अगस्टको महिना बिहानै टोरन्टो आगोझैं बलेको छ। एसीको कर्कश ध्वनीले खलबलाएको निद्रालाई तकियामै छोडेर अनुहारभरिको पसिना पुछ्दै उठेर पानी पिएँ। उखरमाउलो गर्मीको बेवास्ता गर्दै चिरविराएका चराहरूलाई गाली गर्दै एसीलाई ओछ्यानतिर तेर्साएर पुनः सुत्ने सुरसारले पसारिएँ ओछ्यानमा।
निद्रा हो कि तन्द्रा हो बिस्फोटनको आवाजले मनसँगै घर पनि काँपेको अनुभूतिसँगै जुर्मुराएर उठेँ। झ्याल थर्थराउँदै थिए। निमेष अगाडि सीसा फुटेको आवाज नजिकैबाट आएझैं भान भएको थियो।
काँपेका हातहरूले श्रीमतीलाई झकझकाउँदै उठाउने प्रयत्न गरें। निद्राले लोलाएका आँखा मिच्दै उनले भनिन्, 'फेरि त्यही सपना देख्नु भयो होइन ! शनिबारको दिन पनि किन छिट्टो उठ्नु सुत्नुस। बम-सम केही पट्केको छैन।सबै तर्कना मात्र हो।' यति भन्दै उनी सुतिन्।
म भने सपना र विपनाको दोसाँधमा झुल्दै रहेँ। उठेर कफी बनाएँ र मोबाइलमा समाचार हेर्दै रहेँ। कतै केही ब्रेकिङ न्युज आइहाल्छ कि भनेर।
झ्याल अगाडि गएर बाहिर निहाल्दै उभिएर। कतै पर एम्बुलेन्स र वायुनियन्त्रक यन्त्रको कोलाहल पल प्रतिपल नजिकिँदै जाँदा मेरो आशंका प्रबल हुँदै थियो। निमेशभरमै एक दुई तीन हुँदै दर्जन जति इमरजेन्सी रेसपन्डर निलो र रातो बत्ती बाल्दै हुइँकिए घर अगाडिबाटै।
खुलदुली बढी नै थियो हाफ पाइन्ट टिसर्ट र क्याप लगाएर निस्किएँ बुजबुजारथको लागि म पनि हान्निएरै।
हावाको वेगलाई उछिन्दै कुदेका एम्बुलेन्स र वरूण नियन्त्रक साधन एकै छिनमा सुस्ताउँदै फर्किएको देखें। साइरन बजाउँदै कुदेका एम्बुलेन्स र वायु नियन्त्रक साधन टोरन्टोका सडकमा देखिनु/भेटिनु सामान्य नै हुन तर मलाई भने यिनले सधैं नै तर्साउँछन्।
जुनसुकै बेला अनि जुनसुकै अवस्थामा म साइरनको कर्कश ध्वनी सुन्दा हिउँझैं चिसिन्छु र बरफझैं जमिहाल्छु। घर नजिकैको चौरमा किम्बुको रूखमुनि बसेर चराचुरूङ्गीहरूको अवलोकन गर्न थालेँ।
जति नै छायामा छेकिए पनि पोल्ने बाफलाई बिर्सिएर म यिनै निस्फीक्री चराका बथानलाई नियाल्दा नियाल्दै ती जोडी आँखा पुनः मेरो मनलाई भयभीत पार्न आइहालेछन्। दस वर्ष भैसक्यो युद्ध समाप्त भएको पनि तर ती आँखा हररात आउँछन् मलाई तर्साउन।
कहिले सपनामा त कहिले तर्कनामा।
फागुनको घमाइलो दिनलाई गणेश हिमालबाट आएको सिरेटो स्कुल प्राङ्गणलाई चिस्याएर लुकिहाल्थ्यो बेलाबेलामा।
केही दिन अघि परेको पानीले खुलेको आकाशमा आक्कलझुक्कल परेड खेल्ने बादलका थुंगा अनि बसन्तको आगमनमा मौलाएका पालुवाले छरेको बसन्ती मादकता अलौकिक थियो जर्सिन पौवा।
