आशाले एक-एक गर्दै क्यालेन्डरका पाता पल्टाउँदै हेरिरहेकी थिई। बीच-बीचमा रोकिएर एकछिन सोचमग्न हुन्थी अनि फेरि पाता पल्टाउन सुरु गर्थी। 'थाहा छैन मान्छेलाई समयले कहाँबाट कहाँ पुर्याउँछ!' अचानक उसको मुखबाट निस्कियो।
के सोचेर खै झ्यालबाट आँखा बाहिर पुर्यायी। बाहिरको दृश्य शान्त र चारैतिर हरियाली थियो। एक बथान सेता बकुल्लाहरु चौरमा बस्तै उड्दै गरिरहेका थिए। यसो माथि आकाश तिर आँखा पुर्याइ। आकाश त चंगाले पो ढाकिएको रहेछ। झसंग हुँदै भनी 'लौ! फेरि पनि दसैँ पो आएछ।' पहिलाको दसैँ सम्झेर अवाक भइ।
उसको बिहे भएको पनि सात वर्ष पुग्न लागिसकेछ। साथमा एक छोरा र छोरी छन्। गरिबीले गर्दा परदेश पसेको उसको श्रीमानको कुनै अतोपत्तो छैन। साथमा दुई बच्चा अभय र आरुशीलाई लिएर कहालीलाग्दो जिन्दगी व्यतित गर्दै छे आशाले। उसले कहिले पनि सोचेकी थिइन जिन्दगीमा यस्ता पनि मोडहरु आउछन् भनेर!
ऊ निकै राम्री थिई। कतै खोट लगाउने ठाउँ थिएन। सात वर्ष पहिले पढ्ने क्रममा उसको भेट अमितसँग भएको थियो। सामन्य चिनजानसँगै साथी हुँदै एकअर्कामा नजिक भएका थिए। आशा सानै छँदा उसका बुवा-आमाको निधन भएको थियो। हजुरआमाले उसलाई हुर्काउने, बढाउने र पढाउने काम गरिन्। अमितका पनि बुवा आमा थिएनन्। ऊ अंकलसँग बसेको थियो।
दुवै जनाको पिर ब्यथा उस्तै थियो। उनीहरुले बिहे गर्ने निधो गरे। बिहे पनि सम्पन्न भयो। पारिवारिक अवस्था कमजोर भएका कारण उनीहरुले केही गर्ने विचार गरेर सहर तिर झरे।
काठमाडौँजस्तो सहरमा धेरै नपढेका उनीहरुलाई जागीर पाउन निकै मुस्किल पर्यो तर बल्लतल्ल आशाले एक होटलमा भाडा माझ्ने कामसम्म पाई। भोलिपल्टबाट ऊ काममा जान सुरु गरी। जस्तोसुकै काम भए पनि उनीहरूको लागि आवश्यक थियो। मन त उनीहरूलाई पनि कहाँ नभएको हो र अरुले जस्तै डाक्टर पढेर बिरामीको सेवा गर्ने तर गरिबहरुको लागि त यी सबै सपना मात्रै भैदिन्छन।
इच्छा, चाहनाहरुलाई मनभित्र नै मारेर उनीहरूले जिन्दगीलाई अगाडि बढाउने प्रयासमा लागिरहे। काठमाडौँ सहरमा गरिब, दुखीहरुले निकै मेहनत गर्दा पनि सामान्य जीवन व्यतित गर्न निकै मुस्किल पर्दछ। कैयौं रात उनीहरूले भोकै सुतेर पनि कटाएका छन्। पछि अमितले पनि सानोतिनो जागीर पायो।
आशा र अमितको जिन्दगी जसोतसो चल्दै थियो। यही बीचमा उनीहरुका छोराछोरी जन्मिए। अब उनीहरुलाई झन् गाह्रो पर्दै गयो। जति दुःख गर्दा पनि दुई छाक खान निकै गाह्रो पर्थ्यो। धेरै कुरा सोचेर छोराछोरीको भविष्यका लागि उसले केही समयको लागि विदेश जाने विचार गर्यो। वर्षा सकिएर भर्खर हिउँद लागेजस्तो भएको थियो।
नेपालीहरुको महान पर्व दसैँ घर घरमा भित्रिसकेको थियो। विदेश र टाढा-टाढा भएका नेपालीहरु घर-घरमा जम्मा हुँदै थिए। सबैको घरमा दसैँको रौनक छाएको थियो। तर आशाको घरमा भने अमित बाहिर जाने कुराले सन्नाटा छाएको थियो। गरिबहरुको लागि त चाडपर्व खुसी होइन, अभिशाप बनेर आइदिने रहेछ। दसैँमा सबैको घरमा खुसीयाली छाउँदा किन गरिबको घरमा मात्रै दशा बनेर आइदिन्छ होला?
