गारतले भगवते सलाम अर्पण गर्यो। त्यही साइतमा दुर्गा भवानी माईलाई चिल्लो कालो बोको बली चढ्यो। जर्साबले पालैपालो जवानहरुको निधारमा दुर्गा भवानीको प्रसाद टीका टाँसी बक्स्यो।
जर्साब आफू प्रसाद ग्रहण गर्दै गर्दा सामेलीका जवानहरुलाई केही दिव्य दर्शनहरु 'नसोचौँ देशले हामीलाई के दियो, सोचौँ हामीले देशलाई के दियौँ' देशले रगत मागे... हामी हौं वीरका सन्तान, झन्डामुनि बस दरबार नपस, सँच्चा सिपाहीको रगतले सिंचेर चर्चेको हो यो नेपाल राज्य' आदि इत्यादी हुकुम भैराखेको छ।
परेडका जवान तनक्क तन्केर, छाती तानेर, सिधा नजरमा जर्साबको महान वाणी सुनिरहेका छन्। गरत तयारी, गार्ड सामेल गार्ड कमान्डरको हर्कत सुनियो। जर्साबको हरियो गाडी बाहिरिँदै थियो।
'कुरो बुझिस् हैन त केटा हो?' सामेलिको पल्टनलाई हल्दार मेजरले सोध्यो।
‘बुझेम साप’ पल्टन ले खुट्टा जोड्यो तर एउटा कुरा बुझेको भए मार्दिनु। हुन त जर्साबको प्रत्यक वाणीमा पल्टनले बुट नबजारेको हैन तर तन मात्र त्यहाँ थियो, मन त बेगिएर गाउँ तिर सोझीसकेको थियो।
'के बुझिस त?' हल्दार मेजर गर्ज्यो।
'सबै बुझ्यौँ साप!'
'भुत्रो बुझिस्' ऊ फुस्फुसायो।
'मैले त केही बुझिनँ' उसले मनमनै गम्यो। उसको पनि मनै त हो भौंतारिएर गाउँतिर बेग हानीसकेको थियो।
उसले खल्तीबाट एउटा चिट्करो झिक्यो र नाम पढ्न थाल्यो- रामे, स्यामे, हरी, तारा, भिस्मे, चेते, पौडेल, घर्ति, रुपाखेती, गोदार, सन्थाल....। कसैलाई नाम र कसैलाई थरले पुकार्यो उसको मर्जी।
'तँहरु आज चलिहाल र दुवादशीको गन्ती कवाजमा आउँछस्, यात्रा सुरक्षित तवरले गर्लास्, बाँकी अर्को लटमा' हमेले त्यो चिट्करो झिकेदेखि नै यो मन ढुकढुक भैसकेको थियो। नाम पढ्न थालेदेखि श्वास फुल्न थाल्यो। आफ्नो नाम बाँचेपछि मुटुनै फुत्केर बाहिर आउँला जस्तो भयो, खुट्टाले भुइँ छोड्यो।
नाडीको यचयमटी घडीमा छोटो सुइ बाह्रको नेटो काटेर ओरालो झर्दै छ। गाउँ जाने गाडी त बिहानै छुटिसक्यो, अब सवारी पल्टि खाँदै जानुको विकल्प छैन। घरी उभिएर घरी सिटमा निद्रा र तन्द्राको तालमा गाइने दाइको सरंगीको मधुर धुनमा त्यही 'आमैले सोध्लिन् नि खै छोरा भन्लिन्....' भाका सुनियो।
कहिले नथाकेको यो गीत सुनेपछि मलाई भने गाउँ आइपुगेको जस्तो लाग्छ। सदरमुकाम झर्दै गर्दा झम्के साँझ परिभ्यायो। झोलाबाट टर्च-लाइट झिकेर दाहिने तर्पयाँ बाटो लागेँ। मन उहिले पुगेसकेको ठाउँमा पुग्न छिट्टो-छिट्टो पाइला चाल्न थालेँ। म हतारिएर धन्न धन्नै दौडिएको अवस्थामा छु।