उचाइबाट देखिएको काठमाडौं खाल्डो अरू दिनभन्दा सुकिलो र नजिक थियो। भर्खरै हेडमास्टरमा बढुवा भएर त्यही खाल्डोबाट करिब करिब दुई महिना अगाडि आएको थिएँ म यहाँ।
सहरको कोलाहलभन्दा टाढा मलाई यो ग्रामीण परिवेशले निकै प्रभावित परेको थियो। यो शान्त सुरम्य ग्रामीण दैनिकी मेरो कल्पनापुरी भन्दा कम थिएन। त्यसमाथि गाउँलेहरूको मप्रतिको सदभाव मैले पन्ध्र वर्षे सहरिया शिक्षक जीवनमा कहिल्यै अनुभूति गर्न पाइनँ।
यो स्कुल दुई गाउँको सिमानामा थियो। स्कुलको प्राङ्गण हुँदै प्रस्तावित चौडा राजमार्ग केहीबेर तेर्सिएर उकालिँदै कुद्थ्यो। म लगायतका शिक्षक शिक्षिका वार्षिक परीक्षाको तयारीमा ब्यस्त दिन बिट मार्दैथियौं।
एउटा ठूलो लरी केहीघन्टा अगाडिदेखि स्कुल प्राङ्गणमै रोकिएको थियो। हामी मिटिङ कक्षामा भेलामात्र के भएका थियौं त्यही लरीबाट आठ दश हतियारधारी युवक युवती आए केही राउन्ड बन्दुक पड्काए र हामी सबैलाई बन्धी बनाएर लरीमा कोचे।
हामी सबैका आँखामा पट्टी लगाए, हात पछाडि लगेर बाँधिदिए। मेरो दाहिने पाखुरामा केही तिखो सियोले घोचेझैं भयो। केही सेकेन्डमै मेरा आँखा लोलाए र म सायद भुइँमा पल्टिएँ। कतिबेरपछि ब्युझिएँ, त्यो दौरान के के भएँ मलाई हेक्का भएन।
नशालु लोलाएका आँखा चारैतिर डुलाएर हेरेँ एउट सानो छिँडीमा कोचिएका थियौं हामी। कोही सुक्क सुक्क रूँदै थिए त कोही म जस्तै अक्क-न-वक्क थिए। के भयो र किन भयो कसैलाई भेउसम्म थिएन।
चुक खनाएझैं अन्धकार कोठालाई मैनबत्तीको उजिल्याउने अथक प्रयास पनि केहीबेरमै निस्फल भयो। आफैंलाई नदेखिने अन्धकारसँग डर लागेर होला हामी कराउन चिच्याउन लाग्यौं।
निकैबेरको कोलाहलपछि आकाश खुलेझैं भयो हामीमाथि। एक्कासि आएको प्रकाश तिरमिराएका आँखालाई मिच्दै वरिपरिको अवलोकन गर्न भ्याएँ।
मननै सिरिङ्ग भयो। हामीलाई बङ्करमा थुनिएको थियो। काँधमा बन्दुक बोकेर एक जोडी लडाकु ओर्लिएर आए। हामीलाई सम्बोधन गर्दै अपहरण कसले र किन गरेको भन्ने जानकारी दिँदै भर्याङ्ग चढ्न थाले।
मैले जुर्मुराउँदै उठेर भने 'हेर्नुस् यो सुरूङ्गमा मैन बत्ती बाल्दा हामी निसास्सिएरै मर्छौं। कृपया हामीलाई अरू नै ठाउँमा सारिदिनुस्। त्यसमाथि यहाँ महिलाहरू पनि हुनु हुन्छ। शौचालयको पनि व्यवस्था छैन ......।'
मेरो वाक्य पूरा नहुँदै दोस्रो लडाकुले प्वाक्क बोल्यो 'यसै पनि मास्टर आज मरे पनि भोलि मरे पनि तँलाई मर्नु नै छ। गोलीले मरे पनि निसास्सिएर मरे पनि के फरक मर्ने नै हो आखिर।'
उसको भनाइमा बदला र घृणाको भाव थियो।
