असार/साउनमा रोपेका धान खेतमा लहलह भएका थिए
धान खेतमा बहेली खेल्दै थिए
धानलाई भित्र्याउनु थियो
रित्तिएको भकारी भर्नु थियो
त्यही बेला दसैँलाई भित्र्याउनु थियो
गाउँमा दसैँ भित्रिएको थियो
सबै मान्छेहरु अनेक कुरा बिर्सिएर रमाइरहेका थिए।
म दसैँ आउनुभन्दा तीन दिन अगाडि हँसिया लिएर खेतमा जानै लाग्दा
सहरबाट दसैँ मनाउन घरमा आएको छोरोले मलाई रोक्यो र भन्यो,
'बा छाड्नोस अहिले, दसैँको बेला पनि के दुःख गर्नु हुन्छ?
चाडपर्वमा पनि दुख गर्ने हो? दसैँलाई बिदा गरौँ अनि धान भित्र्याउनू होला।'
जेनतेन दुखी भएरै सहि, दसैँ मनायौँ
दसैँ सक्किएको साँझ छोरो सहर लाग्यो
छोरो सहर लागेको भोलिपल्ट माथिबाट पानी बर्सियो
छोरो सकुशल सहर पुग्यो त यहाँ खेतमा भएका धान सकुशल भएनन्।
खेतभरि पानी नै पानी भयो
पानीको भेल बग्यो
खेत पानीमय भयो
सम्म परेका धान खेत एकाएक सागर भए
ठडिएका धानका बोट ढले।
असारमा वर्षिएको वर्षाको सहयोगमा रोपिएका धान
अहिले बेमौसममा आएको वर्षाले बगायो
धान बगाएसँगै
यता एउटा सपना बगायो
अनि एउटा टेन्सन थपियो,
गाउँमा आफू जे खाउँला, खाउँला तर सहरमा गएको छोरोलाई के पठाउँला?
छोरोले 'बा, चामल सक्कियो' भन्दा के जवाफ दिउँला?