अमितले विदेश जाने भनेपछि आशा निराश बनेकी थिई। तर धेरै सम्झाइ-बुझाई गरेपछि ऊ पनि सहमत भएकी थिई। दसैँको अघिल्लो दिन नवमीको दिनमा अमितको विदेश उड्ने दिन थियो। आफ्नो प्यारी श्रीमती र छोराछोरीलाई छाडेर अमितको पनि जाने मन त कहाँ थियो र तर बाध्यता थियो उसलाई भविष्यको सपना देखेर ऊ विदेशीयो।
दसैँको मुखमा यसरी बिछोडिनु पर्दा सबै विछिप्त बने। सोची आशाले, गरिबीले त गाँजेको छ त्यसमाथि यी चाडपर्व खुसी होइन पीडा बनेर आइदिँदा रहेछन्। अमित विदेश गएको केही समयपछि पैसा पठायो। बारम्बार फोन गरिरहन्थ्यो जे होस अब आशालाई अलि सहज भएजस्तो भयो।
दिनहरू यसरी नै बितिरहेका थिए। ऊ बच्चा हुर्काउँदै थिई। अचानक अमितको फोन आउनै छाड्यो। केही भयो कि भनेर ऊ आत्तिई। धेरै समयपछि फोन आयो, बल्ल उसले सन्तोषको सास फेरि तर एक/दुई दिनमा पैसा पठाउछु भनेको अमितको फोन नै आउन बन्द भयो। फोन गर्न खोज्दा मोबाइल अफ भन्थ्यो। उसले केही बुझ्नै सकिन, आखिर अमितलाई के भयो? किन यसो गर्यो? भनेर। ऊ छाँगाबाट खसेजस्तै भई।
तर पनि उसलाई आशा थियो एकदिन मेरो अमित पक्कै फर्किएर आउनेछ। यही एउटा आशा त रहेछ मान्छेको जिजीविषालाई बचाइराख्ने। भन्छन् नि 'आशा एउटा यस्तो बलियो त्यान्द्रो हो जसले मानिसलाई आजभन्दा भोलि र व्यतित गर्दै थिई।
उसका दिनहरु झन् पछि झन् कठिन बन्दै गए। बालबालिकालाई विद्यालय पठाउनु भाडा तिर्नु, खानु कसरी? उसले आफूले सकेसम्म त काम गरिरहेकी थिई। अमित सम्पर्क विहीन भएपछि सबैको हेर्ने र गर्ने व्यवहार बदलियो। खै किन हो उसले केही बुझ्नै सकिन। ऊ त सदाबहार थिई, हिजो जस्ती थिई आज पनि उस्तै छे तर अरु सबै किन परिवर्तन हुँदै छन्? यही बुझ्ने प्रयास गर्दै थिई।