हामी सबै मृत्युको भयले टिलपिलाएका आँखाले उसलाई हेरिरहेका थियौं। पहिलो लडाकु केही भन्दै थियो मैले केही सुनिनँ।
ती आँखा र त्यो स्वर सुपरिचित थियो। म तिनको पहिचानका लागि रस्साकस्सी गर्दै थिएँ आफ्नो भनाइ सकेर उनीहरू पुनः भर्याङ्ग चढ्न लागे।
अनायसै मेरो मुखबाट नाम प्रतिध्वनित भयो 'बिकल'।
उसले पुलुक्क हेर्यो र छिटो छिटो भर्याङ चढ्न थाल्यो।
निस्प्रिय मृत्युको कल्पना पनि प्रिय हुँदोरहेछ। एकमुठी सास रहुन्जेल आश गर्ने म पलपल मृत्युको कामना गरिरहन्थेँ।जमिनबाट केही मिटर तल आफ्नै मलमुत्रको आहालमा डुबेको म गोब्रे कीराझैं थिएँ।
फरक यतिमात्र थियो ममा क्लाँन्त चेतनाको आवेश अझै बाँकी नै थियो। पलपल दिग्भ्रमीत मेरा इन्द्रीयहरू पूर्णरूपमा निस्तेज भने भैसकेका थिएनन्। त्यसैले नै होला धिपधिपाउँदा मेरा आँखा उद्धारको अपेक्षामा अझै जागा नै थिए। संशयको अन्धकार भने घनिभुत नै थियो।
मृत्यु हात फैलाएरै आलिङ्गनको हतारोमा थियो र म पनि थाकेका आशालाई पन्छाएर उसको बाहुपासमा बाँधिन लालाहित थिएँ। अर्धचेतन मनले सुरूङको अन्त्यमा प्रकाशको किरणसँगै एउटा धमिलो आकृति हावामा तैरिँदै आफूनिकट आउँदै गरेको बिम्बलाई यमराजझैं देखेर फुसफुसाउँदै भन्यो, 'प्रभु तपाईंको यम पास फलेर मेरो प्राण हरण गर्न बिलम्ब नगर्नुस्।
म निकै आतुर छु त्यो यमपासमा बाँधिन।' ती आकृति एक दुई हुँदै दर्जन बढी भएपछि आफ्नो उद्धार भएको आभाससँगै म सायद अचेत भएँ।
अपहरण भएको महिना दिनपछि उद्धार हुँदा तीन जनाको मृत्यु भैसकेको थियो।
मैले रोएका आँसुलाई बलेसीमै छोडेर पारिवारिक वत्सल्यको सुरक्षाभित्र प्रवेश गर्दा कयौं जोडी आँखा प्रतीक्षारत थिए। मझेरीदेखि मचानसम्मै। सत्ताइस वर्षको उमेरमै जीर्णसिर्ण मेरो ज्यानलाई घिच्याएर तेस्रो तलासम्म पुग्दा सास फुलेर आँखाअगाडि अन्धकार छाउँदा सहाराका लागि अगाडि बढेका हात उसैका पिता सीतेबाका थिए। असमन्जस्य मेरा इन्द्रीयहरूले स्वत:स्फूर्त पन्छाए हठात् ती हातहरूलाई।
बेपत्ताहरू नफर्किएका दृष्टान्तहरूको चाँगबाट महिनापछि नै ज्युँदै घर फर्कनु चमत्त्कारभन्दा कम थिएन र त लगभग सबै आफन्त र छरछिमेकी एकठ्ठा भएका थिए। आमाबाको मायालु सुम्सुमाइभन्दा सीतेबाको उपस्थितिले असहज लागेर लम्पसारिएको थिएँ।
एक टकले भित्ता निहालिरहेका मेरा आँखा रित्त थिए। पूर्ण रित्तिएका। न अनुराग थिए न अनुभूति नै उद्देलीत थिए घर फिर्तीको यो मोडमा। समयको सैलाबसँगै म पनि पूर्ण हुँदै जाने छु कि? बिसाद र विपत्ति भर्ने समयले मलाई पनि पक्कै भर्ने छ। सुस्तरी, सुस्तरी।
