उषाको आलिङ्गनमा रम्रीएर
दिनभर हौसिएका रवि
निशाको सानिध्यताले निराश हुँदै
मुर्झिएका फूल देखेर
हाँसिरहेका कोपिलादेखि दिक्क छन्।
लठ्ठीको सहारामा जीवन नाप्दै
सेताम्य कपाल टल्काएर
विगत निहाल्नेहरुको दुर्दशामा
खित्खिताएको जवान हाँसोदेखि
बिलखबन्दमा परेका मान्छे देखेर
असमञ्जस्यमा परेका छन् उनी
वास्तविकताको गाँठो फुकाल्न कसरत गर्दै
ज्यामितिको हिसाबकिताबमा सोचमग्न भएर
रवि गम्दै छन्
के जीवन सरल रेखामा बग्नु मात्र हो र?
के बक्री रेखाको हिसाब किताब गर्नु आवश्यक छैन?
यदि सरल रेखाको मात्र गणित चल्थ्यो भने
बक्री रेखा किन पढ्नु?
अनि निस्कर्ष निकाल्दै रवि भन्छन्
बक्रीरेखाको ज्ञानमै छ
जीवनको वास्तविकता
त्यसैले खोल्छ मनुस्य चोलाको पोल।