जोगी डाँडा काटेपछि लाटिबुडी चौतारो तिर हल्का गीतको धुन कानमा बजारियो, अगाडि ठूलै लाइट बलेको छ झलल। छिट्टै भेटेँ बेडिङ, बाक्सा बोक्ने दुई जना भरियाका साथमा मलायाको लाहुरे दाइ रहेछन् काँधमा टेप्लिकोट भिरेर हातमा तीनटोटे लाइट बालेका।
जोर चौतारामा पुगेपछि एकछिन सुस्ताउने विचार छ। म चौतारोको ढुङ्गामा टेको लाग्छु। चारैतिर चुक घोप्ट्याको जस्तो अन्धकार वातावरणमा झ्याउँकिरी र किराहरुको किरकिर सुनिन्छ। आकाशमा ताराहरु बयली खेलीरहेका छन्। लाग्छ आकाशमा ताराहरु, धर्तीमा किराहरुको राज्य छ। म मानव जीवन खोज्छु आँखाले देखेभर कानले सुनेभर मानव जीवनको छनक पाउँदिनँ।
आँखालाई तानेर पर डाँडाको दृष्य खिच्छु। कता-कति मल्याक-मिलिक बत्तीको अभास हुन्छ। कतै जुनकिरी त हैन, आकाश हेर्छु। ताराहरु उसैगरी चम्किरहेका छन, अर्को मनले निर्क्योल गर्छ त्यो पारि डाँडा जीवन्त छ मेरो गन्तव्य। मेरा पाइलाहरु फुरुंग हुन्छन्, जो मलाई फूलको थुंगा झैँ बेकेर वेग हानिरहेछन्।
ओहो! रिकुटेहरु त अगाडि नै हाजिरी बजाइसकेछन्। आइटमहरु रौसिदै नाचिरहेका छन्। केटी-पार्टीको डफ्फा खत्रिनी साहिँलीले सम्हालेकी रहिछिन्। केटा-पार्टीमा आइते, गोरे, लट्टे, पाडो। रिकुटे भुपे नाचिरहेको छ खालमा, भर्खर रिकुट पास गरेर आएको ठस-ठस गन्हृएको रिकुटेको छेउमा कुनै पट्ठिहरु देखिदैन बरु आमा, भाउजूको डफ्फाबाट एक्का-दुक्का गएर उसलाई साथ दिइरहेका छन्।
एकपछि अर्को रिकुटेको रिले नाच चलिरहेको छ त्यो पञ्चखालमा। म आँखा केटीपार्टीको डफ्फामा फाल्छु, मन मुटुमा बसेकी मायालाई आँखाले छाम्ने प्रताडना अरु बढदै छ। लछी, दुर्गी, फुलु, च्याम्पुली, जुनि... म पन्छाउदै अगाडि बढ्छु। अहँ! भेट्दिनँ म मेरी मायालाई। मन खिस्रिक्क खुम्चिन्छ।
दुर्गी र फुलुको बीचबाट चिहाइरेछन् दुई वटा आँखा। मेरो आँखाको फोकस त्यही फाल्छु। विस्तारै-विस्तारै जुन उदाय झैँ उघ्रिँदै छ त्यो अनुहार। म फूल झै फुल्छु उनी लज्जावती झैँ चुम्किन्छिन्। मेरो दिलमा खिलेको गुलाफमा उनको मुहारमा चढेको लालिमाले डेरा जमाउँछ। उनको ओठमा खुलेको मुस्कान उफ् त्यो ताप, लाग्छ मेरो अधरमा बास मागिरहेको छ।
बस्, के छ र बाँच्ने एउटा जिन्दगी! म समयसँगै भागिरहेको छु अनि मसँग माया। आँखा जुध्दा लज्जावती हुने माया अहिले मोबाइलको लेन्समा आँखा जुधाउँदा पटक्कै थाक्दिनन्। कहिले-कहिले म पनि झेल गरेर बीचमा अटाइदिन्छु, उनी ठुस्किन्छिन्। आहा! कति मिठो। उनलाई अझ बिच्काउन मन लाग्छ, म अरु झेली खेल्छु। उनी हौसिँदै हातापाईमा उत्रिन्छिन। म झन् इत्रिदिन्छु, उनी अरु आवेशमा आउछिन्।