नयाँ सालको आगमनसँगै वैशाखको पालुवाजस्तै मेरो तनमन पनि खिलखिलाउन थालिसकेका थिए सुनाखरीझैं। कोठाबाट आँगन अनि आँगनबाट कोठासम्मको यात्रा बिनासहारा नै गर्नसक्ने भैसकेको थिएँ।
समयको चढाबसँगै घनिभूत हुँदै गएको विद्रोहको झिल्को पहिल्याउँदै रातविरात बाक्लिएको फौजी परेड र दूरदराजमा सुनिने गोलीका कर्कश ध्वनीहरू दिनानुदिन बढ्दै गए। नजिकिँदै गए। पर्यावरणमा व्याप्त बेचैनी र नकारात्मक ऊर्जाको अनुभूतिले आगतको अनिष्ठको लख काटिसकेको थिएँ।
आफ्नो वरपरको वातावरण बिछट्टै तरल र खतरापूर्ण थियो। यस्तोमा भरोसा राज्यप्रणालीकै हो तर त्यो संयन्त्र पनि
भरोसालायकको नहुँदा दुस्परीणामको कल्पना सम्मले पनि नौनाडी गलेको बेला थियो।
जीवन कसैको पनि सिधा रेखामामात्रै व्यतीत हुँदैन। यो त व्यक्तिको कर्मले तय गरेको दिशा समातेर गोरेटो, दोबाटो हुँदै उकाली-ओराली बगर र भन्ज्याङ हुँदै सपाट फाँटमा बुर्कुसी मार्दै लम्कनु पर्ने हो।
यात्रीको बिसौने अदलबदल होला, क्रम बेग्लै होला तर हिँड्ने बाटो लगभग यही नै हुन्। विगत तीन महिनामा आएको उथुलपुथुलमा मेरो कर्मले तय गरेको दिशा हुँदै होइन।
राजनीतिक पृष्ठभूमिमा पलेबढेको अराजनीतिक मनुवा म विगत केही महिनादेखि खिचातानीको केन्द्रमा मदानीझै घुम्दै घुमाइँदै थिएँ मोफसलदेखि केन्द्रसम्मै।
यसको केही अंश भने मेरो सुरक्षा कबज बनेको थियो। मैले मेरा सहकर्मी शिक्षक मित्रहरूलाई सम्झेँ।
के उनीहरूलाई पनि यो अवसर प्राप्त होला त ? एउटा कालो चिसो लहर मनदेखी मस्तीस्कसम्म दैडियो मेरा हरेक तन्तुहरूलाई सियोले झै घोच्दै । त्यस पछि ममा कुनै तागत बाँकी रहेन केही सोच्ने मनन गर्ने। म जुरूक्क उठेर कौसीमा गएर एकटकले साउनको झरीलाई नियाल्दै रहें। भावशून्य भएर।
सुख-दुख सफलता-असफलता जीवन निर्माण विनिर्माणको नियमित क्रिया नै हो। केही घटनाले जीवन जिउन सिकाउँछन् त केहीले जीवन पद्धति बदल्न सिकाउँछन्। समय सापेक्ष भोगाइ पनि परिमार्जित हुँदै जानेछन्। भोगाइहरू सुखद हुन् या दुखद् यिनको आगमनलाई निषेध भने गर्न सकिन्न। बन्द कम्पाउडभित्र कैद गरेर आफूलाई समयको गतिशीलता र भोगाइलाई निषेध गर्ने मुर्ख्याइको हेक्का नै भएन।
आजका दिनसम्ममा मानसिक र शारीरिक रूपले चुस्त दुरूस्त भैसक्नु पर्ने होइन र ? अझै पनि हिसांद्वारा सृजित त्रासको पिंजडामै कैद छु म। दु:ख कष्ट पनि नदीको भंगालीजस्तै हो जति फाट्यो उति शान्त र सौम्य।
मैले त शुभेच्छा लिएर कष्ट बाँड्न आएका साथीभाइ इष्टमित्रलाई मजेरीमै कुराएर नभेटी पठाइदिएँ कयौंपटक। सनै सनै ती पदचाप अन्तै मोडिए र बन्दै भए।
