सपनाहरु छताछुल्ल हुने गरी
हवाईजहाजको ककपिट्मा
उडिरहेका थिए
सारा सपनाका निमित्त म
युद्वमा होमिरहेको थिएँ
मानौं कि, जो दनदनी
दन्किरहेको थियो ।
म आँफै जलिरहेको थिएँ
डढिरहेर रातो तातो राप बन्दै थिए
मानिसहरु आगो ताप्दै थिए
रमाउँदै थिए हाँस्दै थिए र नाच्दै थिए
वर्तमान उत्सव मनाउदै थिए
मानौं कि, उनीहरू युद्व नै जितिरहेछन्।
मलाई भर्खरै जस्तो लाग्छ
एक हुल युद्व जितेर गए
तर,
हार्नेहरु कसैको पनि टाउका थिएनन्
हारे उनीहरु ढुंगाको जिन्दगी हारे
सभ्यताले थाप्लोमा हराउने गरी
कुल्चेको रातको गर्भमा,
उनीहरूले गीत गाउँदै हारे।।
मृत्युले यज्ञ अग्निका
कविता लेख्न नपाउँदै उनीहरूले
उत्सवको एकदिन अतुलनीय निदहरु हारे,
तर जित्नेहरु कसैको टाउका भने थिएनन्
पछि थाहा भो उनीहरू
सबै टाउका नहुनेहरुले मात्र खेल्ने
खेल खेलिरहेका थिए ।
म अझै पनि मेरा सपनाहरु
मेरा चाहनाहरु
आशा र भरोसाहरु जुन
त्यो उडिरहेको हवाईजहाजको
ककपिटमा खोजिरहेछु ।
मलाई डर लाग्छ
कतै मेरा सपनाहरु
मेरा चाहनाहरु भावनाका पाईलाहरु
त्यो रातो काठको बाकसमा सिमित हुने
त होईनन्?
त्यो रातो वाकससँगै उडिरहेको जहाजको
ककपिटमा सिमित हुने त होईनन्
छितिज पारीका जिन्दगीहरु
सोच्छु
अतालिन्छु
पागल हुन्छु
टाउको बजार्छु
कपाल निमोठ्छु
मेरा लालाबाला
मेरा बाबा आमा
सङी साथी बन पाखा
अनि
माली गाई ।
हो म सबैलाई चिन्तन मनन गर्छु
कहिले एक्लै हाँस्छु
कहिले एक्लै रून्छु
मानौ म सपनाको पागल भैसकेँ
यिनै हुन त मेरा जून फूलेका रातहरु ?
यिनै हुन त मेरा सपना र चाहनाहरु ??
विचरा म बाबा आमाको
अस्तु सेलाउन नपाएको छट्पटिमा भकानिन्छु
मनले मनलाई प्रस्न तेर्साउँछु
उडिरहेको जहाजको ककपिट्मा
मेरा सपनाहरु सदाका लागि अन्त्य
हुने त होईनन ?