जमिनको सतहमा बस्नेले समुन्द्रको गहिराइ राम्ररी नापेको हुन्छ रे। करोड हुनेको हात झन् बुच्चो हुन्छ रे। सकी-नसकी हजार हातमा आउनेको रहर हजारौँ सपनाका साथ आकाश चुम्ने हुन्छ रे। जोसँग छ, ऊ भाग्यमानी अनि नहुने अभागी हुन्छन् रे। तर, त्यो गाउँमा गुन्जिने हाँसोले भाग्य हेर्दैन, अनि जात तोक्दैन।
आज पनि त्यही बुढा बाजेको चिया पसलमा बसेर भलाकुसारी गर्ने भिड धेरै छ, त्यो क्याफेमा बसेर हुक्काका धुवाँ उडाउने टर्रो जमातभन्दा। पसलमा चियाभन्दा धेरै गफ चल्छन्, नेतादेखि विजेतासम्म, चोरीदेखि छोरीसम्म, कामदेखि जामसम्म। कसैको बुहारीको प्रशंसाले गाउँ घन्किन्छ, कोही छोराको कुकर्म लुकाउन चिया गिलासको पिँधमै नपुगी जुरुक्क उठेर आफू पल्लो गाउँ पुगिसक्छन्।
जिन्दगीले ४० भेट्दा, उमेरले पनि रमाउने अनेक बहाना भेट्दो रहेछ। त्यो पसल, बाजेको हातको चिया, अनि चियाको खाजा चुरोट, यो हो गाउँमा रहेका एक-तिहाई अनुहारको कहानी। कोही पेन्सनले, कोही टेन्सनले खान्छन्। कोही जवानीको जोशमा, कोही बुढेसकालको दोषमा खान्छन्। कोही समय कटाउन, कोही आयु घटाउन खान्छन्। गफ बढ्दै जान्छ, चियाका कप एकबाट तीन, तीनबाट पाँच बन्छन् अनि चुरोटको बट्टाले दश भ्याइसक्छ। यो हो तिनले तान्ने चुरोटको खिल्लीको कहानी।
को कति लडेर यहाँसम्म आए, यो अड्कल्न गाह्रो छ। अनुहारमा अब सबको भोगाइका रेखा छन्। रेखाले भोगाइको चित्रण गर्ने भए, पूरा नभएका रहरका रेखाले निधारमै खोपिल्टो पारेछन्, अर्धनिद्रामा बिताएका रातका रेखाहरु आँखाका दुवै छेउ फैलेछन् अनि भोको पेटले मागेको एक गाँस भातको भरपाइ चाउरेका गालाले गरेछन्। ती धर्काले उमेरमा अल्पबिराम लाग्दा पनि फाट्टफुट्ट बाँकी दाँत देखाएर गलल हाँस्ने ती जमातको चुरोटे गफले गाउँ बडो हाँसेको छ। यो हो तिनको ढल्दो उमेरको कहानी।
त्यो छेउमा उभिएको चौतारीले कति कहानी सुन्यो होला, बालापनदेखि बुढेसकालसम्मको, जवानीदेखि बेइमानीसम्मको, नुनदेखि सुनसम्मको। चौतारीले पनि कस्तो अनौठो मित्रता निभायो, सबै आफू लिन्छ, आफूसँगै राख्छ, न बाँढ्छ आफ्नो, न त अरुको नै बाँढ्छ। सबैको थोरै-थोरै कहानी संगालेर आफू बढ्दै जान्छ, आफू घाम ताप्छ, अरुलाई छहारी दिन्छ। अब उसका हरिया पञ्जा चियाको बाफसँग उड्ने त्यो चुरोटको धुवाँले काला बन्लान् नि! यो त भयो त्यही तिनले ओढेको चौतारीको कहानी।
कोही हाँस्दै भन्छन्, 'मेरो छोरोको बिहे यही असार मसान्तमा हुने कुरो छ, काम भ्याउन आउनुपर्छ है?' हामी भए खाएर रमाइलो गर्नुपर्छ भन्थ्यौं होला। तर, काम भ्याउने चटारो सधैँ जिम्मेवारी बहन गर्ने त्यी बाबुलाई बहेक अरु कसलाई होला। अर्कातिर कोही एक चुस्की चियासँगै झस्किसक्छन्, 'आफ्नो यहाँ श्रीमतीको पत्तो छैन, बाजेका नाती खेलाउने दिन आइसके।'
गफको बीचमा गुञ्जायमान हाँसोको लर्को रोक्दै पसले बाजे बोल्छन्, 'ए, बाबु! कहाँ तिमीहरुको जमाना जस्तो थियो र हाम्रो! हाम्रो त उमेर दशमा बिहे गर्दिन्थे, २० मा तीन सन्तान भइसक्थे। अनि आफूले जिन्दगी बुझ्ने ३० को उमेरमा जिन्दगीले आफूलाई बुझाउँथ्यो।' यति भन्दै एकछिन माहोल चकमन्न पारेर बुढा बा फेरि चिया पकाउनतिर लाग्छन्। यो त्यही गाउँको बाजेको पसलमा चल्ने गफको कहानी।
चियाले चुरोट पायो, चौतारीले दौतरी पायो, गुनासाले पोखिने भाँडो पायो, रहरले फेरि पलाउने सहर पाए, भोगाइले सर्लक्क खनाउने मानो पायो, अनि उमेरको दोसाँधमा उभिएका ती बुढ्यौली मनले समय कटाउने एउटा बाटो पाए।