हिंसाको प्रथम उद्देश्य नै त्रासदीपूर्ण वातावरणको निर्माण गरी व्यक्तिलाई हरसम्भव त्यही कैद गरिराख्नु हो।
सामाजिक अवयवहरूलाई कर्तब्यच्यूत गराउनु हो। लाइन अफ ड्युटीमा अपहरणमा परी मारिएका सहकर्मीका परिवारलाई समवेदना दिने हिम्मतसम्म नराख्नु। साथ साथै उद्धार गरिएका सहकर्मीहरूलाई सन्चो-बिसन्चोसम्म नसोध्नु र स्कुल प्रिन्सिपलको हैसियतले गरिनुपर्ने सिफारिस र बीमाका कागजपत्र नबुझ्नु कर्तब्यच्यूत हुनु नै त थियो।
स-साना भाइबहिनीहरूलाई अप्ठ्यारा परिस्थितिसँग डटेर सामना गर्न र नहार्न सिकाउने म भने परास्त थिएँ। म प्रयास गरेर हारेको होइन डरको बसीभूत भएर हारेको थिएँ। काँतर भएर हारेको थिएँ।
एउटा ग्यालानीको काँडाले च्वास्स धोचेर डरले पाकेका मनका घाउबाट भयका पीपहरू बग्दा कान्तिको आभा आँखाका नानी हुँदै अनुहारसम्म फैलिँदा डरको सांलो निमेषभरमै तोडिएको थियो।
विषमताको बादल फाटेर आशाको सुनौलो किरणको पहिलो पदारपणले उज्यालिएको घर कम्पाउन्ड बाहिर लर्कँदै गरेको युद्धको हिंस्रक सुस्त पदचाप न मैले सुनेँ न मेरा स्वजनले नै।
भदौका रात पनि दिन जतिकै लामा र रापिला हुन्छन्। भर्खरै रोकिएको झरीले खुलेको आकाशमा बादलको एउटा थोप्लोसम्म पनि थिएन। लसुनको पोटीझैं चन्द्रमा चुकखनाएझैं अन्धकार रातमा 'म छु है बाटो देखाउने' भन्दै धिपधिपाउँदै थियो रातको दोस्रो प्रहरमा।
वरपर ब्याप्त अन्धकार र शून्यतामा म र बच्चा रोएको झैं कराउने उल्लुबाहेक सबै सुतिसके।
झ्याल ढोकाका चिराबाट चुहिएका प्रकाशमा केही बिम्बहरू सलबलाएझै भानभैरहेको थियो। केहीबेर आफूलाई बाहिरै रोकिराखेँ तर ती अस्पष्ट आकृतिको सलबलाहट बाक्लिँदै गएको आभासँगै भित्र पस्नै लाग्दा अस्वभाविकरूपमा झिलमिलाउँदै बन्द हुँदै गरेको सीतेबाको घरमा मेरा आँखा अडिए।
मेरो मानसपटलमा एउटा धमिलो मानव आकृति स्वासको चढावसँगै विस्फारित आँखावरपर सजीव बन्दै गयो।
त्यो 'बिकल' थियो। मन शंकाले भरिँदै आयो। म होइन भन्दै अनेकौ सम्भावनातर्फ मनलाई मोडे पनि मनमस्तिष्कभरी बिकल नै बिकलको आकृति बाँदर सरी नाँच्न लागे।
एउटा यक्ष प्रश्न अझै पनि अनुत्तरित थियो, हामीलाई अमानवीय यातना दिने हिंस्रक जत्त्थाको नाइके बिकल नै थियो त ? सायद थियो पनि कि! यो यक्ष प्रश्न कसैले मलाई सोधेको पनि थिएन र मैले कसैलाई बताएको पनि थिइनँ। टोलको बाटो विस्तारको क्रममा भएको भनाभन र सामान्य हात हालाहाल त भएको थियो ऊ र म बीच।
आफूभन्दा सानोले जोरी खोजेको इगोमा एक थप्पड लगाएको थिएँ सार्वजनिक भेलामा। त्यही एक थप्पडको इख थियो त ?
