अन्जन, जो आफ्नो सुन्दर भविष्यको खोजीमा काठमाडौंको यो खाल्टोमा करिब दुई वर्षदेखि संघर्षरत छ।
भविष्यको एक शाखा अधिकृत बन्ने सुनौला दिवा सपना बोकेर सामाखुसीको एउटा सानो कोठामा लोक सेवाका बाक्ला बाक्ला किताबमा रहेका साध्य र सिद्धान्त, आयाम र तत्व घोक्दा घोक्दै बिति सक्यो उसका स्वर्णिम उमेरका दुई चार वर्ष।
थाकेको छैन ऊ, लोक सेवाका वार्षिक कार्यतालिका हेर्न र परीक्षा केन्द्र धाउन।
जीवनमा कहिल्यै फेल नभएको अन्जन, लोक सेवामा विगत दुई वर्षदेखि कहिल्यै पास हुन सक्या छैन।
कहिल्यै प्रथम पत्र आशा लाग्दो हुँदै द्वितीय, तृतीय र चतुर्थ पत्रमध्ये एउटामा हावा खान पुग्दा ती आशाका दीयो आफ्नै आँखाअघि ढल्छन् उसका, तै पनि फेरि बल गरेर ल्याउँछ आँट र थाल्छ अर्को अध्यायको परीक्षाको तयारीमा।
घरकाले उसलाई दिएको २ वर्षे समयले पनि डाँडा काटिसक्यो। तर उसको जिन्दगीमा लोक सेवाको परीक्षालाई सफलताको धारले अझ काट्न सक्या छैन।
सँगैका साथीसङ्गी बुलेट बाइकमा हुइँकिँदै 'के छ हो, यार ?के गर्दै छस् ? के-के गरिस् हो, प्रगति ? तँ त पढाइमा राम्रो भाको मान्छे, तेरो प्रगति सुना न' भन्दै गफिन्छन्। कहिलेकाहीँ म्यासेन्जरमा ऊसँग।
यता ऊ भने राष्ट्रिय प्रगतिका तथ्यांक (डाटा) घोक्दै र लेख्दै बिताइरहेको छ जिन्दगीका स्वर्णीम उमेरका केही वर्ष।
खै! कहाँनिर के मिलिराको छैन, जिके र आइक्यूमा घोतलिँदा लिँदै कहिलेकाहीँ आफ्नै जिन्दगी पनि आइक्यूको 'मिसिङ क्यारेक्टर' जस्तै लाग्न थालिसक्यो अन्जनलाई।
विद्यालय तहदेखि स्नातक तहसम्म सदा अब्बल कहलिएको अन्जन, लोक सेवामा भन्ने अब्बल नम्बरसहित अब्बल ठहरिन सकिरहेको छैन यी वर्षमा।
उसको त्यो सानो कोठामा चारैतिर विभिन्न लेखका विभिन्न पुस्तक छरपस्ट छन्। ऊ तिनै पुस्तकबाट कुनै बाट केही शब्द त कुनै बाट केही वाक्य नै सापटी लिँदै कुनै एउटा विषयमा लोक सेवा स्तरीय परिभाषा बनाउँछ र मसक मुस्कुराउँछ। मनमनै यही सोच्दै कि यो परिभाषा त साँच्चै उत्कृष्ट बन्यो यस्तै गरेमा त पक्का अधिकृत बनिन् छ !
यसरी बितिरहेका छन् उसका दिनचर्या विगत दुई वर्षदेखि जिकेका लागि विश्वकै अग्लो स्थान सगरमाथादेखि विश्व कै होचो स्थान डेथ सीसम्मका सम्पूर्ण विश्व भू-मण्डलका तथ्यांक घोक्दा घोक्दै।
बीबीसी र रेडियो नेपालबाट आउने हरेक दिनका समचार सुन्नु टिपोट गर्नु एंवम् बुधबारे गोरखा पत्रिकाको कटिङ गर्दै राख्नु उसको नित्य कर्म नै बनिसक्यो।
आज पनि बिहानैदेखि भिडिरहेको छ अन्जन, लोक सेवामय रणसंङ्ग्रामको तीनै बाक्ला बाक्ला पुस्तकसँग।
यतिकैमा, झट्ट सम्झिन्छ अन्जनले आफ्नो भोको पेटलाई र लम्किन्छ किचन र्याक भएसम्म।
बोराको पिँधमा रहेको चामललाई धोइ पखाली बसाल्छ ग्यास चुलोमा र बाल्न खोज्छ ग्यास। यतिकैमा ग्यास त डुब्न लागेको घामजस्तै पहेंलपुर र धिप धिप गर्दै अन्तिम सास फेर्न लागेको मान्छेलेझैं आफ्नो अन्तिम अस्तित्वको सङ्केत गर्छ।
ला! यता ग्यास सकियो उता गाउँबाट बा-आमाले पठाएको पैसा।
बा-आमाले कुटो, कोदालो र मेलापात गरी पठाएको त्यो सात हजार रुपैयाँ जसले उसले यो महिनामा जेनतेन धान्नुथ्यो आफ्नो
प्राण। तर बचेको थिएन उसको त्यो सात हजार यो सहरको बढ्दो महँगीकासामु।
यिनै कुरामा घोत्लिँदा घोत्लिँदै हराउँदै ऊ एकैझिन आफ्नै तन्द्रामय संसारमा र एक्कासि त्यो तन्द्राबाट झस्किँदै काट्छ... उफफफफ् ! र फर्किन्छ ऊ वास्तविक जीवनमा ती तमाम काल्पनिक सोचबाट निस्किएर नजिकै रहेको कुर्सीमा थ्याच्च बस्छ।
यतिनै खेर, एक झमट आइपुग्छन् एक फरक सोच उसको मानसपटलमा।
आज दु:ख, अभाव र संर्घष छ र त भोलि अधिकृत भए पछिको सुनौलो जीवन छ। आज एक्लै छु र त भोलि अघि-पछि हजारौं हुनेछन्। यिनै कुरा सोच्दै फेरि लाग्छ अन्जन, लोक सेवाको त्यही रणसङ्ग्रममा उही त्यो सानो कोठामा संघर्षको ठूलो इतिहास लेख्न।