हर्कबहादुर चाहान्छ
-पर्वहरु हर्क बनेर आउन्
-हर्ष बनेर बितून्
-खुसीहरु छोडेर जाऊन्।
ऊ भित्रका रहरहरुले
कहरले रहर जन्माइरहेछन्
उसले हेर्दाहेर्दै
सहरले पर्वहरुलाई
आकर्षक खोलभित्र प्याकिङ गरिरहेछ
खुसीका पराग बोक्ने पर्वहरु
धनीका ब्राण्ड बनिरहेछन्।
ऊ पुरातनवादी हुँदै होइन
न धर्म विरोधी नै हो ऊ
उसलाई फिटिक्कै मन पर्दैन
छरछिमेकीका आडम्बर
तिनले पर्वलाई प्रतिष्ठाको पहरा बनाएका छन्।
न ऊ फोड्न सक्छ
न चढ्न सक्छ
उल्टै अभावले उसको टाउको पहरामा बजार्छ
रन्थनिएको हर्केले
पर्वलाई पहिरो ठान्छ
जसले बगाएर लैजान्छ उसको वर्षभरिको सुख
एक छाक मिठो खानाले, वर्ष भरिको एक पेट हर्छ।
ऋण लाग्ला कि भनेर
पौरखी हर्के पर्वदेखि डराएको होइन
स्वाभिमान बन्धकी राख्न नपरोस् भनेर
सचेत मात्र भएको हो।