तिमीले सुन्यौ?
हिजो मात्र अन्तस्करणबाट अंकुराएको मुना
आज निमोठिएछ
समय, परिस्थिति अनि परिवेशको निर्मम हातबाट।
निभ्दै गरेको जीवन दीपमा
एक मुठी आशाको तेल थप्दै गर्दा
सम्झायौ तिमीले मलाई,
मेरी आमाको पीडा
म टाढिनुमा जो उनले भोगिन्
दर्शायौ तिमीले मेरो बाबाको सपना
जो उनको चितासँगै खरानी हुँदै थियो
तिमी आउँदै गर्दा
तिमीले ल्यायौ मेरो बालापन
बिछोडिएका मेरा मित्रहरु
हरेक वर्ष आउने रामनवमी मेला
मैले देखेका पालाम गाउँदै धान नाच्न मस्त
एकअर्कामा आबद्ध हातहरु
जंगलको बीच-बीचबाट
दौडँदै गरेका
मेरा हरेक बालसखाका पाइलाहरु
आश्चर्य अनि अद्भुत
तिमी आउँदै गर्दा तिमीले सुख ल्यायौ
खुसी ल्यायौ अनि आत्मियता पनि
स्मृतिबाट विलीन हुँदै गरेका
हरेक साथ अनि यादहरु ल्यायौ।
साथी
तिमीले नै होइन मलाई हिँड्न सिकाएको!
लड्दै थिए म आफैंसँग
अनि आफ्नो गन्तब्य विहीन यात्रासँग
हात दिएर त्यो दलदलबाट निकाल्दै गर्दा
सपना देख्न पनि त सिकायौ तिमीले
सुनसान देउरालीको रक्त्यम्म चौतारीमा
मैले आफ्नो कथा आफैंलाई सुनाउँदा
आफ्नो साथी आफैंलाई बनाउँदा
तिमीले साथी
मेरो कथाको प्रतिनिधित्व गर्यौ
आफूमा त्यसलाई समाहित गर्यौ
त्यही कथाको एक पात्र बन्दै।
तर साथी,
त्यति बेला तिमीले थामेको त्यो हात
आज फेरि अस्तव्यस्त भा'छ
देउराली आज पनि सुनसान छ
तिमीले आफूलाई क्षितिजको कुनामा लुकाउँदै गर्दा
आज फेरि एक पटकमा स्रोता विहीन बन्न पुगेको छु
हो साथी, स्रोता विहीन
त्यो स्रोता जसले मेरो कथालाई
आफूमा प्रतिस्थापन गर्दै
आफ्नो आत्माको गहिराइबाट सुन्थ्यो।