कविता
टीका छ तर टीकामा रातो छैन
जमरा छ तर जमरामा पहेंलो छैन
त्यही पनि कतै लाइदिने हात छैनन्
कतै लाउने निधार छैनन्।
हे दसैं, सक्छौ भने
विदेशमा बेचिनु पर्ने बाध्यताको
अन्त्येष्टि लिएर आऊ।
टीका-जमरा लाइदिने हात
र लाउने निधारको
मिलन गराएर आऊ।
घर छन् तर परिवार छैनन्
भान्छा छन् तर परिकार छैनन्
कतै बनाउने हात छैनन्,
कतै खाने मुख छैनन्
कतै भोक छ अन्न छैन,
कतै अन्न छ भोक छैन।
हे चाडपर्व हो!
सक्छौ भने
भोक र भोजनको भाग्य जुराएर आऊ
बनाउने हात र खाने मुखको
मिलन गराएर आऊ।
सयपत्री मखमली फुलेका छन्
कतै माला उन्ने दिदी-बैनी छैनन्
कतै माला पहिरिने दाजुभाइ छैनन्।
त्यसैले सक्छौ भने,
माला र गलाको मिलन लिएर आऊ।
सबै मान्यजनकोमा जाउँला
टीकाटालो लाउँला,
दक्षिणा आशिष पाउँला
आफन्त सँगै बसेर मिठो-मिठो खाउँला
सरर पिङ खेलौला,
सरर गाउँघर घुमौंला
साथमा फोटो खिचौंला
आफन्त सँगै रमाउँला
भन्ने उमंग लिएर आऊ।
हे चाडपर्व!
सक्छौ भने दसैं कै प्रारम्भमा एयरपोर्टमा
भक्कानिनु पर्ने बाध्यता कटाएर आऊ
बिछोडिएका परिवार मिलाएर आऊ।
टीकाको रातो अनि जमराको पहेंलो बनेर आऊ
भैलीको निसंकोच नृत्य,
घरबेटीको निश्चल मुस्कान
अनि
बत्तीको निरन्तर उज्यालो बनेर आऊ…!