आज निन्द्रा अहँ पट्क्कै लाग्ने छाँटकाँट छैन। झ्याल बाहिरबाट चिसो बतास कोठासम्मै आएको छ। बाहिर उज्यालो छ, पूर्णिमा हो क्यारे आज। मेरो मन र कोठा अँध्यारो छ। डर छ सायदै जीवनमा पहिलोपल्ट एक्लै रात बित्दै छ। डर छ मलाई मेरा सपना विपनामा परिणत हुँदैनन् कि भन्ने। यही गुलाबी उमेरले भविष्यलाई दिशा निर्देश गर्छ भन्छन्।
सोच्छु, अनेक कुरा खेलाउछु मनमा। घरी भविष्य सम्झेर पुलकित हुन्छु त घरी वातावरण सम्झेर तर्सिन्छु। यो तर्साई त खास मेरो दिमागको तर्साई हो। काठमाडौँ आएपछि म आफैसँग बोल्ने भएकी छु। घरीघरी चाहिनेभन्दा बढी जिम्मेवार र समझदार भएँ कि भन्ने पनि भान हुन्छ। घरबाट आँगनसम्म पनि अँध्यारो छ भने जान नसक्ने म आज एक्लै रात काट्न सक्ने भएँ, सोचौँ न कमसेकम डराइ-डराइ भए पनि।
कुरा खेलाउँदा खेलाउँदै पेटमा मुसा दौडिएजस्तो भान हुन्छ अनि मोबाइलमा समय हेर्छु। प्रविधि पनि कत्रो विचित्र, समय हेर्न घडी चाहिँदैन। फेरि सोचिदिन्छु यसैगरी बिना भावनाको जीवन काट्न नपरोस् रोबर्टले जस्तै।
अहो! साढे नौ भइसकेछ। खाना बनाउने शक्ति बाँकी छ जस्तो लाग्दैन। मेरो शक्ति सबै सोचाइले खायो होला मानौँ न। पानी उमाल्छु अनि वाई-वाई हाल्छु। आज प्याज, टमाटर, गाँजर, चना आदि राखेर फ्राई गर्न पनि मन छैन। अथवा भनुँ न जागर नै छैन।
वाई-वाई खान के बेसेको थिएँ, फोन बज्यो। दिदीले खानपान, मिटिङ सबै सकेर सुत्न आटेको बताई। म नि खाना खाँदै छु, खाएर सुत्छु भनेँ। ऊबिना आज खाना बनेन भन्न मन लागेन। खै कुन्नि किन हो, ढाट्न मन लाग्यो। अनि गफगाफ सकेपछि फोन काटियो।
म फेरि सोच्छु, अहो! मैले आजसम्म सधैँ लगावका साथ खाना बनाएँ। कहिल्यै वाई-वाई खाएर छाक टारेका थिएनौँ। दिदी सकेसम्म बाहिरको खाना नखाउँ नै बन्ने गर्थी। ऊ स्वास्थ्यप्रति अलिक विशेष सचेत थिई। उसको बनावट, सुन्दरता मैले बनाएको खाना-खाजामा छ अरे। म पनि मख्खै परिदिन्थेँ।
आत्मनिर्भर बन्नुपर्छ भनेरै ऊ बिबिए सक्नेबित्तिकै बैंकको जागीर सुरु गरेकी थिई। आत्मनिर्भर बन्नु भनेको धेरै ठूलो कुरो रहेछ। खर्च-पानी ऊ जुटाउथी, घरव्यवहार म। कोठा व्यवहार के भन्नु भनेर नि। खानपान, भाडा-वर्तन, सामान खरिद ईत्यादी काम मेरो जिम्माका थिए। पढाइ त छँदै छ।
दिदीको अनुपस्थितिमा मैले खाना खानु महत्वपूर्ण मानिनँ। यसलाई अल्छिपना मान्ने कि आफूप्रति बफादार नभएको मान्ने?