सायद!! छरछिमेकका सबै सदिक्षा र सहानुभूति लिएर भेट्न आएका थिए सिवाय ऊ। रातसँगै शंकाको कल्पबृक्ष झागिँदै गयो।
अझै पनि मेरो अन्तस्करण पूर्णरूपमा त्यो व्यक्तित्व बिकल नै थियो भनेर न सकार्न उद्दत थियो न नकार्न नै।
उस्तै कदकाँटीका धेरै मानिस भेटिन्छन्। कसैकसैमा त यतिधेरै समानता पाइन्छ कि परिचित र अपरिचित बीचको भिन्नता खुट्याउनै सकिन्न। त्यो पनि त्यस्तै संयोग थियो होला।
रातको दोस्रो प्रहर सुरू हुनै लाग्दा विचारको अन्तर द्वन्द्व र निद्राले लोलाएको आँखा मिच्दै उठेँ म।
पूरै घर थरथराउने गरी भएको बिष्फोटनको तरङ्गले पछारिएँ म। विस्फोटनको ज्वाला प्रज्वलित बीसौं फिट अग्लो सुन्तले किरणमा सलबलाएका बिम्बहरूको कोलाहल र बारूदको गन्धले निस्सासिएको मेरो जागरणलाई घिसार्दै र लतार्दै भित्र पसेर ढोका लगाउन खोजें।
कम्पनले बांगिएका ढोका र नांगिएका झ्याल भयभीत मनहरूलाई आंशिक सुरक्षाको प्रत्याभूति दिनरातभर उभिएका थिए। त्यो बिहान उदाएको सूर्य निकै अदभूत र अविस्मरणिय थियो। जीवन्त थियो। बारूदको गन्ध र गोलीको छर्राले खुम्चिएर च्यापिएका जीवनको आयातन पनि सूर्यको तेजसँगै चढ्दै र बढ्दै गयो सुस्तरी, सुस्तरी।
युद्धको विभिसिखाबाट उडेका धुँवामा कति निर्दोष आत्माहरू जलेका होलान् !
कल्पनासम्मले पनि ज्यान थरथराउँछ डर र क्षोभले। दिन हप्ता हुँदै विध्वंसका तस्बिरहरू खुल्दै गए सनै सनै। जसै जसै जनजीवन सामान्य हुँदै गयो अनि प्रखरित हुँदै गए नरसंहारको घिनलाग्दो यथार्तता। डर र चिन्ताले थरथराएका शंकालु मनहरू।
महिना दिनसम्म घरमै थुनिएका हामी के कति हताहत भए भन्ने अनुमान लगाउँदै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्न बाध्य थियौं। त्यो रातको युद्धको केन्द्रमा बिकलको घर थियो भन्ने कुराको प्रमाण लगभग ध्वस्त घर नै थियो। जुन मेरो धरबाट प्रस्ट देखिन्थ्यो। त्यसपछि पनि निरन्तर सुरक्षा निकायको धरपकड र विद्रोहीको मसाल जुलुस र परेडले दैदिन बोझिलो नै थियो वातावरण।
मेरो जीवनको तेस्रो प्रहर प्रशवमा थियो सायद।
शनिबारको दिन थियो। धरका झ्याल ढोका मर्मतको काम हुँदै थियो। रातोपीरो अनुहार बनाउँदै स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै कोठामा आएर एकै सासमा देबीप्रसादले भन्न भ्याए 'तँ भागीहाल। बिकललाई तैंले पोलेको भन्ने हल्ला छ। आजै गाउँ छिर्दै छन् तँलाई लिन। काका काकी पनि कतै गैहाल्नुस् तुरून्तै।' बिलखबन्दमा परेका सबैलाई केही नभनी पोको बेकेर निस्किएँ म बा र आमालाई सहरको लजमा भेट्नु भन्दै।
केही दिनको लज बसाइपछि मेरो स्कुले मित्र जो नेपाल आर्मीमा मेजर थिए उनले मेरो भारत निर्वासनको चाँजोपाँजो मिलाइदिए भयो। भदौको अन्तिम साता भारतको बिहारबाट दिल्ली हुँदै क्यानडाको लागि कसैसँग बिदा नलिई हिँडें। न सगुनको दही र टीका थियो न बाआमाको आशीर्वाद नै।