मलाई अझ धित मर्दैन, अरु जिस्क्याउन मन लाग्छ। चल्दा-चल्दा उनी सिथिल हुन्छिन्, लाग्छ मेरो माया उनको सिथिल अंगालोमा पोखिसकेको छ। म झ्याल खोलेर आकाशमा हेर्छु, तीन तारे बीच आकाशमा चाम्किरहेको छ। गाउँको त्यो झुप्रो वरिपरी झाडी बनेको छ रे, म यो छिँडीको कोठामा आफ्नो संसार खोज्छु। माया, उनी त थाकेर निदाइ सकिछिन्, म पनि एक छेउबाट घुस्रिन्छु।
'हैन, यो मान्छे कति चल्न सकेको!' मायाले कर्के हेरिन। त्यो नजरको तिर ठ्याक्क मुटुमै टक्क रोकियो। म झन रौसिएँ, म धेरै अगाडि बढ्नु अगाडि उनले मेरी हात च्याप्प समातेर आफ्नो पेट तिर छुवाइन्।
मैले उनलाई हेरेँ उनी हाँसिरहेकी छिन्, मेरा ओठले बोल्न सकेन मात्र टाउको हल्लाएँ। उनले पनि त्यसै गरिन्। हामी एकाकार भै रह्यौँ धेरैबेर। केही थान उनले केही मैले रानीमायाको आगमनको सपना बुन्यौँ। आज फेरि उनको एक सर्को मायामा भुतुक्कै भएँ। म खुसीले चिच्याएँ, माया।
कसैले मेरो टाउकोमा हात फेर्दै सोध्यो, 'के भयो?'
मैले त्यो नारी आवाज तिर हेरेँ। म तत्क्षण केही बोल्न सकिनँ। अगाडि हेरेँ भित्ताको रंग फुङ्ग उडेको छ, त्यो भित्तामा टाँसिएको घडी टक्क रोकिएको छ। सायद त्यो घडीमा ब्याट्री नै छैन। झ्यालका पर्दाहरु पनि च्यात्तिसकेका मैला छन्। झण्डै मेरो गोडेनी माथि पङ्खा तुर्लुङ्ग झुन्डिएको छ, खिया परिसकेको पङ्खा बेजान देखिन्छ।
मेरो नजर भित्ताको सयर गर्दै त्यही नारीमा आएर टुंगिन्छ। नाकबाट नमिठो हस्को छिरिरहेको छ। उनी नर्सको परिधानमा छिन्। मलाई भेउ पाउन गाह्रो हुँदैन, म कुनै सरकारी अस्पतालमा छु। अझ बिन्याएर हेर्दै जाँदा अगाडिको भित्ताको एउटा कुनामा केही देवी-देवताका तस्बिरहरु धुली मैदानमा ढाकिएर सजीव बोलिरहेको जस्तो लाग्छ 'अस्पातल त आइपुगिस् सैनिक तर तेरो ज्यान मेरै हातमा छ।'
म अघि देखेको दृष्यमा फर्किन्छु र कराउँछु, 'यो संजोग फेरि-फेरि आउँदैन, यी दृष्यहरु पृष्ठभूमिमा कैद गरेर टिकटक बनाऊ, मलाई पनि भाइरल हुनु छ।' दायाँ-बायाँका बिरामीहरु पनि क्वार-क्वार्ती मलाई हेर्छन्। आवाज सुनेर अर्की नर्स पनि आइपुग्छिन्। ती दुवै पकरल्ल छन्। म अझै फेसबुक, इन्स्टा, मिग, टिकटक के-के भनेर बर्बराइ रहन्छु।
एउटी नर्स भन्छिन् 'खै! तपाईंले भनेको केही बुझिएन।'
म फेरि भुतभुताउँछु 'मोबाइलले खिच, सामाजिक सन्जालमा फैलाऊ यहाँको अस्तव्यस्तता।'
