मानो रोपेर मुरी भित्राउने बेला
पारि क्षितिजमा
कालो बादल मडारिँदै
बर्सियो उसका सपनामाथि
सुनामीमा अजंगका छालहरू
अनि बगायो उसका सपनाहरू
एक-एक दानासँगै
सुखको सुस्केरा पनि
रह्यो त केबल दुःख र पीडा
जो वर्षौंदेखि ऊसँग परिचित थियो
भन्छन् भगवान सबैको हुन्छ
तर उसको भगवान कहिल्यै भएन
पसिना चुहाउँदै
भोक र रोगसँग पौठेजोरी खेल्दै
एक बालो धान फलाउन
उसले कुहाउनु पर्यो नङ्ग्राहरू
फुटाउनु पर्यो पैतला
तर सुखको एक दाना
आँगनमा ल्याउन नपाउँदै
नियतिले ढालिदियो
उसको पसिना ओभाउने शीतलताको वृक्ष
र राखिदियो उसलाई
नग्नताको जालो भित्र
पीडा अनि व्यथाको ग्रन्थ बोकेर
सुखको एउटा दाना
भित्राउन नपाउँदै
ऊ हारेको छ आज
हुन त उसलाई हार्ने बानी परेको छ
कहिले बिउ-मल नपाएर
कहिले बैंकको ऋण तिर्न नसकेर
ऊ हार्नु हारेको छ
तर यसपटक उसलाई
नियतिले शून्य बनाएर हराइदियो
र टुहुरो बनाइदियो सपनाहरूसँग
जो प्रत्येक वर्ष
उसैसँग लुकामारी खेल्ने गर्दछन्
अब त उसले
पानी मात्र पिएर बस्नु पर्छ
लगाउनु पर्छ पुर्पोरोमा हात
आँखाबाट आँसु झार्दै
झुक्नु पर्छ साहुसँग
उस्तै परे सुनसान रातमा
झुन्डिनु पर्छ घर छेउकै रुखमा
किनकि अब उसको आवाज
सुनिदिने कोही छैन
नत उसको पीडा नाप्ने थर्मोमिटर नै
अब अन्नदाता टुहुरो भएको छ
विवश अनि लाचार पनि
र बसिरहेछ मृत्यु पर्खेर
किनकि ऊ त किसान हो।