भौतिक सुख सुबिधा, धन सम्पत्ति, यश आराम सबै जति भए पनि
महल, गाडी, हिरा, मोती, सुन-चाँदी, माणिक, रत्न सबै जति भए पनि
यदि मनमा सुख र शान्ति नै छैन भने
यदि भोक र प्यास नै लाग्दैन भने
यदि दिनमा चैन र रातमा निद नै छैन भने
यी सबै भौतिक सुख सुबिधा भएको मतलब के भो र?
देख्छु दिन रात मुखमा माड राख्न कठिन परिश्रम गर्नेहरुलाई
देख्छु सडकमा भोको पेट पाल्न भौतारिरहनेहरुलाई
देख्छु सडक पेटी, खुला आकाशमै सुतेकाहरुलाई
कति मस्तसँग सुतेका हुन्छन् उनीहरु?
न हुन्छ कुनै ओढ्ने, न त हुन्छ कुनै ओछ्याउने नै
उनीहरुका लागि धर्ती हुन्छ ओछ्याउने, अनि आकाश हुन्छ ओढ्ने
न छ उनीहरुको कुनै गाँसको ठेगाना, न त छ उनीहरुको कुनै बासकै ठेगाना
न छ उनीहरुको कोही अघि नै, न छ उनीहरुको कोही पछि नै
तर पनि देख्छु उनीहरु, सधैँ खुसी कति?
आखिर भौतिक सुखभन्दा त, चाहिँदो रहेछ मनको शान्ति नै
भौतिक सुख त किन्न सकिन्छ पैसाले
तर किन्न सकिँदो रहेनछ मनको शान्ति पैसाले
भौतिक सुख त खोसेर लिन सकिन्छ कसैबाट
तर खोसेर लिन सकिँदो रहेनछ मनको शान्ति कसैबाट
महशुस गर्नु पर्दो रहेछ मनको शान्ति, अन्तस्करणले नै
बनाउँछ मानिसलाई सुखी र सन्तुष्टी, मनको शान्तिले गर्दा नै।