मेरी माया तिमी फेरि यो वाचा गरेर जाऊ
मेरो पर्खाइमा विश्वास भरेर जाऊ
तिमी गएपछि फूलहरु फुल्नै छाड्लान्
प्रकृतिका हर चिजबिजहरु निराशाको घुम्टो ओढ्लान
तिमी सबलाई मिलाउने तरंग दिएर जाऊ
यो बिदाइमा पनि उमंग दिएर जाऊ
मेरी माया धर्तीलाई पनि धैर्यता दिएर जाऊ
पानीलाई पनि प्यास दिएर जाऊ
आगोलाई तातो, रगतलाई रातो दिएर जाऊ
गोरेटोलाई बाटो, मायालाई अठोट दिएर जाऊ
मेरी माया आँखामा आँसु रोकेर तिमी
ओठमा मुस्कान बोकेर जाऊ
हावालाई पनि माया दिएर जाऊ
शीतलतालाई पनि छाया दिएर जाऊ
यो बिछोडलाई पनि राग दिएर जाऊ
फूलहरुलाई पनि पराग दिएर जाऊ
मेरी माया तिमी बिनको जीवन देखाएर जाऊ
भेटिने दिन हाम्रो फेरि मुटुमा लेखाएर जाऊ
मेरी माया तिमी बिनाको सहरमा पनि
मलाई जिउने रहर दिएर जाऊ
बिछोड पनि एउटा उत्सव बन्ने
त्यस्तो तिमी प्रहर दिएर जाऊ
मेरी माया तिमी हिमाललाई पनि जलाएर जाऊ
पत्थरलाई पनि गलाएर जाऊ
तिमी नहुनुको बर्बादीमा पनि
तिम्रो मायाको आवादी दिएर जाऊ
मेरी माया तिमी फेरि यो वाचा गरेर जाऊ
मेरो पर्खाइमा विश्वास भरेर जाऊ।