जिन्दगी कसरी चलाउने? ऊ आफू एक्लै थिइन, दुइटा बच्चाको जिम्मेवारी थियो उसमा। अमित त सबै जिम्मेवारीबाट पन्छिएर खै विदेशमा कता हरायो कता तर ऊ त्यसो गर्न सक्दिन थिई। उसको संसार भनेका नै ती दुई बच्चा थिए। यही त फरक हुँदो रहेछ महिला र पुरुषमा। एउटी महिला जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सन्तानको लागि सधैं लड्न तयार हुन्छे।
आशा बच्चाहरुलाई हुर्काउन बढाउन र पढाउनको लागि संघर्ष गर्दै थिई। चार वर्ष भैसकेछ अमित विदेशीएको, उसको कुनै खबर थिएन। कति पटक समयमा भाडा बुझाउन नसकेर घरबेटीका तिखा वचनहरु सहनु पर्थ्यो। कहाँ जाने? के गर्ने? त्यस बिरानो सहरमा उसको कोही थिएन। कैयौँ रात त उनीहरु खाना नखाइ भोकै सुतेका थिए। बच्चाहरुलाई भोकै सुताउनु पर्दा उसलाई असह्य पीडा हुन्थ्यो।
अमितलाई सम्झेर बेलाबेलामा आँसु बगाउँथी। कसरी बेखबर बन्न सकेको भनेर आफैसँग प्रश्न सोध्ने गर्थी तर उत्तर पाउदिन थिई। दुई छाक खान र एकसरो लगाउन निकै गाह्रो थियो। त्यस्तैमा चाडपर्वहरु आइदिन्थे। हुने खानेहरुको रवाफ नै अर्कै हुन्थ्यो।
सबैका बच्चाहरु नयाँ कपडामा सजिएर हिँडेको देख्दा आफ्ना बच्चाहरुलाई हेर्दथी। सधैँ पेटभर खान नपाएजस्ता झुत्रे-झाम्रे देखिन्थे। अनि भित्रैदेखि मन कुँडिएर आउथ्यो। के गरोस् उसले आफूले सकेको त गरेकै थिई! त्यस्तो अवस्थामा उसलाई सहयोग र हौसला दिने त परै छ, राम्रो सङ बोल्ने पनि कोही थिएन। यो समाजको चलन यस्तै होकि दु:ख र अप्ठ्यारो परेको मान्छेलाई किन कसैले राम्रो मान्दैन। उसको के दोष थियो र अमित बेखबर हुनुमा? दोष थियो त केवल गरिबीको थियो। आफ्ना इच्छा, रहरहरुलाई तिलान्जली दिएर बच्चाको लागि कति संघर्ष गरिरहेकी छ त्यो कसैले देख्दैन किन?
हो, सबैको आ-आफ्नै संसार हुन्छ। सबैका आफ्ना इच्छा, सपना र चाहना हुन्छन्। कसलाई चाहना हुँदैन होला र? आफ्नो एउटा चिटिक्क परेको घर होस्, परिवारका सबै सदस्य साथमा सँगै बसौँ, सँगै रमाउँ र चाडपर्वहरु सँगै हाँसीखुसी मनाउँ भन्ने। आशाको पनि त यस्तै-यस्तै चाहना नभएको कहाँ हो र?
