हे सरकार!
तिम्रो मौनतामा अवाक भएको छु
म पीडाले रन्थनिएको छु
आज प्रश्नैप्रश्नले भरिएको छु
के होला तिम्रो अस्तित्वको औचित्य
के सिंहदरबार भट्टी पसल हो?
कि यो चिया पसल हो?
के बन्छ त्यहाँ, को बस्छ त्यहाँ?
केको लागि हुन्छ सभा?
कसको लागि हुन्छ कुरा?
मोतिपुरको घटना
मुगु र घान्द्रुकको दुर्घटना
निर्मलाहरु खाने नरभक्षीहरु जिउँदै घुमिरहँदा
जातकै कारण नवराजहरुले प्राण त्याग्नुपर्दा
हे आँखा छोप्ने सिंहदरबार!
भन्देऊ आज आँखा नेदेख्ने हौ कि तिमी बहिरो
या त निर्दयी निरङ्कुश?
के देख्दैनौ तिमी हजारौँ आमाको रोदन?
के सुन्दैनौ वेदनाको क्रन्दन?
पीडाका चिच्याहटहरु
छिनछिनमै हुने गाडी दुर्घटना
वार्षिक पहिरोले लाने जीवनहरु
के नेपाली जनताको जीवन सस्तो हो?
तिम्रो शासन कस्तो हो?
जमिन पाउन सुकुम्बासी हुन पर्ने!
जीवन जिउन मुग्लान पस्नु पर्ने!
आज मलाई तिम्रो लाज देखाइदेऊ
तिम्रा खोक्रा मगज देखाइदेऊ
हिजो भाको कुरा के भोलि हुँदैन?
सुध्रिन एउटा गल्ती काफी हुँदैन?
तिमीले सुशासन ल्याउन कति बलि चढ्नु पर्ने हो
हिसाब गरिदेऊ
एउटा बलिमै हुनेछु तर पहिले
तिमी अन्धो या त बहिरो कृपया बताइदेऊ।