दसैं उबेला
दस गाउँ थर्काएर आउँथ्यो
बाटाघाटा र घरगाउँ सिंगारेर आउँथ्यो
बेहुली बन्थे बस्तीहरू
दसैंमा घर आउन पाउने-नपाउने
परदेशीको निधो
बर्खा नलाग्दै थाहा हुन्थ्यो
दसैं त्योबेला खुलेर आउँथ्यो
दसैं योबेला लुकेर आउँछ l
दसैं वर्षदिनपछि एकफेर छेउमै आउँछ
र, भोका पेटहरूलाई हाउगुजी देखाएर
नांगा आङहरूलाई काउकुती लाएर
संस्कृतिको उधारो तमसुक गरिदिन्छ
अनि, सुइँकुच्चा ठोक्छ एक वर्षको बाटोमा l
दसैंका पूर्वसन्ध्याहरू
कहिले भुइँचालोले खर्लप्पै खाइदिन्छ
कहिले बाढीपहिरोले सर्लक्कै निलिदिन्छ
तब, धड्किन्छन् निर्धा मुटुहरू
अधिकतम रेक्टरस्केलभन्दा अधिक
घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमंगहरू
दसैं आउनुपूर्व नै शोकाकुल बन्छन्
भवितव्यमा दिवंगत आफन्त मनहरुको क्षतिमा l
दसैं, पहिले सार्वजनिक थियो
दसैं, अहिले एकान्तबासमा छ
कोही नजानू दसैंको छेउमा
दसैंलाई कोरोना लागेको छ
दसैं क्वारेन्टिनमा छ l
यसपालि दसैं किन्न
हाटबजार नधाउनू
मिठो खाना र नयाँ नाना लिन
सुपरमार्केट नजानू
परदेशीको सन्देश पनि परैबाट पढ्नू
पाहुनालाई दुर्गा भवानीको कथा होइन
डब्लुएचओको हेल्थ नोटिस सुनाउनू l
समय यतिबेला
आफ्नो हत्या आफैं गरेर
आफ्नो क्रियापुत्री पनि
आफैं बसेको छ
मान्छे आफ्नो युद्ध शिकारको
बरखी आफैं बार्दैछ
क्रुर समयको कैदी बनेर दसैं पनि
कठोर क्वारेन्टिनमा बसेका बेला
मान्न त मान्नु
परम्पराको पहाड दसैं
तर खसीले होइन, खुसीले
रहर होइन, यो कहर दसैं l
( इटहरी-४ सुनसरीका गणेश खड्का हाल फ्रिगेट आइल्याण्ड, सेसेल्समा बस्छन्)