तिमी जूनको पर्यायवाची हौ
तर तिमीमा दम्भ छैन, उज्यालो हुनुको
तिमी फुल्छौ जस्तै कठिनाइमा पनि
तिमीलाई पर्वाह छैन प्रतिकुलताको
गुलाफ मुस्काउँदा यत्रतत्र सुवास छरिएझैँ
तिमी हाँस्दा लाग्छ मानौँ मेरो हृदयको प्रकृति
त्यसै-त्यसै सुगन्धित भएजस्तो।
कालो केश फुकाइ तिमीले दायाँ-बायाँ हल्लाउँदा
यस्तो लाग्छ मानौँ
जून वरिपरि बादल नाचिरहेजस्तो
हजारौं लाखौंको भिडमा तिमी पृथक छौ
बिल्कुलै पृथक अनि सबैभन्दा विशेष,
जसरी पृथक र विशेष छ जून पनि
लाखौं ताराहरुको माझमा
मलाई ज्ञात थिएन, कस्तो हुन्छ प्रेमगीत
मलाई लत बसेको थियो
शून्यतामा बस्ने शून्यतामै रमाउने,
यत्तिकैमा तिमी मिठो धुन बनेर आयौ
म उज्यालोसँग अपरिचित थिएँ
मलाई बानी परेको थियो
अँध्यारोमा हिँड्ने, अँध्यारोमै रमाउने
यत्तिकैमा तिमी जून बनेर आयौ
एउटै फरक छ तिमी र जूनमा
जून आउँछ भोलि फर्किने सम्झौतामा
तर तिमी आयौ यो जिन्दगीमा
बिना कुनै सर्त, बिना कुनै सम्झौता
आयौ त बोकेर केवल निस्वार्थ प्रेम
अनि जूनजस्तै प्रेमिल उज्यालो।