म
एउटा पर्यटकले सुन्दर दृष्य नियालिरहे जस्तै
एउटा विशाल महासागरको किनारमा बसी
धर्ती र आकाशको त्यो सुन्दर मिलन नियालिरहेको।
म
असंख्य विचारहरुको थाक-थाकभित्र थिचिएर
आफैले आफैलाई चिन्न नसक्ने गरी
आफैभित्र कतै टाढा-टाढा
बाटो बिर्सिएर हराइरहेको।
म
वर्तमान बिर्सिएर
हर क्षण विगतका छायाहरुदेखि तर्संदै
र अनिश्चित भविष्यको खातिर
आफ्नै सपनाहरुलाई बन्दकी राखी
जिन्दगीको यात्रामा भौतारिरहेको।
म
हतास-हतास
कही-केही हराए जस्तो
कही केही पाउने होकि भन्ने आशमा
एउटा कृतिम मान्छे जस्तै
भिडहरु सँगसँगै लम्किरहेको, दौडिरहेको।
म
हाँस्न बिर्सिएको
कृतिम मुस्कानमा सज्जिएर
मानवीय संवेदना हराएको
औपचारिकतामा मात्र सीमित
एउटा कृतिम जिन्दगी बाँचिरहेको।
म
फेरि त्यही पर्यटकले एउटा सुन्दर दृष्य नियालिरहे जस्तै
एउटा विशाल महासागरको किनारमा बसी
धर्ती र आकाश बीचको त्यो सुन्दर मिलन नियालिरहेको।