गरिबी त्यसमाथि श्रीमान् विदेशमा बेखबर बनेर रहेपछि उसका सबै चाहना र सपनाहरू टुटेर गए। तर पनि उसले सकी नसकी काम गरीरहेन्छे केवल बच्चाहरुको लागि। नजिकिएको दसैँमा चटक्कै छाडेर हिडेको अमितको कुनै समाचार छैन। बेलाबेलामा सम्झिएर आशा दुखी हुन्छे।
यसपालि पनि दसैँ नजिकिएको छ। सबैका छोराछोरी दसैँ आयो भनेर खुसी हुन्छन्। तर विचरा उसका छोराछोरीलाई के दसैँ के तिहार, सधैं उस्तै छ। दसैँ कस्तो हुन्छ भनेर राम्रोसँग अनुभव नै गर्न पाएका छैनन्। अहिले जसरी भए पनि आशाले छोराछोरीलाई एकसरो कपडा र एक छाक मिठो मसिनो खुवाउनको लागि निकै मेहनत गरेकी छ।
घरभाडा एक हप्तापछि दिने सोच बनाएर बच्चाको खुसीको लागि साधारण किनमेल गरी। अहिले खै किन हो बच्चाहरु खुसी देखिन्थे। मनभित्र जति धेरै पीडा भए पनि ऊ बच्चाको अगाडि खुसी भएको जस्तो देखिन्थी।
आज विजया दशमीको दिन । चारै तिर खुसी र हर्षोल्लास छाएको जस्तो देखिन्थ्यो। सबै खुसीले फुरुंग परेर यताउता गरिरहेका थिए। आफ्ना बच्चाहरुलाई हेरी धेरै समयपछि बच्चाको अनुहारमा केही भए पनि खुसीका किरणहरु छाएजस्तो देखेर खुसी भइ ऊ पनि। बच्चाको अनुहारमा सधैं खुसी हेर्न व्यग्र देखिन्थी।
जे-जस्तो भए पनि आफ्नो औकात अनुसारको सामानहरु जुटाएकी थिई। यसपटक बच्चा पनि खुसी देखिन्थे। सबै तयारी सकेर उनीहरु टीकाको साइत कुरेर बसिरहेका थिए। अचानक ढोकामा आवाज आयो। सोचि कतै दसैँ भनेर अमित त आइपुगेन! खुसी हुँदै र आत्तिँदै आशा ढोका खोल्न पुगी। बाहिर घरबेटी दाजु पो हुनुहुँदो रहेछ।
ऊ झसंग भई। 'किन के भयो?' उसले सोधी।
घरबेटीले कठोर हुँदै भने, 'भाडा चाहियो।'
आशाले नरम हुँदै एक हप्ता भित्रमा दिने बताइ तर दाजुले उसको कुरा सुनेनन्। तुरुन्तै भाडा नदिए कोठाबाट निकालिदिने धम्की दिए। आशासँग तुरुन्त दिनको लागि पैसा थिएन। भएको केही पैसाले उसले बच्चाहरुको लागि लुगा हालिदिएकी थिई। उसले एक हप्तापछि दिन्छु भनेर दाजुलाई निकै अनुनय विनय गरी तर ढुंगाजस्तो कठोर मन भएका ती दाजुले कुनै कुरा नसुनी सरासर कोठा भित्र पसेर सामान बाहिर फ्याकिदिन थाले।
बच्चाहरु डराए। अब के गर्ने कता जाने आशाले केही सोच्न सकिन। शून्य-शून्यजस्तै भई ऊ। बच्चाहरु डराउँदै घरबेटी दाजुले सामान कोठा बाहिर फालिरहेको हेरिरहेका थिए। सबै सामान निकाली सकेपछि कोठामा चाबी लगाएर दाजु माथि तिर निस्किए। आशा एक तमाससँग टोलाइरहेकी थिई। उसको दिमाग कहाँ पुगेको थियो उसलाई नै थाहा थिएन।
अकास्मात बच्चाहरुले प्रश्न गर्न पुगे, 'आमा, के दसैँ भनेको यही हो?'
उसले केही सोच्नै सकिन। उसको मनले भनिरहेको थियो, दसैँ होइन यो दशा हो। एक्कासी आशाको अन्तर्स्करणबाट पीडा र वेदनाका बाढीहरु एकैचोटि बाहिर निस्किन लागेजस्तो लाग्यो।
उसलाई भाउन्न भएर आयो। उसको धैर्यताको बाँध टुटेछ क्यारे दिमागमा केबल छोराछोरीको प्रश्न मात्र एकोहोरो रूपमा गुन्जीरहेको थियो 'आमा! आमा! दसैँ... दसैँ... भनेको यही हो?'
कतिबेलादेखि उसको दुवै आँखाबाट आँसुहरु झरी बनेर बर्सिरहेका थिए उसले पत्तो नै पाइन। एक्कासी दिमागमा झट्का लागेजस्तो महशुस गरी र गर्ल्याम्म भुइँमा ढल्न पुगी। छोराछोरी चिच्याउँदै रुन लागे 'आमा... आमा...!'