए। सरको चाउरिँदै गरेको अनुहारले मप्रति माया दर्शायो।
'विद्यार्थीले राम्रो पढेपछि सर रिसाउने कुरै हुँदैन। बुझ्यौ तिमीहरुले?' सरले हाँस्दै भन्नुभयो।
'सर हाँस्दा कस्तो राम्रो देखिन्छ,' एकजना विद्यार्थीले प्याच्च भन्यो।
'यो सरलाई हाँस्ने तिमीले बनायौ मीना' मेरो कान निरै आएर सुमित्रा फुसफुसाई।
'मैले नपढेर सर रिसाउनु भएको रहेछ बुझ्यौ सुमित्रा,' मैले पनि उसको कानमा विस्तारै फुसफुसाएँ।
'कत्रो तागत तिमीमा मीना! कहिल्यै नहाँस्नेलाई हाँस्ने बनायौ,' फेरि उसले मलाई मख्खाई।
अब पालो थियो लेखाको। लेखा सरलाई के गर्ने होला? धेरैबेर मनमा कुरा खेले। त्यसपछि अटेसमटेस जीउभरि र मुटुभरि। अर्को दिन सुमित्रालाई भनेँ, 'त्यो लेखा पढाउने सरले मेरो जीउ किन छाम्छन्? तिमीलाई थाहा छ सुमित्रा?'
'के?'
'त्यही क्या मेरो जीउ छोएको कुरा!'
'ए त्यही भएर त्यो सर तिम्रो नजिकै आउँछन् है! पख है मसँग एउटा उपाय छ' सुमित्राले भनी।
'के उपाय सुमित्रा? भनिहाल न,' मैले झटपट आत्तिँदै सोधेँ।
'धैर्य गर्न सिक,' उसले हाँस्दै भनी।
'यस्ता कुरामा के धैर्य गर्ने सुमित्रा!'
'नैतिकमा पढेका थियौँ नि हामीले त्यो पनि आठ कक्षामा। धैर्य, सहनशील, लगनशील, मेहनत यी सबै कुरा हाम्रो जीवनमा लागु हुन्छन् मीना.' सुमित्राले नैतिकमा पढेका कुरा सम्झाई।
'हो है?' मैले मुख खुम्चाउँदै भनेँ।
टिफिन समयपछिको कुरा, लेखा पढाउने सर कक्षाभित्र पसे। म जुरुक्क उठेँ। सरको हातमा लठ्ठी दिँदै भनेँ, 'सर, यो लठ्ठी लिनुहोस्।'
'किन?'
'अबदेखि तपाईंका हातले मलाई नछुनुहोस्। पिट्न परे यही लठ्ठीले पिट्नुहोस्।'
'तिमीलाई माया पो गरेको' ठट्यौली पारा दर्शाउन खोज्दै सरले भने।
'पर्या छैन मलाई माया साया!' म चर्किएँ। कक्षाभरिका विद्यार्थीहरु गलल हाँसे। एक फेर कक्षाकोठा हाँसोले रन्कियो।
'चुप लाग सबै' आफ्ना ठूला बँखा पल्टाउँदै सुमित्रा जर्की। फेरि कक्षाकोठा शान्त भयो।
विद्यार्थीको हँसाइले लेखा सर अलिकति हच्केँ। सुमित्रा जुरुक्क उठी। प्याच्च भनी त्यो पनि चर्को स्वरमा, 'अबदेखि लठ्ठीले मात्र जीउ छुने सबै केटीको। जथाभावी हातले हैन। बुझ्नुभयो स्मार्ट सर? नत्र हामी अफिस जान्छौं। सबै सरम्यामलाई भनिदिन्छौं।'
सुमित्राको कड्किलो आवाज सुनेर लेखा सरको अनुहार रातोपिरो भयो। उनी थर्थर कामेजस्ता देखिए। 'सरी अब त्यस्तो केही हुँदैन' सरले अँध्यारो अनुहारमा बोली सार्दै भने, 'सरी! सरी!' उनको शिथिल आवाज कक्षाकोठाभरि सुनियो।
अबका दिनहरु खुसीका थिए। म ढुक्कले पढ्न र बढ्न थालेँ। किताबमा रमाउन थालेँ। विद्यालय वरपर लाखौँ खुसी सजिए। मानौँ विद्यालय मेरो मुटु हो। म बिना विद्यालय छैन र विद्यालय बिना म छैन। म रंगिएँ हजारौँ किताबका पाना भित्र। किताबका पानाहरुले रंगिन सपना दिए। सयौँ खुसी दिए। सुनौलो भविष्य दिए।