जब जीवन अस्तित्वको प्रश्न खडा हुन्छ रितिथिति औपचारिकता र संस्कार सबै गौण हुँदो रहेछ। घरबाट निस्कँदा बाआमाको आशीर्वाद नलिई नहिँड्ने म जीवनको लामो यात्रामा उहाहरूसँग नभेटी बाटो लागेँ।
क्यानडा इमिग्रेसन सोचेजस्तो सहज रहेन इमिग्रेसनको सुस्तीले म छ महिना दिल्लीमै बसेँ। यही दसैंको बेला बाआमा आउनु भयो र दसैंकै साइत पारेर मैले बिहे पनि गरेँ।
बिहेको कारणले झनै लम्बियो भिसा प्रोसेस। एक वर्षभन्दा बढीको दिल्ली बसाइको अन्त्य गर्दै डिसेम्बरको मध्य जाडोमा हामी बुढाबूढी क्यानडा झर्यौं। छाला छेड्ने सिरेटो र मान्छे पुरिने हिउँका चुचुरा देखेर मन झसंग भएथ्यो केही दिनसम्म।
सुरक्षानुभूति र स्वछन्द विचरणको अभिलाशाले तुरून्तै ती भावहरूमाथि विजय प्राप्त गर्दा सुखद आगतको झुल्के घाम मन सागरमा न्यानो भएर उदाएको थियो।
युद्धले डामेर खाटा बस्दै गरेको घाउलाई सुम्सुम्याउँदै कहाली लाग्दा क्षणलाई जीवनको रिभ्यू गर्दै टोरन्टोको चौडा सडकमा कुद्दै गर्दा आफैंलाई निकैपटक चिमोटेँ। आफ्नाबाटै प्रताडित म र मजस्ता लाखौंलाई आस्रय दिने यी उदार मन क्यानेडियनहरूलाई मनमनै धन्यवाद दिएँ।
कुमालेको चक्र घुमेर फेरि दसैंमा आएर रोकियो। पहिलो निर्वासित दसैं भिन्न परिवेश फरक प्रकारको उमंग लिएर आएको थियो। पलपल मृत्युले लखटेको परिवेशबाट निकै टाढा स्वतन्त्र र सुरक्षित मैले कुनै पल पनि नेपाल मिस गरिनँ। मिस गरेँ त बाआमा र साथीभाईलाई। चाचाहुइँ गरेर डाँडाको पिङ्गमा मच्चिएको सर्कोलाई।
खसीका सपेटा टोक्दै म्यारिज खेल्दा मालकाटेको पललाई। निधारभरि टीका थाप्न दौडिएको दोबाटो र चौबाटोलाई। नेपाली समुदायले दसैंको कार्यक्रमको आयोजना गरेको निम्तो आइपुग्यो फूलपातीको दिन।
अझै पनि अलिअलि डर र संकोच बाँकी नै थियो मभित्र। कुनै पनि भेला र कार्यक्रममा सहभागिता जनाउँदिन थिएँ। म सकभर सीमित साथीसंगतमै रहन्थें। तर यो निम्तो नकार्न सकिएन र अष्टमीको दिन शनिबार पारेर गरिएको दसैं महोत्सवमा सहभागी जनाउन ढिला गरी पुग्यौ हामी बुढाबूढी।
यतै चिनिएका केही साथीहरूलाई नमस्कार गरी कुनाको एउटा टेबलमा गएर बस्यौं। निकै लामो समयपछि नेपाली कलाकार दीपक प्रधान र सरिस्माको बेजोड प्रस्तुतीले लठ्ठ थियो पूरै वातावरण। कार्यक्रमको आधा आधीमा खाना तयार भएको उदघोषसँगै लामबद्ध महानुभावहरू अझै संगीतको तरङ्गमा लठ्ठिएझैं देखिन्थे।
