कविता
दूरदराज कुनै गाउँमा अनुहारभरि सहस्त्र रेखा बोकेर
कोशौं टाढा अवस्थित ‘सदरमुकाम’ जाने बाटो ओरालो झर्दैछिन् आमा
सोचको पुलिन्दामा हराउँदै भेट्टाउँदै
गाउँमा ‘दसैं’ आयो रे
कतै पिङ हालेछन,
कतै नयाँ छाना
आङमा नयाँ नाना
गाउँघरको अनुहार धपक्क बलेछ
आमाको अनुहार अझै पनि माली हराएको फूलबारी जस्तै मुर्झाएकै छ
हिजो भर्खर छोराले मोबीलमा फुन गरेछ
निष्ठुरी छुट्टी मिलेनछ
फेरि पनि बूढी औंलाजस्तै छोरो छुट्टै हुने भयो
आमाको मुटु छोरो फेरि शरीरदेखि टाढा हुने भयो
लामो सास फेरेर त्यो खबर पनि आमाले निलिन्
पोहोर अनि परार जस्तै
अनि फेरि बात मार्दै जाँदा
छोरोको सन्चो सुविस्ता सुनेर आमा दङ्ग परिन्
पोहोर साल जस्तै
छोराले आमालाई दसैंको खर्च पठाइदिएछ
छोरा नआए पनि कागजको चङ्गा त आएछ!
मगजको महलमा हराउँदा हराउँदै ‘मनी टान्सफर’ पनि आइपुग्यो
पत्र पत्र कागजबाट आमाले सत्ययुगको परिचयपत्र झ्याल अगाडि तेर्साइन्
अनि मसिनो स्वरमा भनिन्
‘अलिकति पैसा आएछ’
जाली झ्यालबाट एउटा हातले आमालाई पैसाको बिटो थमायो
पसिनाले लत्पतिएको हातले पैसाको मुठो दरोसँग कसिन्
आमा फटाफटी मुस्काउँदै उकालो लागिन्
मनमनै सोचिन्
दसैं त खुसीको बगैंचा न हो
यसपालिको दसैं त्यही बगैंचामा सम्झनाको पिङ हालौंला
आगूँको दसैं बाँचिरहे अवश्य भेटौंला।
-