के हामी आफ्नो लागि भन्दा पनि आफ्नाहरुको लागि जीवन बाचिरहेका हौ त? मलाई यस्तो पनि त लाग्दैन। सोच्छु पढ्ने त मेरो लागि मैले नै हो। जीवन आफ्नो लागि बाच्नुपर्छ। धेरै महान व्यक्तिहरुको मानिसहरुको वाणी सम्झिन्छु। मेरो उपस्थितिमा मात्र मेरो जीवनको अस्तित्व रहन्छ। भेटिने छुट्टिने क्रम त जीवनभर चलिरहन्छ। कोही मर्छन्, कोही जन्मिन्छन् सृष्टि चलिरहन्छ।
सोच्दा सोच्दै म निदाउँछु। भोलिपल्ट बिहान सधैँ पाँच बजे चराहरुको माधुर्यमा हराउँदै बतासको चिसोपनको मज्जा लिदै उठ्ने म आज उठिनँ। उठेर खाना बनाउनै पर्ने दबाब छैन आज। सायद दिमागले यस्तै सोचेको हुनुपर्छ।
ढिलो गरी उठेँ, बिना जाँगर। बिहानै अल्छी हुनु भनेको त दिनै बिगार्नु पो हो। आफ्नो ताल देखेर आफैले दिक्क मानेँ। उठ्नेबित्तिकै तयार हुन थालेँ, त्यसमा खाना बनाउने समय अटेन। क्यान्टिनको आलु-परौठामा दिन बित्ने सोच्दै हतार-हतार कलेजको लागि निस्केँ।
दिनभरिको पढाइले दिमाग थाकेको थियो। खाना (भात) नखाएर होला पेट भोकाएको थियो तर मलाई मेरो भोकभन्दा पनि दिदीको आगमन हुने कुराले तरकारी पसल पुर्यायो। दिदी भोक र थकानसँग आउने सोचेर होला मैले खाना तयार पारेँ। दिदीलाई मन पर्ने आलु र काँक्रोको अचार पनि बनाएँ। दिदी आइपुग्दा सबै तयार भयो।
त्यो रात मेरो मनमा फेरि त्यही प्रश्न दोहोरीयो, साँच्चै हामी कसका लागि बाँच्छौ?
यसपटक लाग्यो, आफूसँगै आफ्नाहरुका लागि बाच्नै रहेछौँ। निस्वार्थ प्रेमले अरुको ख्याल गर्न सिकाउने रैछ।
आफ्नो भोकभन्दा दिदीलाई प्राथमिकता दिएर खाना बनाएको थिएँ र मै दोब्बर रमाएकी थिएँ। त्यो खुसी, त्यो सन्तुष्टी मात्र प्रेम थियो। यही भावनात्मक सम्बन्धहरुले अरु प्राणीभन्दा मानिस अलिक भिन्न छ।
एक्लै हुँदा छटपटिन्छ तर कसैको साथमा, मायामा दंग पर्छ, फुरुंग हुन्छ। जस्तै दुःख पनि पार गर्न सक्छु भन्ने साहस राख्न सक्छ। एक्कासी आमा सम्झेँ। आफ्नो लागि भन्दा पनि सन्तानको लागि भएकोले पो कहिल्यै नथाक्नु भएको। कारण प्रेम।
प्रेम न छुन सकिन्छ,न देख्न सकिन्छ। हुन्छ त मात्र आभाष र त कति अमूल्य र अतुलयनीय।
मैले एक्कासी फेरि एकपटक उसलाई सम्झेँ, यति बेवास्ताको बाबजुद पनि मैले उसलाई वास्ता नगर्न सकिनँ। बोलाइरहेँ, हालखबर सोधिरहेँ। तर मेरो आत्मसम्मान घटेको महसुस गरिनँ किनकि त्यहाँ प्रेम थियो जुन असाध्यै सुन्दर थियो।
यति सोच्दा सोच्दै दिदीलाई प्रेमपूर्वक अंगालेँ र निन्द्रादेवीको काखमा लुटपुटिएँ।