जब शरद ऋतुको आगमन हुन्छ
भित्ता-भित्तामा काँस फुल्छ
मनभरि तरंग छाउँछ
अनि मलाई लाग्छ
हिमालबाट चिसो हावा चल्छ
सयपत्री फुल्छ
फुल्छ मखमली पनि
अनि मलाई लाग्छ
चहलपहल बड्छ
जब आफ्ना र आफन्तको यादले सताउँछ
टाढा-टाढा क्षितिजमा भौतारिएका
परदेशी पनि आफ्नो जन्मभूमि सम्झिएर
कर्मभूमिबाट जन्मभूमि तिर लाग्छन्
अनि मलाई लाग्छ
आकाशमा टहटह तारा हुन्छन्
खेतमा धानका बाला झुलेका हुन्छन्
बादल लुकामारी खेल्दै हिँड्छन्
अनि मलाई लाग्छ
घर नजिकैको बारीमा कोदो झुलेको छ
पहेलो फूल तोरीको फुलेको छ
घरका आँगन-आँगनमा पिङ हालेको छ
अनि मलाई लाग्छ
घरका भित्ता-भित्ता कमेरोले सजेको छ
करेसाबारी र आँगन सप्तरंगी फूलले सजेको छ
त्यो माछापुच्छ्रे पनि लुकामारी गर्दै
मेरो प्रतीक्षामा छ
साँच्चीकै भन्नुपर्दा आहा! कस्तो
समयमा मेरो जन्म भएको छ
जब-जब शरद ऋतुको आगमन हुन्छ
दसैँ र तिहारको स्वागत हुन्छ
अनि मलाई लाग्छ
मेरो जन्म दिन आउन लागेको आभाश लाग्छ
मलाई शरद ऋतु विशेष लाग्छ
निराशालाई मन भित्रै लुकाएर
थोरै भए पनि आशाका किरणसँग
मितेरी लगाएर
मिठा सपना देखेर
मधुरो सूर्यको किरणको
तापलाई अगाल्दै शरद ऋतुको
आगमनसँगै
यस धर्तीमा पाइला टेकेको दिन
आज नै मैले
आमाको वेदनाको चित्कारलाई लत्याउँदै
म जन्मिएको दिन
त्यसैले त होला
जहिले-जहिले शरद ऋतु आउँछ
मलाई मेरो जन्मदिनको आभाश दिलाउँछ।