नदी-कटानले झार्ला-झार्ला जस्तो
एउटा फुसको घर
आधा झरेको आधा बचेको टेढो
जराले अड्काएको भर
कसको होला? के भयो होला?
चारैतिर छ सुनसान
भन्छन् अहिलेको बाढीपहिरोमा
यहीँ गयो कतिको ज्यान
वरिपरि छ ढुङ्गैढुङ्गा
कहाँ बगायो खेतबारी?
चुँडिएर लत्रिरहेको तुइन
आधा वारि आधा पारि
आउनेजाने बटुवा कुरा गर्छन्
अड्कल थरीथरी
'बसाइँ सरे होलान् कि!'
'न सबै मरे कि! कठैबरी'
मधेसी परिवार बस्थे कि!
कि त पहाडे जन!
जो थियो आफ्नै नेपाली
एउटा आफूजस्तै जीवन।