कार्यक्रमको दोस्रो प्रहर सुरू हुनै लाग्दा एउटा बिम्ब 'नमस्कार माड साप। नमरी बाँचे कालले साँचे सात समुन्द्रपारि पनि भेट हुँदो रहेछ। यहाँ पनि क्यानडामा ?' भन्दै मेरो सामुन्य आएर दुई हातको दुरीमा ठिङ्ग उभियो। त्यो स्वर सुनेर म भयभीत भएँ। डरले मेरा दाँत थरथराउन थाले। त्यो उही थियो। जसले हामीलाई अपहरण गरेर चरम यातनासहित मर्न छाडेर हिँडेको थियो। ऊ बिकल थिएन। ऊ अरू नै कोही थियो। तर बिकल चाहिँ थिएन। एकैपटक डर र पछुतो मिश्रित चिसो लहर पैंतालादेखि तालुसम्म दौड्दा म लुगलुग काँमेँ।
चिसो पसिनाको लहर कन्चटबाट गालाको बाटो चिउँडोसम्म आइपुग्दा पुछेको हेक्कासम्म पनि रहेन। विगत डेढ वर्षदेखिको भ्रमबाट पर्दा हट्दा अपराधबोधले छाती अठ्याउँदा म बेहोस भएर पछारिएँ।
हररात तन्द्रामा सितेबाका धिपधिपाउँदा रसिला आँखा चिमोट्न आँउछन्, 'मेरो के अपराध थियो र माड्साप मेरो वंश विनाश गर्नुभयो ?' म लाचार भएर तन्द्रामै फतफताउँछु 'सितेबा तपाईंले केही पनि अपराध गर्नु भएको छैन। भूल मैबाट भएको हो। मनुवाको नकावधारण गरेको नरपिचासलाई मैले बिकल देखेँ।'
मेरो जवाफ ती द्र्ब्य आत्मालाई शान्त पार्न पर्याप्त कदाचित थिएन। सामान्य बुझबुझारथ पनि नगरिकनै रातको अन्धकारमा गरिएको हत्याकाण्ड थियो त्यो ।
व्यक्तिगत राजनीतिक स्वार्थ सिद्ध गर्न विकट गाउँका किशोर-किशोरीका हातबाट किताब खोसेर भिराएका हतियारको आडमा, हिंस्रक कार्यलाई क्रान्तिको पगरी गुथ्याएर मर्न र मार्न उद्दत हिंस्रक जत्था र सत्ताको मादमा अन्धो निकम्मा सरकारको जुङ्गाको लडाइँको आडमा गरिएको निर्मम हत्या थियो। सत्ताको आडमा गरिएको जेनसाइड थियो, क्रान्तिको नाममा गरिएको युद्ध अपराध थियो। त्यो अपराधको बलीबेदीमा तपाईं र म जस्ता लाखौं नेपाली स्वाहा भयौं।
फरक, तपाईं मारिएर दन्डित हुनुभयो र म नमारिई दन्डित भएँ। मेरो जीवन मृत्युभन्दा भयानक छ। सात समुन्द्रपारि पनि म त्यही युद्धको कालो छायामुनि आइपुगेको छु। जब-जब म उसलाई भेट्छु तब-तब क्षोभर ग्लानीले मरेतुल्य हुन्छु। के त्यो अभिसाप होइन र सितेबा ?
अचेल मलाई डरभन्दा बढी रिस उठ्छ उसलाई देख्दा। सिरूपाते निकाले छप्काइदिउजस्तो लाग्छ। तर रोकिन्छु म। हिंसाको उत्तर प्रतिहिंसा कदापी हुन सक्दैन। प्रतिशोधको भावले युद्धका डोबहरू पक्कै मेटिन्न। प्रतिशोधले प्रतिशोधनै जन्माउँछ।
घृणा जन्माउँछ। इखको बिखले आफैंलाई मात्र पोल्छ। मैले उसलाई क्षमा गरिदिएँ। उसलाई माफी दिएको हो उसका अपराधलाई भुलाएको होइन। क्षमाले प्रेमभावको विकास गर्छ। क्षमा र प्रेमभावले नै युद्धले डढेको मनमा भविष्यप्रति आशा र अभिलासा अंकुराउँदो रहेछ। उसलाई क्षमा गरेको दिनदेखि मैले आफूभित्र सकारात्मक परिवर्तन महसुस गरेको थिएँ।
म निदाउन थालेको छु। सितेबाका आँखा पनि आक्लकझुक्कल आउँछन् ब्युँझाउन मलाई। तर ती शान्त र सौम्य छन्। तिनमा रोषभन्दा मामत र आशिर भाव झल्कन्छन् अचेल।