उनीहरु अझै वाल्ल पर्छन्। पछि आउने नर्स मेरो प्रेसर जाँच्छिन् र क्लिप बोर्डमा टिपोट गर्छिन्। मेरो आँखा पनि त्यो बोर्डमा पर्छ, जहाँ मिति लेखिएको हुन्छ- २०५० साल असोज ३ गते। म बल्ल झस्कन्छु, ओहो! कस्तो सपना। म त समयलाई उछिनेर धेरै अगाडि पो बढेको रहेछु।
मेरो मुटुको ढुकढुकीले बेग हानिरहेको छ। म मस्तिष्कलाई पछाडि-पछाडि धकेल्छु। मेजर हल्दारको आवाज कानमा गुन्जिँदै छ। दसैं मानेर उसैको हुकुम तामेलीमा छु। मजस्तै अरु धेरै छन्, पहिलो गाडी छुटिसकेछ। पारि डाँडाबाट अर्को गाडी घुइँकिँदै आउँदै छ। गाडी घ्याच्चै रोकियो, गाडीमा खुट्टा राख्ने ठाउँ छैन, छतसम्मै भरीभराउ छ, दसैंमा यस्तै हो कोचिएर यात्रा गर्नुको विकल्प छैन।
'हैन बलिया-बाँगा ठिटाहरु माथि जाओ हावा खान,' भित्रका अर्धबैंसे कराए।
'सही हो, सही हो!' उरन्ठेउला जत्था हल्ला गर्दै हुटमा उक्लियो र म पनि।
यो के, मेजर हल्दार! 'ए... केटा आइस्?' मेजरले मलाई हेर्यो, 'ससुराली जिल्लाको परेछस्, अर्को सालदेखि छुट्टी मिलेन भने निधार खाली नहुने भो' मेजर मुस्कुरायो। गाडीले रफ्तार पक्रिसकेको छ। बाह्रबिसेको कुइनेटोमा नराम्ररी लन्ठयाङ मन्ठ्यायङ खायो।
'हुत्याउँछ कि के हो केटा, त्यसका बाजे,' मेजर बड्बडायो। मेरो पनि मुटु ढुकढुक गर्यो। टनाटन प्यासेन्जर, बस के पल्टाउला र! म आफ्नै मनलाई बुझाउँछु। हरेक घुम्ती कटेपछि मेरो मन चिसो हुन्छ। १३ किलोको घुम्तीमा मन चिसो हुन पाएन, गाडीले त्यो घुम्ती काट्न सकेन। पल्ट्यो बल्ड्याङ बल्ड्याङ। सबै चिच्याएको सुनियो, बस् त्यहाँसम्म मात्र होस छ मेरो।
म अब पूर्ण सामान्य अवस्थामा आइरहेको छु। मेरो कानले कंकाल शब्द, रुलाकार चित्कार सुनिरहेको छ। म बाहिर निस्कन्छु, ओहो! एक हुल मानिसहरु रोई-कराई रहेका छन्। लासको सोत्तर लागेको छ। प्रत्येक लासका वारेस आ-आफ्ना आफन्तका लासका छेउमा शोक मनाइरहेका छन्।
त्यहाँ पर एउटा लास लावारिस पल्टिरहेको छ। हे भगवान, हल्दार मेजर! म एक्कासी मेजरको लास छाँद हाल्न पुग्छु। फेरि म बेहोसीमा बर्बराउँछु, 'मेजर तिमी लावारिस मर्न पाउँदैनौ, उठ मेजर उठ। सधैंभरि मैले तिम्रो कासनको पालना गरेँ। आज म तिमीलाई कासन दिन्छु 'खडा भई जाऊ' मेरो तिमीलाई पहिलो र अन्तिम कासन प्लिज खडा भई जाऊ...।'
मेरो आँखाबाट बलिन्द्र धारा आँसु बगिरहन्छ तर मेजर उठ्दैन। बरु उसका हरेक शब्दहरु मेरो कानको बाटो आई गैरहन्छ। यात्रा सुरक्षित तवरले गर्लास्... ससुराली जिल्लाको परेछस्...।